Skip Advt.
ad

साहित्य र कला

छोरो जोगाउने सकस

छोरो जोगाउने सकस

– सरोज केसी


२१ महिनाको छोरो, दशैंमा बाबा आएपछि ‘एप्पेन’ चढ्ेर खोलामा माछा मार्ने योजना बनाएर बसेको छ । फोन सम्पर्कमा प्रायः यो योजना सम्झाउन भुल्दैन । उसले माछा कहाँ हुन्छ भनेर अहिलेसम्म देखेको छैन । कसैले भनेको सुन्यो र उसले थाहा पायो— माछा खोलामा हुन्छ ।  जहाज र गाडी चढ्यो र थाहा पायो— गाडीको यात्रा ‘एप्पेन’ भन्दा अलि बढी नै ‘ढुक्कुल ढुक्कुल’ हुन्छ । जे होस्, बिस्तारै यो दुनियाँमा भिज्दैछ ऊ ।

न्याय के हो ? अन्याय के हो ? उसलाई थाहा छैन । उसले चाहेको गर्न नपाउनु नै अन्याय हो भन्ने बुझेको छ र त्यसैअनुसार प्रतिक्रिया जनाउँछ । आफूलाई चाहेको हुँदा खुशी हुन्छ, नहुँदा रिस देखाउँछ । रिस, शायद हरेक मान्छेमा हुने गुण हो, छोरो अपवाद होइन ।

उसले जानेको पहिलो रिसको अभिव्यक्ति हो रुवाइ अनि टोकाइ । जब ऊ आफूभन्दा केही ठूला छिमेकी केटाकेटीसँग घुलमिल गर्न थाल्यो, उसले सिक्यो कि थुक्नु पनि अझ ठूलो रिसको अभिव्यक्ति रहेछ । उसले त्यसपछि थुक्ने अभ्यास ग¥यो । समयसँगै उसले सिक्यो— रिसाएको बेला तोते बोलीमा भुन्भुनाउन, अनि सिक्यो लात्ती उठाउन र आमाको पिठ्युँमा हिर्काउन । छिमेकका केटाकेटी नै उसको सिकाइका स्रोत हुन् ।

आफ्नो भाव व्यक्त गर्न सकेसम्म अभिव्यक्तिको उच्च तरिका अपनाउने छोरोलाई अहिले अनेक गर्दा पनि त्यस्ता खराब कुरा सिक्ने साथीहरूबाट टाढा राख्न हम्मे–हम्मे परेको छ । तर, भोलि हुर्किंदै जाँदा उसले आफ्ना छिमेकी साथीभन्दा धेरै त अरु स्रोतबाट सिक्दै जानेछ । रेडियो सुन्न थाल्नेछ । पत्रिका पढ्नेछ । इन्टरनेट चलाउनेछ । सिनेमा हेर्नेछ । टिभी त अलिअलि हेर्न थालिसकेकै छ ।

मलाई भने सकस परेको छ— यी सञ्चार माध्यमहरूबाट कसरी जोगाऊँ म उसलाई ? भोलि उसले सिनेमा हेर्न थाल्नेछ । आफूले मन पराएकी केटीलाई प्रेमको प्रस्ताव राख्दा ‘नाइ, तिमी मेरो साथी पो हौ त’ भन्ने जवाफ आयो भने के गर्ने भनी सिनेमाले सिकाउनेछ । पुरुषहरूको ‘नाइ’ नाइ हो तर महिलाहरूको ‘नाइ’ नाइ होइन भन्ने बुझ्नेछ । अझ थप बलबुता लगाएर पछि लाग्नेछ ऊ, सिनेमाको नायकझैं । केटीको ‘नाइ’ यथावत् रहँदा पनि उसले कोसिस गरिरहनेछ । अनेक कोसिस गर्दा पनि ‘नाइ’को सट्टा ‘हुन्छ’ पाउनेछैन । ‘नाइ’को घनत्व बढ्दै जाँदा उसमा रिस पैदा हुनेछ । लागेपछि ‘मर्द’ले छाड्नु हुन्न भनेर उसलाई त्यो बेलासम्म समाजले दिग्भ्रमित गरिसकेको हुनेछ । लागेपछि छाड्नु र असफलता स्वीकार गर्नु त ‘नैतिकतामाथिको नैतिक दबाब’ हो भन्ने सोच उसमा बढिसकेको हुनेछ । कसैको भावना सम्मान गर्नु सबैभन्दा ठूलो नैतिकता हो भन्ने सिकाउन मैले सक्नेछैन । सकें भने पनि उसले बुझ्नेछैन । सिनेमाले सिकाउनेछ— ब्लेडले हात चिर्न र केटीको अगाडि ‘मर्द’ हुन ।

केटीले मन पराओस्÷नपराओस्— आफूले मन पराएपछि ज्यानै फाल्ने हिम्मत गर्नुपर्छ भन्ने सिकेको छोरोले कुनै दिन त्यो केटीलाई कसैसँग देख्नेछ र ऊ ‘आगो’ हुनेछ । यतिसम्म भइसकेपछि उसलाई अगाडि बढ्न सञ्चारमाध्यमहरूले उकास्नेछन् । पत्रिकामा पढेका, रेडियोमा सुनेका, टिभीमा हेरेका कुराहरू उसको दिमागमा घुम्न थल्नेछन् । आममान्छेलाई त्यस्ता समाचारले चिन्तित बनाइरहेको बेला आपराधिक मानसिकता बनाइसकेको छोरोलाई त्यो बेला झन् हौसला मिल्नेछ । ती समाचारले उसको दिमागमा आक्रोश पोख्ने तरिका ‘क्लिक’ गर्दिनेछन् ।

उसको मनमा केही डर त आउनेछ, एकछिन हच्केला पनि । तर, समाचारहरूले उसको दिमागमा हच्किन नपर्ने आवस्था तयार पारिसकेका हुनेछन् । अपराध गर्ने ऊ एक्लो छैन, ठूलै समूह छ भन्ने कुरा थाहा दिइसकेका हुनेछन् । यी सबै कारणले उसलाई जघन्य अपराध गर्न बल पुग्नेछ र गर्नेछ बलात्कार, छ्याप्नेछ एसिड ।

भोलिपल्ट सञ्चारमाध्यमले उसैगरी त्यो सूचनालाई सक्दो भावनात्मक बनाएर छ्यापछ्याप्ती पार्नेछन् । घटना घटाउने उपायसहित अपराधीका कस्ता–कस्ता गतिविधिले अनुसन्धान गाह्रो भयो भन्ने इतिवृतान्त लेख्नेछन् र समाजमा अर्को अपराधोन्मुख व्यक्तिलाई हौस्याउनेछन् । अनुसन्धान प्रक्रियाका पत्रपत्र बाहिर निकालेर भविष्यका अपराधीलाई सकेसम्म अपराध गर्दा विवेक प्रयोग गर्न सिकाउनेछन् ।

त्यसैले म चिन्तित छु । अहिले बासँग ‘एल्पेन’ चढेर खोलामा माछा मार्न जाने रहर बोकेको छोरोलाई कसरी यी सबै चिजबाट टाढा राखूँ ? ताकि भोलि मलाई उसले बाँसको ‘एल्पेन’ चढाएर उही खोलामा बिसाउन लैजानुपर्ने बेला ऊ कतै जेलभित्र नहोओस् ।
 

तपाईंको मत