Skip Advt.
ad

विचार

दुई तिहाइको स्थिरता ?

कुलचन्द्र वाग्ले

दुई तिहाइको स्थिरता ?

राजनीतिक स्थिरता संख्याले भन्दा पनि लोकतान्त्रिक संस्कारले हुने रहेछ । नेपालको वर्तमान अवस्थाले यसलाई पुष्टि गर्दैछ । प्रजातन्त्रको स्थापनादेखि अहिलेसम्मको झन्डै सत्तरी वर्षको अवधिमा कुनै पनि सरकारले कार्यकाल पूरा गर्न पाएनन् । अर्थात् पाँच वर्ष टिक्न सकेनन् । यसका लागि विभिन्न कारकलाई देखाइयो । राजनीतिक संक्रमण, राजाहरूको स्वेच्छाचारी निर्णय, संसदीय प्रजातन्त्रको संख्यात्मक खेल आदि अवस्थालाई दोष दिइयो । यिनको दोष बिल्कुलै थिएन भन्न मिल्दैन । तर, अहिले देख्दा अस्थिरताको सबैभन्दा ठूलो कारक राजनीतिक संस्कारको कमी हो भन्ने स्पष्ट हुँदैछ । राजनीतिक संस्कार लोकतन्त्रवादी बन्नुमा भन्दा अन्त पाइदैन । यसका खास मूल्य, मान्यताले गर्दा ।  

अल्पमतको अस्थिरता बताएर स्थिरताका लागि बहुमत मागेका दुई कम्युनिस्ट घटकले झन्डै दुईतिहाइ मत पाए । स्थिरताको कामना संख्याबाट पूरा हुन्छ भन्ठान्ने जनमत पनि त्यो कुरामा आकर्षित भएको थियो । गणनाको जोडघटाउमा स्थिरता र समृद्धिको नारा दिएका एमाले र माओवादी केन्द्र एकआपसमा विलीन भए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । शासन सत्तामा यतिबेला दुई तिहाइ बहुमत भएको कम्युनिस्ट सरकारको रजगज छ । तर के स्थिरताको अनुभूति पाइँदै छ त ?

तानाशाही भन्नोस् कि अधिनायकवादी सत्ताले विचारहीन स्थिरता कायम देखाइदिन्छ । त्यो सतही हुन्छ, त्यहाँ मानवीय मस्तिष्कको नियोजन हुन्छ । तर, भित्रभित्रै भुसभित्रको आगोजस्तै त्यो अत्यन्त अस्थिर पनि हुन्छ । लोकतन्त्र ठीक यसको विपरीत विचार स्वतन्त्रताले अस्थिर देखिनसक्छ तर भित्रभित्रै त्यो अत्यन्त स्थिर बन्दै जान्छ । यसका लागि पहिलो आवश्यकता हो – लोकतन्त्रवादी हुनु । उपयोगवादी होइन, समर्पित लोकतन्त्रवादी बन्नु । अनि राजनीतिक स्थिरताको माग पूरा गर्न सकिन्छ । संख्यात्मक अहंले सकिँदैन । अर्थात् स्थिरता गणितमा रहेनछ । स्थिरता प्रजातान्त्रिक संस्कार र  प्रणालीप्रतिको प्रतिबद्धतामा हुने रहेछ । 

छिमेकी भारतका प्रधानमन्त्री मनमोहन सिंहले उन्नाइस   दलको संयुक्त सरकार पूरा कार्यकाल चलाए । दुईपटक संयुक्त सरकार बनाए । देशलाई स्थिरता दिए, विकासको उचाइतिर लम्काए । प्रधानमन्त्री अटलविहारी बाजपायीले पनि एक दर्जनभन्दा बढी दल मिसाएर पूरा अवधि सरकार बनाए । पोखरणबाट भूउपग्रहको प्रक्षेपण गरेर भारतको शक्ति बताए । अहिले जर्मनीकी अँगेला मार्केल पनि संयुक्त सरकार राम्रैसँग सञ्चालन गर्दैछिन् । कसरी ? जहाँ लोकतान्त्रिक संस्कार छ, त्यहाँ गतिशील समाज, राजनीतिक स्थिरता र अविच्छिन्न विकास चलिरहेछ । हामी कहाँ ‘नाच्न नजान्ने आँगन टेढो’ भनेजस्तै भयो । कस्तुरी (वीना) झिकेको मृगमा जस्तै प्रजातान्त्रिक संस्कार नभएपछि लोकतन्त्रको पनि सुगन्ध जोगिँदो रहेनछ ।  

राजनीतिक स्थिरता केलाई बुझ्ने ? पद्धतिको स्थिरता हो कि, सरकारको ? सरकार सधैँ अस्थिर नै हुन्छ, विभिन्न कारणले । सम्भावित कारणबीच सरकारका लागि आवधिक निर्वाचन पनि अस्थिरताको सूचक हो । सरकारको स्थिरताको हदै कामना गरे उही पाँच वर्ष वा किटिएको समयसम्म हो । यस कारण पहिलो स्थिरता पद्धति र प्रणालीमा खोज्ने हो, रोज्ने हो । राजनीतिक स्थिरताको लागि पहिलो सर्त प्रणालीको स्थायित्व हो । माथि भनिएको भारत, जर्मनीमा पद्धति र प्रणाली स्थायी भयो, अनि स्थिरता आयो  । 

पद्धति र प्रणालीको स्थायित्व । अर्थात्, पद्धति राजनीतिक व्यवस्था हो – प्रजातन्त्र वा लोकतन्त्र । प्रणाली त्यसलाई चलाउने विधि । विधि चलाउन या प्रक्रिया बसाउन प्रजातन्त्रमा सरकार, प्रतिपक्षी दल र कर्मचारी संयन्त्र मुख्य हुन् । सरकार र प्रतिपक्षी दल अस्थिर हुन्छन्, कहिले को कहाँ पुग्छन् ठेगान हँुदैन । तर, कर्मचारी संयन्त्र स्थायी मानिन्छ । यही स्थायी संयन्त्रले पाए स्थिरताको अनुभूति दिनसक्छ । विकास, सुरक्षा, शान्ति र सामाजिक गतिलाई कर्मचारी तन्त्रले स्थिरता दिनसक्छ । यस कारण कर्मचारी संयन्त्रलाई स्थायी सरकार पनि भनियो । अहिलेजस्तो कर्मचारी तन्त्रलाई राजनीतिकरण मात्रै के दलीयकरण गरेर बिथोलेपछि, गिजोलेपछि स्थिरताको खोजी गर्दैमा कहाँ पाइन्छ र ? नपाइने ‘मृग मरीचिका’ जस्तो स्थिरता भएको छ । दुई तिहाइ सरकारमा पनि अस्थिरताको यो एक कारण हो । 

दुई तिहाइमा कम्युनिस्टको आवधिक स्थिरता होला, सरकारको स्थिरता देखिएला । तर, यो नै राजनीतिक स्थिरता होइन । यसैले स्थिरता अनुभूत गरिएन । प्रतिपक्षले कुनै धक्का दिएको छैन अस्थिर हुन । आफ्नै कारण सरकार अस्थिर भएको छ । नेपालमा पद्धति पनि स्थायी हुन पाएन, समस्या यहीँ छ । प्रजातान्त्रिक व्यवस्थालाई उहिले राजतन्त्रले हल्लायो, अहिले कम्युनिस्टले हल्लाए, अस्थिर बनाएका छन् । 

झोक्राएको कम्युनिस्ट मनोदशा स्वयंमा अस्थिर छ । दीक्षा प्रजातन्त्र विरोधी, काम प्रजातन्त्रको गर्नुपर्ने । यता न उता । प्रजातन्त्रप्रति प्रतिबद्धता होइन रणनीतिक उपयोगको कम्युनिस्ट मनोदशा अस्थिरताको लागि मलजल भएको छ । अहिलेको जड समस्या लोकतन्त्रवादी नबन्नु, नहुनु हो । झोक्राएको मनोदशा फुर्लक्क उफ्रियो भने खोलाको बीच ढुङ्गामा बसेको बकुल्लाले ट्याप्प माछा टिपेको कम्युनिस्टहरुले देखेकै छन् । नसके झोक्राउने, सके टिप्पा लिने । अस्थिरता यही सोचमा छ ।   

सरकारका मन्त्री अहिले मौलाएको अराजकता र असुरक्षाको कारण सामाजिक दोष र विकृतिलाई बताएर  पन्छने गरेकाछन् । त्यस्तो दोष र विकृति कहाँ छ ? उनीहरू समाजतर्फ एउटा औँला तेस्र्याएर चार औँला आपँैmतिर फर्काउँदै छन् । चिनीमा बढाइएको मूल्य होस् कि, वाइड बडी जहाजको भ्रष्ट कथा, दूरसञ्चार प्राधिकरणको चरम अनियमिताको प्रतिवेदन र नियुक्ति, सुनलाई घुनले खाएको निर्देशन, अभाव, महँगी अनि निर्मला पन्तको हत्यारा लुकाउन गरिएको प्रपञ्च । यस्ता सयौं आपराधिक कार्यमा सामाजिक दोष छ कि शासकका विकृति ? स्पष्टै छ, यो दोष र विकृित सरकारी हो, सामाजिक होइन । पुँजीवादी रबाफ तर पुँजीवादलाई नै दोष दिने कथित सर्वहारावादी सामन्तहरूकै कारण यस्तो विकृति बढेको र संरक्षित भएको त ती घटनाले  नै पुष्टि गरिसके । भ्रष्टाचार संस्थागत, अपराध प्रवृत्ति भयो । समाज वा जनतालाई दोष दिएर पन्छनेहरूले बुझ्नुपर्ने हो – सरकार के का लागि बनाइन्छ ? आफँै विकृतले सामाजिक विकृति रोक्ने, सुधार्ने इमान लिदैनन् बरु यसरी नै पन्छिन्छन् ।   

दिइएको सुखी र समृद्धिको नारा आफू र आफ्नाको पक्षमा फलिफाप भएकै छ । जनताको पक्षमा आएको छैन । समृद्धि कसरी ? तर्क गर्यो भने विकास विरोधी ठप्पा लगाइदिने सरकारले बहुमत ल्याएको यही नाराको बलमा जनतालाई दपेट्यो । हुकुम गर्यो, निर्देशन दियो, धम्की बोल्यो र विधिको धज्जी उडायो । यसैलाई सबै कम्युनिस्टले वाहवाही गरे दम्भ भरिएको वाणीमा  । समृद्धिको सरकारविरुद्ध षड्यन्त्र, घेराबन्दी र असहयोग गर्ने अमूर्त पात्र खडा गरे, हौवा मच्चाए । समाजलाई, विगतलाई दोषको भारी बोकाए । सत्ताको स्वरले जनता खुब तर्साए ।

तर, जब दपेटाइको हथौडा आफ्नै टाउकोमा बजारिने चाल पाए अनि माधव नेपालको ‘नक्कली विद्रोह’ र झलनाथ खनालको ‘अरण्य गनगन’को गुनगुन बढ्न थालेकोछ । जनताका लागि बेतुक, बेअर्थ । 

राजनीतिक स्थिरता मुर्दा शान्ति होइन, समाज बढी चलायमान हुने गर्ने स्थिति हो । तर, सरकार समाजलाई रचनात्मक परिणाम दिन र बाटो देखाउन चुक्यो । फलतः प्रतिक्रिया विहीन समाज खोज्दैछ । लोकतन्त्रमा त्यो सम्भव हुँदैन । सरकारको गतिविध अत्यन्त अपारदर्शी छ । पत्रकारिताले स्वतन्त्र हैसियत प्रदर्शन नगरेको भए वा गर्न नसक्ने हो भने सरकारी कृत्य नागरिक जानकारीमा आउने अरू माध्यम प्रायः कुण्ठित भइसकेका छन् । पत्रकारितालाई पनि साम, दाम, दण्ड, भेदको बाटो अपनाइँदै छ । राज्यका तर कथित सरकारी माध्यममा सरकारसम्बन्धी आलोचनात्मक समाचार र विचारको तथ्य रोकिँदै छ । दुई तिहाइको करामत !    

नेपाली जनताले खोजेको स्थिरता, स्थिरताबाट पाइने सुख, सुविधा र समृद्धि यस्तै अराजकता हो र ? आर्थिक अराजकता, राजनीतिक अराजकता, प्रशासनिक अराजकता, असुरक्षा । कुन क्षेत्रमा छैन अराजकता ? दुई तिहाइ स्वयं अराजक । ‘के सोचेँ मैले, के भयो अहिले’ भने जस्तो । बुझ्नुहोस् लक्षण । दुई तिहाइको अराजकता यति ठूलो हुँदैजानेछ कि त्यसभन्दा ठूलो देश,जनताका लागि आघात हुनेछ । प्रतीक्षा गर्नुहोस् ।   
    
 

तपाईंको मत