कस्तो बेलामा लिनुहुँदैन सेल्फि ? ज्यान लिन सक्छ !

कस्तो बेलामा लिनुहुँदैन सेल्फि ? ज्यान लिन सक्छ !

एजेन्सी । पछिल्लो समय राम्रो सेल्फि सबैका लागि एक प्रकारको चुनौती र उत्साहजनक विषय बनिरहेको छ । तर यसमा विमान उडाइरहेका बेला वा कुनै लोडेड बन्दुक हातमा बोकेर अथवा झरना नजिकको चिप्लो ढुङ्गामा उभिएर सेल्फि लिनुअघि भने धेरैपटक सोच्नुपर्ने हुन्छ ।

जर्नल अफ फ्यामिली मेडिसिनमा प्रकाशित अनुसन्धानपछिको नतिजाले विश्वव्यापी रुपमा २०११ देखि १७ सम्म २५९ जनाको खतरनाक सेल्फिकै कारण मृत्यु भएको देखाएको छ ।  यो सङ्ख्या कम देखिएपनि धेरै मानिसहरुको गाडी चलाउँदै गर्दा लिने सेल्फिका कारण मृत्यु हुने गरेको पाइएको छ जसबारेमा स्पष्ट खबर नगरिने हुँदा तिनको गणनामा समस्या आउने गरेको बताइएको हो । 

त्यसैगरी कतिपय साना देशहरुमा स्थानीय मिडियाले सेल्फिबाट भएको मृत्युबारे खबर नगर्नाले पनि यसको सत् प्रतिशत गणना गर्न कठिन भएको अध्ययनकर्ताहरुको भनाइ छ । 

सो रिपोर्टका अनुसार यसरी सेल्फिका कारण सबैभन्दा धेरै मृत्यु हुने देशमा भारत पर्दछ र त्यसपछि रुस अनि अमेरिका, पाकिस्तान लगायतका राष्ट्रहरु आउँछन् । त्यसमा पनि मत्यु हुने ७२ प्रतिशत पुरुष हुने गरेको पाइएको छ जो ३० वर्षभन्दा कम उमेरका हुन्छन् ।

भारतमा मात्र सेल्फि लिँदै गर्दा १५९ को मृत्यु भएको रिपोर्ट गरिएको छ । वास्तवमा भारत तीस वर्ष भन्दा कम उमेर वर्गको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । यसकारण पनि तथ्याङ्कले यस्तो परिणाम देखाएको बताइएको छ । व्यवहारिक रुपमा पुरुष भन्दा महिलाले धेरै सेल्फि लिने गरेको पाइएपनि पुरुषहरु बढी जोखिम उठाउन खोज्ने हुँदा यस्तो हुने गरेको बताइएको हो । 

यसमा पनि सबैभन्दा बढी मृत्यु डुबेर हुने गरेको पाइएको छ । जस्तै मानिसहरुले समुद्रमा सेल्फि लिँदा छालसँगै बगेर जाने गरेको र कोही चाहीँ डुङ्गाबाटै खस्ने गरेको पाइएको छ । त्यस्तै अर्को प्रमुख कारण चाहिँ सवारीका अगाडि सेल्फि लिनु रहेको पाइएको छ । रेल गुड्ने बेलामा छिटोछिटो सेल्फि लिन खोज्दा धेरैको ज्यान जाने गरेको छ । २०१५ मा भने विमान उडाउँदै गरेका एक पाइलटले यात्रुसँग सेल्फि लिँदा दुर्घटनामा परेपछि सबैको मृत्यु भएको थियो । त्यसैगरी आगो र उचाइबाट खस्नेहरु तेस्रोमा पर्दछन् भने हालसम्म खतरनाक जनावरसँग सेल्फि लिएर ८ जनाको मृत्यु भइसकेको छ । उता अमेरिकामा भने विशेषगरी युवाहरुले लोड गरिएको बन्दुक लिएर तस्बिर खिच्न खोज्दा दुर्घटनावश् गोली चलेर मृत्यु हुने गरेको पाइएको छ । 

वास्तवमा युवा लगायत पर्यटकहरुले सामाजिक संजालमा ‘कुल’ देखिनकै लागि यसरी खतरनाक सेल्फि पोस्ट गर्न खोज्छन् जसको बदलामा उनीहरु लाइक र कमेन्ट पाएर खुसी हुने गरेको पाइएको छ । सेल्फि आफैँमा हानिकारक नभएपनि हाम्रो लापरबाहीपूर्ण व्यवहारकै कारण यस्ता दुर्घटना दिनप्रति दिन बढ्दै गएको संचार माध्यम सिएनएनले जनाएको छ । त्यसकारण पनि मानिसहरुलाई आगामी दिनमा यसबाट बचाउन खतरनाक स्थानबारे सचेत गराइनुपर्ने र जोखिमयुक्त पर्यटकीय स्थलहरुमा ‘नो सेल्फि जोन’ राख्नुपर्ने बताइएको छ । रुसले सन् २०१५ मै सुरक्षित सेल्फि लिन भन्दै ‘एउटा कुल सेल्फि लिने प्रयासले तपाईँको ज्यान पनि लिन सक्छ’ लेख्दै सबैतिर प्रचार गरेको थियो । 
 

प्रतिकृया दिनुहोस