Skip Advt.
ad

साहित्य र कला

जनआन्दोलन जगाउने पत्रकार

जनआन्दोलन जगाउने पत्रकार

– नरेश फुयाँल


स्तातकोत्तरसम्म पढेर पनि कहिल्यै जागिर खाएनन् । जिन्दगीलाई डोर्‍याउने कुनै ‘कंक्रिट’ योजना बनाएनन् । योजनाबिनै राजनीति गरे, योजनाबिनै पत्रकारिता थाले । योजनाबिनै समाचार लेखेर जनआन्दोलनको उभार उठाए । त्यो आन्दोलनले पञ्चायत ढाल्यो । मनमा सधैं ठानिरहे— प्रजातन्त्र आउनुपर्छ, बस् !

माथवरसिंह बस्नेतले समाचार लेखेकै कारण ०४६ सालको जनआन्दोलन शुरु भएको धेरैलाई थाहा छैन । त्यसको जस तत्कालीन कांग्रेस र कम्युनिस्टलाई जान्छ । तर, उनीहरूलाई आन्दोलनमा हिँडाउने सूत्रधार माथवरसिंह थिए । समाचारको शक्ति कति हुन्छ भनेर उनले त्यतिबेलै थाहा पाएका हुन् ।

अहिलेको राजनीति देखेर दिक्दार माथवर कहिलेकाहीँ सोचीबस्छन्, “यस्तो हुन्छ भन्ने थाहा पाएको भए म चुपचाप पञ्चायत हेरेर बसिरहन्थें ।”

नेपाली पत्रकारिताको लामो कालखण्डमा अमिट भएर कुदिएका माथवरसिंहले जे गरे, प्रजातन्त्रको सुदृढीकरणका लागि गरे । अनुहारमा बुढ्यौलीका धर्सा मुसार्दै उनले हामीलाई आफ्नो योजनाविहीन जिन्दगीको ‘सर्टकट’ कथा सुनाए——

 

बीपीकाे त्याे अन्तर्वार्ता

बुवा गणेशबहादुर बस्नेत जिल्ला पञ्चायतका सभापति थिए । बुवाले गर्ने भाषण उनले लेखिदिन्थे । ०२६ सालमा नगरकोट गाउँ पञ्चायतको उद्घाटन गर्ने कार्यक्रमपछि उनको कामै भाषण लेखिदिने भयो ।

नेता जगन्नाथ आचार्य प्रवासबाट फर्किएपछि सार्वजनिक रूपमा राजनीतिक कार्यक्रममा हिँड्न थालेका थिए । विषयवस्तुप्रति उनको विश्लेषण गर्ने क्षमताबाट प्रभावित भएका माथवरसिहंले उनैबाट राजनीतिको गुह्य कुरा थाहा पाए । राजनीतिप्रति आकर्षण जाग्यो । राजनीतिमा लागे ।

बीपी कोइराला लन्डन पुगेपछि बीबीसीमा अन्तर्वार्ता दिए । त्यो अन्तर्वार्तामा उनले भनेका थिए, “राजाले प्रजातन्त्रको अपहरण गरेर जनताको अधिकार खोसे, त्यसैले जनताको अधिकार फिर्ता गर्नुपर्छ । तर, गरेनन् । यत्रो वर्षसम्म पञ्चायतको नाममा राजाले प्रयोग गरे । उनले गर्न केही गर्न सकेनन्, त्यसैले फिर्ता गर्नुपर्छ । स्वाभाविक रूपमा २००७ सालको क्रान्तिबाट प्राप्त जनताको अधिकार फिर्ता गर्नुपर्छ । एउटी महिलाले स्वाभाविक रूपमा सन्तान जन्माउन सकिनन् भने डक्टरले अप्रेशन गरेर निकाल्छन् । त्यस्तै नेपालमा पनि राजाले स्वाभाविक रूपमा जनताको अधिकार फिर्ता गर्न मानेनन् भने हतियार उठाएर क्रान्ति गर्नुपर्छ ।”

बीपीको त्यो अन्तर्वार्तालाई लिएर नेपालमा चर्को विरोध भयो । बीपीको विरोध नगर्ने पञ्च नै हुँदैन भन्ने जस्तो भइसकेको थियो । तर, त्यही अन्तर्वार्ता सुनेपछि २००७ सालको क्रान्तिबारे पढेका मात्रै माथवरसिंहको युवा रगत उम्लियो । पञ्चायतविरोधी तत्कालीन कांग्रेसको अभियानमा सरिक हुने जोश झन् थपिएर आयो । बीपीको आह्वानलाई सहयोग कसरी गर्न सकिन्छ भनेर दिनदिनै छलफल शुरु भयो । बीपीलाई सघाउन बनारस को जाने, सशस्त्र क्रान्तिलाई कसरी सघाउने भनेर छलफल भइरन्थ्यो । त्यही छलफलमा सहभागीमध्येकै कसैले प्रशासनलाई सुराकी गरिदियो । माथवरसिंह ०२८ मंसिरमा भक्तपुरबाट पक्राउ परे । ०२९ को वैशाखमा छुटे ।

 

चार  सहकर्मीलाई गाेली

०२९ सालमा नेविसंघको भक्तपुर शाखा खुल्यो । कृष्णप्रसाद भट्टराई (किसुनजी) उद्घाटन गर्न आए । भाषण गर्न थाले, “राजा वीरेन्द्रसँग बोल्ने ढंग पनि रहेनछन् । आफ्ना बाजेका पालाका नेता टंकप्रसाद आचार्यलाई तिमी भन्ने ? मैले टंकप्रसादजीलाई ‘तिमी भनेकोमा विरोध गर्नु भएन ?’ भनेर सोध्दा उहाँले ‘केटाकेटी नै छ, के विरोध गर्नु’ भन्नुभयो । केको केटाकेटी ? स्वास्नी सुमर्न सक्ने भएपछि केटाकेटी भन्न पाइन्छ ?”

त्यो भाषण गरेपछि किसुनजी पक्राउ परे । त्यसपछि नेविसंघले आन्दोलन चर्कायो ।

उदारवादी पञ्चको नेतृत्व गरिरहेका सूर्यबहादुर थापाले सिंहदरबार र नारायणहिटीबाट द्वेध शासन चलिरहेको भाषण गरेपछि उदारवादी पञ्चहरू पनि सरकारको विरोधमा बोल्न थालेका थिए ।

माथवरसिंह बनारस आउने–जाने गर्न थाले । बीपीसँगको भेटघाट र सामीप्यता बढेको थियो । बीपीले माथवरसिंहलाई हतियारको राजनीतिमा नलाग्न भन्थे । माथवरसिंह बीपीको विचार बोकेर गिरिजाप्रसाद कोइरालाको ‘एक्सन’ राजनीतिमा रमाइरहेका थिए ।

नेविसंघ नेता लीलानाथ दाहाल बनारस गएर फर्किंदै थिए । बनारसमा बनेको योजनाअनुसार काठमाडौंको प्रशासनलाई पनि क्रान्तिकारी स्वरूपमा तर्साउने योजना बनेको थियो । लीलानाथले बनारबाट आफ्नो गुन्टाभित्र पोको पारेको सिरानीभित्र ‘ह्यान्ड ग्रिनेड’ हालेर ल्याएका रहेछन् । त्यहाँ सुराकी लागिसकेको रहेछ । उनी थानकोट आउनुअघि नै प्रहरी कुरेर बसिरहेको रहेछ । प्रहरीले ‘ह्यान्ड ग्रिनेड’सँगै लीलानाथ, ठगीराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई पक्राउ गर्‍यो ।

त्यो बेला बन्द भइसकेको ‘राष्ट्रपुकार’ किसुनजीको आग्रहमा पुनः प्रकाशन प्रारम्भ भइसकेको थियो । केन्द्रीय कारागारमा रहेका किसुनजीले ‘हाम्रो आवाज नै बन्द भयो । प्रजातन्त्रवादीको विचार प्रवाह गर्न भए पनि ‘राष्ट्रपुकार’ चलाउनुपर्‍यो’ भनेपछि होमनाथ दाहाल, माथवरसिंहलगायतले पत्रिका निकाल्न थालेका थिए । पत्रकारिताको कखरा त्यहीँबाट शुरु गरे माथवरले । व्यवस्थापकको जिम्मेवारी पनि माथवरसिंहकै भागमा थियो ।

सीके प्रसाईं काठमाडौंबाहिर जान नपाउने शर्तमा जेलबाट छुटेका थिए । देवेन्द्र नेपाली भर्खर जेलमुक्त भएका थिए । अर्जुननरसिंह केसी छुटेर कलेज पढाउन थालेका थिए ।

लीलानाथलाई केन्द्रीय कारागारमा राखेर राजकाज मुद्दा चलाइँदै थियो । बीपीलाई भेट्न बनारस जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै गएको थियो । बीपीलाई भेट्न जानेको संख्या बढ्नुको अर्थ पञ्चायतविरोधी आवाज बलियो हुँदैछ भन्ने सन्देश थियो । दरबार त्यसलाई निरुत्साहित गर्न चाहन्थ्यो । चाहे अनुरोध गरेर होस् या धम्क्याएर या तर्साएर नै किन नहोस् ।

“आतंक सिर्जना गरेर बीपीप्रति युवा आकर्षण र समर्थनलाई निरुत्साहित गर्न दरबारको योजनाअनुसार सेन्ट्रल जेलबाट नख्खु जेल सरुवा गर्ने बहानामा नख्खुको ओरालोमा लीलानाथ, ठगीराज, खगेन्द्र र गोकर्णलाई गोली हानेर मारियो,” माथवरसिंह आफ्ना सहकर्मीलाई पञ्चायतले सिध्याएको कथा सुनाउँछन् ।

घटनास्थल पुगेर त्यसको समाचार लेखे माथवरसिंहले । टंकप्रसाद आचार्यदेखि शीर्ष नेताहरूको प्रतिक्रिया छापे । त्यो समाचार दरबारलाई पचेन । दरबारको गतिविधि युवालाई ग्राह्य भइरहेको थिएन ।

प्रजातन्त्रसमर्थक युवा ‘यो बेला पनि हामी दरबारको हप्कीदप्की र आतंकबाट तर्सिने हो भने इतिहासले धिक्कार्छ’ भन्दै कांग्रेस नेतृत्वसामु पुगेको थियो । त्यसमा माथवरसिंह पनि थिए । बनारसमा बीपीले ‘दरबारलाई तर्साउन सशस्त्र आन्दोलनको हल्ला चलाउने तर हतियारै प्रयोग गरेर आंतककारी भने नहोऊँ’ भन्थे ।

“उहाँ (बीपी) काठमाडौंमा कांग्रेसले ठूलो हमला गर्दैछ भनेर हल्ला चलाउने तर हतियार नै चाहिँ नउठाउने भन्नुहुन्थ्यो । आक्रमण गर्ने तर प्रतीकात्मक मात्रै होस् भन्ने उहाँको भनाइ थियो । तर, हामी सहमत थिएनौं । हामीले प्लान गर्‍यौं तर त्यो पनि कार्यान्वयनमा जानुअघि नै सार्वजनिक भयो,” माथवरसिंह सम्झन्छन्, “विष्फोट गराउने योजना बनाएको आरोपमा हामीलाई पक्राउ गरियो । त्यसको मुख्य योजनाकारका रूपमा म ०३१ मा पक्राउ परें । म र जानकीप्रसाद कुइँकेललाई जन्मकैद भयो । ०३७ वैशाख १ गतेसम्म म जेल बसें ।”

नयाँ वर्षको अवसरमा राजाको बक्सिस स्वरूप उनी छुटेका थिए । 

नख्खु जेलमा किसुनजी, महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय, रामराजाप्रसाद सिंह, रामहरि जोशी, केपी ओली, आरके मैनाली, सीपी मैनाली, रामशरण महतलगायत पनि थिए ।

कम्युनिस्टहरुमा क्रान्तिको ज्वाला बढी नै थियो । एसएलसीसम्म पढेका कम्युनिस्ट नेताहरू ‘बुर्जुवा शिक्षा नपढ्ने’ भनेर पढाइ छोडी बसेका थिए । किसुनजी भने ‘पढ्नुपर्छ’ भन्थे । किसुनजीकै सल्लाहमा माथवरसिंह जेलमै बसेर पढिरहेका थिए । जेल तोडेर भागेका सीपी मैनाली फेरि समातिएपछि पढ्न थालेको माथवरसिंहलाई सम्झना छ । जेल परेपछि माथवरसिंहको पत्रकारितामा अल्पविराम लाग्यो । 

“सीपी मैनाली जेल तोडेर भाग्ने बेला कम्युनिस्ट नेताहरूबीच म र जानकीलाई पनि सँगै लैजाने छलफल भएको रहेछ । तर, अर्काथरी नेताहरूले कांग्रेसको नेतृत्व नै नेपाल फर्किसकेको र अब जेल तोडेर भागी इन्डिया बस्नुको अर्थ छैन भनेर तर्किएछन् । हामी भाग्न पाएनौं । यसको सबै योजना सीपी आफैंले बनाएका थिए,” माथवरसिंह सुनाउँछन्, “मैले जेलबाटै एमएको परीक्षा दिएँ ।”

०३७ वैशाख १ गते माथवरसिंह छुटे । वैशाख ४ गते धुलिखेलमा आमसभा थियो । बीपीले सम्बोधन गर्ने आसभाको मञ्चमा भर्खर जेलबाट छुटेका माथवरसिंह आकर्षणको केन्द्र थिए । त्यही मञ्चमा बीपीले माथवरसिंहलाई भने, “मैले भनेको नमान्दा दुःख पायौ हैन ?” 

बीपीले माथवरसिंहलाई ‘पढेलेखेको मान्छे, सशस्त्र क्रान्ति गर्नु हुँदैन, अन्य तरिकाले आन्दोलनलाई सहयोग गर्नुपर्छ’ भनी सुझाव दिएका थिए ।

जेलमुक्त भएपछि माथवरसिंह कमलाक्षीस्थित पार्टी कार्यालय पुगेका थिए । बीपी, गणेशमान सिंह र किसुनजी सोफामा बसेका थिए । तीमध्ये किसुनजीले भने, “माथवरसिंह, तिमी लामो समय जेल बस्यौ । अब तराई घुमेर आउ एकपटक, रिफ्रेस पनि हुन्छ ।”

माथवरसिंहले सहमतिमा मुन्टो हल्लाए ।

बीपीले भने, “होइन, जति सक्छौ तिमी काठमाडौं उपत्यकाको काँठमा घुम ।”

गणेशमानले थपे, “हो । यतै घुम काँठमा ।”

माथवरसिंह भित्रभित्रै मुर्मुरिए बीपीसँग । जनमत संग्रह सकियो । नतिजा आउन बाँकी थियो । बीपीले माथवरसिंहलाई भने, “मैले काँठमै घुम भन्दा तिमीलाई चित्त बुझेको जस्तो लागेको थिएन । मैले किन त्यसो भनेको थाहा छ तिमीलाई ? तिमी नेता हुने मधेसको हो र ? यहीँको हो नि । भर्खर जेलबाट छुटेको मान्छेलाई हेर्न र कुरा सुन्न मान्छे व्यग्र थिए । त्यस्तो बेला तिमी यहाँ घुम्यौ भने सबैले चिन्छन् भनेर रोकेको हो ।”

माथवरसिंहको दिमागमा बत्ती बल्यो— ओहो ! बीपी त्यसै बीपी भएका होइन रहेछन् । आजीवन पार्टी नेतृत्व गरेका होइन रहेछन् ।

जनमत संग्रहको नतिजा आयो । बहुदल पराजित भयो । बीपीले माथवरसिंहलाई भने, “जनमत बहुदलका पक्षमा थियो । जनता हामीलाई जिताउन चाहन्थे तर पनि हामीले हा¥यौं, किन ? तराईका जिल्लामा गएर बुझेर आऊ ।”

माथवरसिंह झापादेखि पर्सासम्म घुमेर प्रोफेसर, डक्टर, वकिल, स्थानीय नेताका विचार बुझे । सुझाव आयो, “हाम्रो लिट्रेचर नै छैन । क्युनिस्टहरुसँग वैचारिक बहस चलाउने लिट्रेचर छ तर हामीसँग छैन । त्यसैले एउटा पत्रिका चलाउनु पर्‍यो । प्रजातान्त्रिक समाजवाद चाहिन्छ भन्ने तर यो भनेको के हो भन्ने हामीलाई नै थाहा छैन । प्रजातन्त्र पुनस्र्थापना नै किन ? पार्टी प्रतिबन्ध हट्यो भने के हुन्छ ? यसबारे नियमित रूपमा विचार आउने गरी पत्रिका निकाल्नु प¥यो । यो सन्देश बीपीलाई सुनाइदिनुपर्‍यो ।”

माथवरसिंहले त्यही सुझाव रिपोर्टका रूपमा तयार पारेर बीपीलाई बुझाए ।

एकदिन माथवरसिंह पार्टी कार्यालय पुगे । बीपी पार्टी कार्यालय पुगेर तनहुँको एक हाइस्कुलले निकालेको स्मारिका पढेर बसिरहेका थिए । माथरवरसिंहले भने, “हाइस्कुलका मान्छेले लेखेको पढेर बस्ने सभापतिज्यूले पनि ?”

बीपी रिसाएर रातो हुँदै भने, “तिमीले कसका लागि राजनीति गरेको ? तिमीले जुन बेला प्रजातन्त्र ल्याएर काम गर्छौ, त्यो बेला अहिले यो ९ कक्षामा पढ्दै गरेको यही विद्यार्थी देशको पोलिसी बनाउने ठाउँमा पुग्छ । अनि त्यो भोलि देशको पोलिसी बनाउने विद्यार्थी आज के सोच्दैछ भन्ने थाहै नपाई तिमी कसका लागि किन राजनीति गर्छौ ?”

रातोमुख लगाएर बस्नेबाहेक माथवरसिंहसँग कुनै उपाय थिएन । त्यो बेला नाजवाफ माथवरसिंह अहिले भन्छन्, “बीपी बीपी हुनुको एउटा अर्को पाटो थाहा पाएँ मैले त्यस दिन ।”

बीपी माथवरसिंहले दिएको रिपोर्टमा फर्किए, “तिमीले दिएको सुझाव त ठीक तर पत्रिका प्रकाशन गर्न गाह्रो छ । प्रकाशन गरेपछि त्यसलाई टिकाउन झनै गाह्रो छ ।”

 

वीरेन्द्र र बीपीबीच घम्साघम्सी

पञ्चायतले आफ्ना विरोधीलाई सकेसम्म बढार्न खोज्थ्यो । विरोधी आवाज बन्द गर्न खोज्थ्यो । पत्रिका प्रकाशनमा गिद्धेदृष्टि लगाएर बसेको थियो । प्रशासनले ‘राष्ट्रपुकार’लाई अपराधीहरूले अपराध लुकाउने अखडाका रूपमा बुझेको थियो, त्यसैले त्यो निकाल्न सम्भव थिएन ।

एकदिन हरि अधिकारीसँग सूर्यविनायकको चिया पसलमा संयोगवश भेट भयो । जेलबाट छुटेकोमा बधाई दिँदै सोधे, “अब के गर्नुहुन्छ ?”

लुकीलुकी राजनीति त भइरहेको थियो तर प्रजातन्त्र कहिले आउने र बहुदलीय राजनीति शुरु हुने— भविष्यको गर्भमै थियो । पत्रकारिता गर्न स्वतन्त्र वातावरण थिएन । पत्रिका दर्ता गर्नै कठिन थियो । हरिले भने, “अनुभव पनि छ, पत्रिका निकाल्नुस् ।”

माथवरसिंहले भने, “हामीलाई कसले दिन्छ पत्रकारिता गर्न ?”

हरिले हौस्याए र आश्वासन दिए, “म दिन्छु नि ! म त यहाँ भक्तपुरमा प्रशासक छु । पत्रिका दर्ता गर्नुस् ।”

माथवरसिंहले उत्तिखेरै उत्तेजित हुँदै भने, “हुन्छ ।”

“तर, एउटा शर्त छ,” हरिले संशय खडा गरिदिए ।

“कस्तो शर्त ?”

हरिले भने, “पत्रिका तपाईं आफैं चलाउनुस् तर दर्ता तपाईं आफ्नो नाममा गराउन पाउनुहुन्न ।”

माथवरसिंहलाई शर्त मञ्जुर भयो । माथवरसिंहले अरुसँग सल्लाह गरे । 
निकाल्ने निष्कर्ष निस्कियो ।

एउटा नाम लिएर उनीहरु सूचना विभाग पुगे । विभागले पत्रिकाको नाम जुधेको पत्र काटिदियो । माथवरसिंहले किसुनजीलाई सुनाए । किसुनजीले भने, “पुनर्जागरण नाम राख्नुस् न, भइगो नि ।”

नख्खु जेलमा हस्तलिखित पत्रिका निकाल्थे बन्दीहरू । त्यो पत्रिकाको नाम ‘पुनर्जागरण’ थियो । त्यो नाम किसुनजीले नै जुराइदिएका थिए । माथवरसिंहकी फुपू दमयन्ती बस्नेतको नाममा पत्रिका दर्ता भयो । ०३८ सालबाट माथवरसिंहको सम्पादकत्वमा ‘पुनर्जागरण’ मासिक प्रकाशन शुरु भयो ।

विमोचन बीपीले गर्ने कुरा भयो । तर, भक्तपुर कांग्रेसकै केही नेता गएर बीपीलाई सुनाए, “माथवरसिंहका पिता पञ्च हुन् । विमोचनमा जानुअघि एकचोटि विचार गर्ने हो कि ?”

बीपीले माथवरसिंहलाई चिठी लेखे, “मैले विमोचन गर्ने पत्रिका लिएर आऊ । विमोचनमा मैले पत्रिका र त्यसको कन्टेन्टबारे बोल्नुपर्छ । त्यसैले पत्रिका पनि पढ्नु प¥यो ।”

पत्रिका विमोचनका लागि बीपीलाई लिन माथवरसिंह आफैं पुगे । बीपीले भने, “ल, गणेशमानलाई पनि फोन गरेर बोलाऊ ।”

गणेशमानलाई फोन गरेपछि बीपीले भने, “किसुनीलाई पनि फोन गर ।” 

“बीपीले त सबैसँग कुरा गरेर विमोचनमा सबै उपस्थित हुने चाँजोपाँजो मिलाइसक्नुभएको रहेछ । हामी आफैं छक्क पर्‍यौं,” माथवरसिंह सम्झिन्छन्, “त्यो हाम्रा लागि जिम्मेवारी सम्झिने हो भने भारी बोकिनसक्नु थियो ।”

‘पुनर्जागरण’ले पहिलो अंकमा किसुनजी, दोस्रोमा गणेशमान र तेस्रोमा बीपीको अन्तर्वार्ता छाप्यो ।

इन्डोनेसियाका कम्युनिस्ट नेता डीएन आइडिटले तत्कालीन राष्ट्रपति डा. सुकार्नोलाई प्रशंसा गरेर मख्ख पार्ने तर भित्रभित्रै घुसपैठ गरेर सत्ता कब्जा गर्ने सूत्र तयार पारेका थिए । त्यो सूत्र कार्यान्वयनको पहिलो दिन आठ जना कर्नेल मारिएका थिए । आधा घण्टामा राष्ट्रपति भवन कब्जा भयो । अस्पतालमा उपचार गराइरहेका एक जना जर्नेलले हेडक्वार्टर पुगेर स्थिति सम्हालेपछि बल्ल आइडिट सूत्र ‘फ्लप’ भएको थियो । त्यो ‘आइडिट फर्मुला’का रूपमा विश्वविख्यात थियो ।

‘पुनर्जागरण’मा माथरवरसिंहले ‘कम्युनिस्टले आइडिट फर्मुला प्रयोग गरेर दरबार र पञ्चायतलाई घेर्ने योजना बनाएको’ समाचार प्रकाशन गरे । त्यसपछि ०३९ देखि ०४५ सालसम्म पञ्चायतभित्र एकले अर्कोलाई शंकाको दृष्टिले हेर्न थाले ।

माथरवरसिंह जेलमै छँदा बीपीले ‘किङ इज रिसेप्टिभ’ भनेको समाचार भुसको आगोझैं सल्किएको थियो । ‘टाइम्स अफ इन्डिया’ले चार कोलममा समाचार छापेको थियो ।

एकदिन बीपीले फुसर्दमा भने, “ल, आज के सुन्छौ भन ।”

माथवरसिंहले भने, “तपाईंले ‘किङ इज रिसेप्टिभ’ भनेको समाचार आयो । हामीचाहिँ राजा र पञ्चायत ‘डिसेप्टिभ’ भएको भन्दै आक्रोश पालेर बसेका थियौं । त्यसकै कारण हामी जन्मकैद भोगिरहेका थियौं । हामीले यस्तो सजाय तिनै राजाबाट पाइरहेका बेला कसरी यस्तो भन्नुभयो ? आज सुन्ने हो ।”

बीपीले भने, “यसबारे धेरै कुरा आइसकेको छ । फेरि यसमै कुरा नगरौं ।”

माथवरसिंहले भने, “त्यो बेला हामी जेलमा थियौं । त्यसको कारण थाहा छैन । तपाईं भन्नैपर्छ ।”

बीपीले भने, “तिमी जेलमा थियौ है ? ल त्यसो भए सुन । पत्रकारलाई भनेको सधैंलाई काम लाग्छ, खेर जाँदैन । कुनै न कुनै बेला काम लाग्छ ।”

बीपीले राजा वीरेन्द्रलाई किन ‘रिसेप्टिभ’ भनेको भनेर सुनाउन थाले— 

“म राजासँगै भेटेर कुरा गर्न चाहन्थें । तर, भेट भइरहेकै थिएन । नबोलाई भेट्न जाने कुरा पनि भएन । राजालाई बिन्तीपत्र हालेर भेट न त भन्ने सुझाव पनि आयो तर म बिन्तीपत्र हालेर भेट्न जान चाहिनँ । बीपीसँग भेट्नुपर्छ भनेर राजाले पनि फिल गर्नुप¥यो नि ! एकदिन एक व्यक्तिले मलाई भेटेर भने, ‘हजुरले सरकारलाई भेट गर्ने भन्नुभएको रहेछ । के कुरो बिन्ती गर्नुहुन्छ, मलाई भन्नुभयो भने म सरकारलाई जाहेर गर्छु ।’

राजालाई जे कुरो भन्नु छ, त्यो म आफैंले भन्नुपर्छ । किनभने मैले जे कुरा भन्नु छ, त्यो कुरा मैले तिमीलाई भनें भने तिमीले राजालाई भन्दै भन्दैनौ ।

ती व्यक्तिले सोधे, ‘किन भन्दिनँ ?’

मैले उसलाई भनें, ‘किनभने राजाको जुन पञ्चायती शासन व्यवस्था छ, त्यो व्यवस्थासँग तिम्रो निहित स्वार्थ छ । राजाको यो व्यवस्थासँग स्वार्थ छैन । किनभने पञ्चायत व्यवस्था नरहे पनि राजा राजा नै रहन्छन् । तर, पञ्चायत नरहे तिमीहरु जहाँ छौ र जुन पावर गेन गरिरहेका छौ, त्यो रहँदैन । त्यसैले मैले भनेको कुरा जस्ताको तस्तै तिमीले भन्दैनौ ।’ 

ती व्यक्तिले भने, ‘हजुरले मलाई चिन्नुभए जस्तो लागेन ।’

‘किन नचिन्नु ? तिमी रञ्जनराज खनाल हैन ?’

‘हो ।’

‘बनारसमा फलानो स्कुलमा पढेको होइन ?’

‘हो ।’

‘स्कुलमा तिम्रो लोकल अभिभावक किसुनजी हुनुहुन्थ्यो होइन ?’

‘हो ।’

‘तिमी राजाले नपठाई आएको हो ?’

मैले यसो भनेपछि उनी फर्किए । भोलिपल्ट साँझ साढे ५ बजे मलाई राखिएको पुलिस हेडक्र्वाटर, महराजगन्जमा डीआईजीसहित आएर भने, ‘दरबारबाट मुख्यसचिवज्यू आउँदै हुनुहुन्छ ।’

एकैछिनमा मुख्य सचिव आएर ‘सरकारबाट हुकुम भएको छ’ भन्दै लिएर गए । मलाई दरबारको बैठकमा लगेर राखे । राजा आएपछि अदबका साथ उठें । ‘बस’ भनेपछि कुराकानी शुरु भयो । अवस्था यस्तो आयो कि भद्र भएर बिस्तारै बोल्ने राजाको स्वर मैले नसुन्ने, मेरो त यसै पनि स्वर सानो, राजाले नसुन्ने । ओठ चलेको देखिने तर नसुनिने । राजा उठेर मेरो नजिक बसेपछि सजिलो भयो ।

मैले भनें, ‘सरकार ! म प्रष्ट कुरा राख्छु । प्रष्ट कुरा राख्दा सरकारलाई रुचिकर नलाग्न पनि सक्छ । रिसाइबक्सियो भने सरकारले के–केन गरिबक्सन्छ भन्ने डर छैन मलाई । पाउनुपर्ने गोत मैले पाइसकें । होइन, सरकार खुशीमात्रै हुने कुरा गरौं भने सरकार खुुशी भएर बक्सने कुरा सबैभन्दा ठूलो प्रधानमन्त्री पद हो । प्रधानमन्त्री म भइसकें । सरकारबाट प्रधानमन्त्री बनाइबक्सन चाह्यो भने पनि म हुन्न । जननिर्वाचित प्रधानमन्त्री भइसकेको मान्छे मनोनीत प्रधानमन्त्री हुन्न । त्यसैले मलाई लोभ पनि छैन र डर पनि छैन । त्यही भएर स्पष्ट कुरा राख्छु । यसरी प्रष्ट कुरा अरुले पनि राख्छन् ?’

राजाले भने, ‘कसै–कसैले त राख्छन् तर धेरैले राख्दैनन् ।’

हाम्रो कुरा शुरु भयो । म बोलिरहेको थिएँ । राजा रिसाएर रातो मुख लगाए । सोफाबाट जुरुक्क उठेर भने, ‘डु यु नो विथ हुम यु आर टकिङ टु ? यु आर टकिङ टु द किङ अफ नेपाल ।’

म पनि अदबसाथ उठें र भनें, ‘सरकार मलाई पूरा अनुभूति छ, म नेपालको महाराजधिराजसँग कुरा गर्दै छु । तर सरकार ! सरकारलाई पनि यो अनुभूति हुनुपर्छ कि सरकार अहिले नेपालको राजनीतिज्ञसँग कुरा गरिबक्सिँदैछ ।’

यति भनेपछि राजा बसे र डेढ घण्टासम्म हाम्रो कुराकानी भयो । मेरो मान्यता के छ भने मेरो कुराले जो मान्छे रिसाएर उत्तेजित हुन्छ र रिसाउँछ, त्यो मान्छे कन्भिन्स पनि हुन्छ ।

मैले तीन जना राजासँग संगत गरें । भागेर इन्डिया गएका बेला राजा त्रिभुवनले फिर्ता ल्याएको हुँदा त्यो कृतज्ञभाव जहिले पनि मप्रति रह्यो । र, त्यहीअनुसार व्यवहार गर्थें । त्यही भएर उनले कहिल्यै पनि मसँग बहस गरेनन् । राजा महेन्द्र ठीक आधा घण्टापछि उल्टो काम गर्ने भए पनि मसँग कहिल्यै बहस गर्दैनथे । यी (वीरेन्द्र) राजाचाहिँ बहस गर्ने । बहस गर्ने मान्छे कि मसँग उनी कन्भिन्स हुन्छन् कि उनले मलाई कन्भिन्स गर्छन् । त्यसैले यो बहस गर्ने स्वभाव प्रजातान्त्रिक गुण हो । त्यसैले मैले किङ इज रिसेप्टिभ भनेको हुँ ।”

यही कुरा माथवरसिंहले ‘एकछिन बीपीसँग’ भनेर प्रकाशन गरे । त्यसपछि ‘आइडेट फर्मुला’ छापे । प्रशासनको आँखा ‘पुनर्जागरण’मा परिहाल्यो— राजा भएको मुलुकमा राजा रिसाएपछि बीपीले राजालाई थच्याउने ? ल ठीक छ, कोठाभित्र त जे भयो भयो । त्यही कुरा माथवरसिंहले लेखेर सार्वजनिक गर्ने ?

माथवरसिंह पक्राउ परिहाले । चार महिना जेल सजाय तोकियो । ‘पुनर्जागरण’को दर्ता खारेज गरियो । चार अंक निस्किएपछि पत्रिका खारेज भयो ।

नख्खु जेलमा राखिएको थियो माथवरसिंहलाई । त्यहीँ उनले एकदिन बीपीको अन्तर्वार्ता सुने । बीपीले ‘आइडिट फर्मुला’को कुरा उठाउँदै भने, “आइडिट फर्मुला कति प्रभावकारी रहेछ भन्ने कुरा प्रमाणित फेरि भएको छ । मेरो अन्तर्वार्ता छाप्ने पुनर्जागरण पत्रिकाका सम्पादक माथवरसिंह आज जेलमा छन् । मेरो अहिलेको मेलमिलापको विचारले राजालाई सहयोग पुग्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा पनि राजालाई बल पुर्‍याउने पत्रिकामाथि कारबाही गरेर माथवरलाई थुनियो । राजालाई राम्रो हुने कुरा मन नपराउने मान्छे त पञ्चायतभित्रै रहेछन् नि, त्यसको प्रमाण हो यो ।”

अन्तर्वार्ता सुनेर माथवरसिंहका आँखाबाट तरक्क आँसु चुहियो ।

दुई महिनापछि जेलमुक्त भएका माथवरसिंह भोलिपल्टै बीपीलाई भेट्न गए । पत्रिका र त्यसको समाचारले पारेको प्रभावको कुरा भयो । ‘आइडिट फर्मुला’को चर्चा भयो । त्यहीँ बीपीले छोरी चेतनाको विवाहको रिसेप्सन निम्तो दिए । त्यही साँझ बीपीलाई रोगले च्याप्यो । अस्पताल भर्ना गरिए । अवस्था सामान्य भएन, दिल्ली लगियो । त्यहाँबाट बैंकक लगिएका बीपीलाई नेपाल ल्याइयो । त्यसपछि बीपी राम्रोसँग बोल्नै नसक्ने अवस्थाबाट फेरि सामान्य अवस्थामा कहिल्यै फर्किएनन् ।

 

नेता जगाउने समाचार

सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार सुरेन्द्रराज शर्मा हरि अधिकारी भेट भएकै चिया पसलमा भेट भए । ०४० मा उनले नयाँ पत्रिका दर्ता गरेर चलाउन सुझाव दिए । ‘राष्ट्रिय पुनर्जागरण’ नाम राखे । ०४५ सालमा कमल थापा सञ्चारमन्त्री भएका बेला ‘पुनर्जागरण’ नाम राखेर पुनः प्रकाशन गर्न अनुमति दिए । फेरि ‘पुनर्जागरण’ले प्राण पायो । प्रकाशन शुरु भयो, त्यो पनि साप्ताहिकका रूपमा ।

पञ्चायत ३० वर्षमा प्रवेश गरिसकेको थियो । कांग्रेस आन्दोलन गर्ने हुंकार त गथ्र्यो तर मान्छेले भन्न थालिसकेका थिए, “यसले भन्न त भन्छ तर गर्ने केही होइन ।”

उता, कम्युनिस्टले क्रान्ति गर्छ भनेर पनि कसैले पत्याउँदैनथे । उनीहरू दुई दर्जन चिरामा विभाजित थिए ।

गणेशमान इमान्दार नेताको छबी बनाएर राष्ट्रिय राजनीतिमा सक्रिय थिए । गणेशमानले केही गर्न नसक्लान् तर राष्ट्रलाई व्यक्ति र दलको निहित स्वार्थका लागि धोका दिँदैनन् भन्नेमा सबैको विश्वास थियो ।

गणेशमानलाई मान्न कुनै पनि कम्युनिस्ट नेतालाई आपत्ति थिएन । उनीसँग माथरवरसिंह नजिक थिए । दिनकै भेट हुन्थ्यो । ‘गणेशमानका पानाहरू’का लागि हप्तामा तीन दिन रेकर्ड गर्थे ।

माथवरसिंह कुराकानीमा बेलाबेला बहकिन्छन्, नोस्टाल्जिक हुन्छन् । आपसी सम्बन्धका कुरा सुनाउँछन् । प्रत्येक दिन साँझ गणेशमान दुई पेग रक्सी पिउँथे । तर, उनी कहिल्यै विदेशी रक्सी पिउँदैनथे । आफ्नै दिदीले बनाएको रक्सीमात्रै पिउँथे । उनलाई साथ दिनेमा एक माथवरसिंह पनि हुन्थे । माथवरलाई पनि गणेशमानको संगतले दुई पेगको आदत लाग्यो । दुई पेगभन्दा धेरै त्यसपछि माथरवरसिंहले पिएनन् ।

कांग्रेस र कम्युनिस्टले आन्दोलन गर्छु भन्दा जनताले पत्याउन छाडिसकेका थिए । कांग्रेसले सत्याग्रह सञ्चालन गर्ने निर्णय पारित गरे पनि गिरिजाप्रसाद कोइराला राजासँगको भेटपछि ‘विकल्प खोज्नुपर्छ’ भन्दै हिँड्न थालेका थिए । यसपछि कांग्रेसभित्रै उनको चर्को आलोचना भइरहेको थियो । गणेशमानप्रति भने कांग्रेस र कम्युनिस्ट दुवैले विश्वास गर्थे ।

यो अवस्था माथवरसिंहले नजिकबाट नियालिरहेका थिए । “गणेशमान पनि आन्दोलन गर्नुपर्छ त भनिरहनुहुन्थ्यो तर त्यसलाई कसरी मूर्तरूप दिने भन्ने ठोस कार्ययोजना भने उहाँसँग थिएन,” माथवरसिंह ०४५ सालमा फर्किए ।

पत्रिका निकाल्न हरेक हप्ता नयाँ स्टोरी चाहिन्थ्यो । गणेशमानको आह्वानमा कांग्रेस र कम्युनिस्ट मिलेर देशमा आन्दोलन हुने भनेर माथवरसिंहले समाचार लेखे । त्यो बेला उनको पत्रिकामा राजनीतिक समाचार लेख्ने गोविन्द अधिकारी, अनारसिंह कार्की, सरोज मिश्रलगायत थिए । उनले तयार पारेको समाचारमा सबैभन्दा पहिला अविश्वास प्रकट गर्दै गोविन्दले भने, “ए माथवरजी, कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गर्ने भनेर त समाचार लेख्नुभयो । पढ्दा र सुन्दा हो जस्तो पनि लाग्छ । तर, यो कांग्रेसले गरिखाँदैन ।”

गणेशमानलाई थाहै नदिई, नसोधी समाचार छापियो । माथवरसिंह आफूलाई शरदसिंह वस्तीले भनेको सुनाउँछन्, “माथवरजीले लेखेको समाचार छापिएपछि गणेशमानजीले के बोलेछु भनेर थाहा पाउनुहुन्छ ।”

समाचार छापिएको बेलुका गणेशमानको घर पुगे माथवरसिंह । उनलाई गणेशमानले भने, “हैन के लेख्यौ तिमीले ? मलाई त सोधेर हैरान लाइसके त ।”

“यसको प्रभाव एकदम राम्रो परेको छ । जनमत सिर्जना हुँदैछ,” माथवरसिंहले आश्वस्त पार्ने प्रयास गरे ।

गणेशमानले भने, “लेखेको त ठिकै हो, आन्दोलन पनि गर्नैपर्छ । ०१७ सालपछि राजाले हामी प्रजातन्त्रवादीलाई कम्युनिस्टको लठ्ठी लिएर हिर्काइरहेका छन् । त्यो लठ्ठी खोसेर त्यही लठ्ठीले राजाको थाप्लोमा नहानेसम्म आन्दोलन हुँदैन ।”

माथवरसिंहले सहाना प्रधानसँग भेट भएको र उनले भेट्न चाहेको सुनाए । गणेशमानले पनि भेट्ने समय मिलाउन भने ।

अर्को अंकका लागि पनि नयाँ समाचार चाहियो । गणेशमानको नजिक माथवरसिंह नै थिए । उनले समाचार लेखे, “कांग्रेस र कम्युनिस्टका शीर्ष नेताबीच भेटघाट शुरु भयो । गणेशमानले कम्युनिस्ट नेताहरूको विचार बुझेर कसरी आन्दोलन गर्ने भन्ने सल्लाह गरिरहेका छन् ।”

यो समाचार छापिँदासम्म गणेशमानसँग कसैको पनि भेटघाट भएको थिएन । जबर्जस्ती समाचारले आन्दोलनका लागि तयारी गर्न कांग्रेस र कम्युनिस्टलाई दबाब सिर्जना गरिरहेको थियो ।

कम्युनिस्ट नेताहरूलाई नभेटी समाचार लेख्दा त्यसको सत्यतामा प्रश्नचिन्ह खडा हुने भएपछि माथवरसिंह आफैं सहानालाई भेट्न गए । गफगाफमा गणेशमानसँग भेट्न आफूलाई आपत्ति नभएको बरु समय अनुकूल मिलाएर आफूलाई खबर गर्न भनिन् । दुई दिनपछि भेट भयो ।

अर्को अंकका लागि समाचार तयार भयो— कांग्रेस र कम्युनिस्ट नेताहरूको भेटघाटको क्रम बाक्लियो । भेट आन्दोलनका विषयमा केन्द्रित छ ।

नेविसंघ र अखिलबीच पनि विश्वविद्यालयमा भेट भयो भन्ने समाचार लेखे ।

“त्यसपछि आन्दोलनको तयारी कहाँ पुग्यो भनेर कार्यकर्ता तथा जनताले नेताहरूलाई सोध्न थाले । अन्य पत्रिकाले पनि नेताहरूलाई सोध्न थाले । उनीहरूलाई पनि गणेशमान सिंह र किसुनजीले ‘हो’ भन्दिनुभयो,” माथवरसिंहले हाँस्दै सुनाए ।

आरके मैनाली उनलाई भन्थे, “माथवरजी ! समाचार त लेख्नुभयो तर खोइ, भेटघाटै भएको छैन त ! पत्रकारले प्रश्न गर्दा के भन्ने ? भेट भयो भनौं भने भएको छैन । भएन भनौं भने भयाे भन्ने समाचार अाइसक्याे, अप्ठ्यारो पो पर्‍यो त !”

त्यसपछि बाध्य भएर नेताहरू छलफलमा जुटे । कम्युनिस्टका सबै घटक गणेशमानलाई आन्दोलनको सर्वोच्च नेता मान्न तयार भए । आन्दोलन शुरु भयो ।

त्यो आन्दोलनले पञ्चायत ढाल्यो । माथवरले ठाने— मेरो जीवन सार्थक भयो ।

तस्बिरः सरिता खड्का

तपाईंको मत