Skip Advt.
ad

विचार

‘प्रचण्ड’को ओली प्रवृत्ति र ओली राजको विश्वासघात 

खगेन्द्र संग्रौला

‘प्रचण्ड’को ओली प्रवृत्ति र ओली राजको विश्वासघात 

गणतन्त्र आयो । संघीयता सबैलाई हुने भयो । देश समृद्धिमा जाने भयो भनेर खुबै आशा भरोसा पनि देखाइयो । नयाँ सरकार आएकोे छ सात महिनाको प्रवृत्ति दिशा र चरित्र हेर्दा सबै एकै ठाउँमा घुमिरहेको जस्तो अनुभूत हुन्छ ।  मियोमा बाँधिएको बुढो गोरु जस्तो । 
जिन्दगीभर लडियो । अहिले पनि सडकमा लड्न जानुपर्ने अवस्था छ । जिन्दगी त सडकमै जाने भयो ! इतिहासको यो दुश्चक्र कहिले तोडिने होला ? यो समाजले गति कहिले लिने होला ? पुरुष– महिला, ब्राह्मण– दलित, मतवाली –तागाधारी, पहाडे –मधेसीका बीचमा समानता, सदभाव र सन्तुलन कहिले होला ? यी प्रश्न उठिरहन्छन् । 

अनर्थ त लडिएन । लडाई अर्थपूर्ण नै रह्यो । परिवर्तनका मुद्दा उठे । मान्छे बिउँझिए । राज्य मेरो हो, मेरो पनि अधिकार छ भन्दै मानिस बिउँझिएकै हुन् तर संस्थागत केही पनि भएन । प्रणाली बनेन । संरचना बनेनन् । स्वेच्छाचारी प्रवृत्ति कायमै रह्यो । 

परिवर्तनको एक चरणको मुद्दा जुन थियो र त्यसमा जोजो कर्ता थिए, ती कर्ता स्खलित भए । सजिलो शब्दमा भन्ने हो भने हामी सहमत हुँदा पनि सहमत नहुँदा पनि माओवादीको दस वर्षको ‘जनयुद्ध’ नेपालको इतिहासमै सबैभन्दा बढी नेपाली मासलाई हल्लाउने, समाजका विषमता, विभेदलाई उजागर गर्ने ठूलो अभियान थियो । त्यसको जो कर्ता थियो, त्यो कर्ताले आफैँले उठाएको झन्डालाई कुल्चिँदै कहीँ गएर विलय भयो । उसले हल्लाउने काममात्रै गर्‍यो संस्थागत गर्ने काम गरेन । 

अझै भनौ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ दस वर्षको ‘जनयुद्ध’का नायक हुन् । उनको नायकत्व कति क्रियाशील थियो त्यो हामी जान्दैनौ । तर, हामीलाई सुनाइएको त्यही हो । दस वर्षको ‘जनयुद्ध’को नायक, वैचारिक नायक, व्यवहारिक नायक, कमान्डको नायक, ती नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्ड अहिले के भए ? प्रचण्ड अहिले एमालेमा विलय भए । एमालेको पनि ओली प्रवृत्तिमा । 

ओली प्रवृत्ति भनेको के हो ? उनको शक्ति भनेको दुईवटा मात्रै हुन् । झापामा उनले खुकुरी उजाए अथवा खुकुरी उजाउने कर्मलाई उनले समर्थन गरे । त्यसबापत १३÷१४ वर्ष जेल बसे । यो दुईवटा कुरालाई सकारात्मक मान्ने हो भने यो बाहेक खड्गप्रसाद ओलीको जीवनमा सकारात्मकता कहिले पनि देखिँदैन । उनी गणतन्त्रको विरोधी जहिले पनि भइरहे । संघीयताको विरोधी भइरहे । समावेसिता उनलाई कहिल्यै मनपरेन । मधेसी उनलाई मान्छेजस्ता कहिल्यै लागेनन् । विडम्बना के छ भने, परिवर्तनका मुद्दालाई संस्थागत गर्ने सिंहासनमा खड्गप्रसाद ओली छन् । सारा मुद्दा उठाउने इतिहासका जो नायक थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनी खलनायकी शैलीमा ओलीमा विलय भएका छन् । 

यसरी संघीयतालाई योजनाबद्ध ढंगले मार्ने चेष्टा भइरहेको छ । प्रदेश जुन बनेको छ, त्यो टेक्निकल मात्रै भएको छ । प्रदेशको कानुन छैन । साधन स्रोतमा प्रदेशको कति हक लाग्ने हो ? त्यो हकको कानुन पनि छैन । प्रदेशको पुलिस छैन । कर्मचारी छैन । आफ्नो क्षेत्राधिकारभित्र के के गर्ने भन्ने केही पनि परिभाषित छैन । परिभाषित गर्नुपर्छ भन्ने चिन्ता सिंहदरबारमा छैन । संघीयता मारिँदैछ ।

वास्तवमा नेताहरुबाट जनताले धेरै आशा गरेका थिए । त्यतिमात्रै होइन, समयसमयमा जनताले यिनलाई देवदूत नै मानेका थिए । सारा दुःख यिनले हर्नेछन् भन्ने भावना राखेका थिए । जीवनका बोझ, सुस्केरा,  सबै समन हुनेछन् भनेर आश्वस्त गराएका थिए यिनले । तर खै ?

हाम्रो देशको इतिहास विचित्रको छ । नेपाल प्रत्यक्षरूपमा कसैको पनि उपनिवेश भएन । हाम्रो आँगनमा आएर कसैले पनि हामीलाई कजाएन तर सु्गौली सन्धीपछि नेपाल स्वाधीन पनि कहिल्यै रहेन । जुनजुन देश उपनिवेश भए, उपनिवेशवादीले उत्पीडन, दमन र शोषण मात्रै गरेका थिएनन् । तिनले आधुनिक विज्ञान ल्याएका थिए । आधुनिक कला ल्याए, प्रविधि ल्याए । रेल ल्याए । धेरै कुरो ल्याए । उपनिवेशबाट हुने लाभ हामीलाई प्राप्त भएन् । देश स्वाधीन पनि कहिले भएन । 

सधैँ हात थापेर खाने जुन देश हुन्छ, गुलामी गर्ने, हात मल्ने देश, त्यसको स्वाभिमान र चरित्रबल एकदमै कमजोर हुँदोरहेछ । हाम्रा नेताहरुको चरित्रमा दृढता कहिल्यै भएन । निष्ठा र लोकका अगाडि वाचा गरिसके पछि त्यसमा उभिने जुन इमान हुन्छ, त्यो पनि कहिल्यै भएन् । हामी कहाँ त के भयो भने बेलुका कम्युनिस्ट भएर सुतेको छ । भोलिपल्ट बिहान कांग्रेस भएर गोर्खामा निस्किन्छ । 

चरित्र र चरित्रको दृढता, निष्ठा र निष्ठाप्रतिको दृढता, समर्पण र समर्पणप्रतिको दृढता सापेक्षित कुरा रहेछन् । नेपाली समाजको सापेक्षतामा नेपाली चरित्रको सापेक्षतामा नेता यिनै हुन् । यिनै हामीलाई प्राप्त छन् । किनभने नेता बाहिरबाट आयात पनि हुँदैनन् । ब्रह्माजीले बैकुण्ठबाट पनि पठाउँदैनन् । नेता हुने भनेको यही भूमिबाटै हो । जहाँसम्म नेता छान्ने कुरो छ नेता छानेका जनताले नै हुन् । जनता पनि त सापेक्ष कुरा हुन् । नेता जस्ता छन् जनता पनि त्यस्तै छन् ।

विगतमा संसदीय चुनावमा जाने भएपछि दुईवटा पार्टी मिल्ने प्रक्रियामा गए । तिनले जनतालाई सामान्य कुरा भनेका थिए । नेपालमा विकास किन भएन ? सरकार अस्थिर भयो । नेपालमा भ्रष्टाचार किन बढ्यो ? सरकार अस्थिर भयो । नेपालमा गरिबी र दरिद्रता व्याप्त किन भयो ? सरकार अस्थिर भयो । कुनै पनि योजना कार्यान्वयन भएनन्, भ्रष्टाचार बढ्यो, विकासले गति लिएन् । सरकार अस्थिर भयो । त्यो जनताले पत्याए । पत्याउनु स्वाभाविक थियो । दुई तिहाई नै भएपछि सरकारले आफू अनुकूल संविधान संशोधन गर्न सक्छ । संविधान कतै बाधक भएमा, कामले गति लिँदा अप्ठेरो भएमा संविधान संशोधन गर्न सकिने अवस्था रहन्छ । अर्थात्, सरकारले जे पनि गर्न सक्छ । 

तर, यो पाँच सात महिनामा के देखियो भने ओली राजका निम्ति दुई तिहाइ बाँदरको हातमा नरिवल भयो । मतदाता किन बोल्दैनन् ? आश्चर्य छ । जसले दुई तिहाइ पुर्‍याउने गरी मतदान गरेको छ, जुनजुन अपेक्षाका साथ मतदान गरेको छ ती अपेक्षा क्रमशः कुण्ठित भएको देखेपछि, अपेक्षा दमित भएको देख्दादेख्दै पनि मतदाता किन नबोलेका होलान् ? यस अर्थमा हामी आफैँ कमजोर छौ । ढोँडको लौरो जस्तो । चरित्रतामा दृढता नभएको । 

पुरानो प्रसंग हो, गणेशमान जीले ‘जनता भेँडा’ हुन् भनेको अवस्थामा म बढी क्रान्तिकारी थिएँ । मलाई यहाँको गोर्खे माक्र्सवादले के सिकायो भने जनता भनेको यस्तो दिव्य शक्ति हो जस्ले गल्ती भनेको कहिल्यै गर्दैनन् । जनतामा अपार सौर्य हुन्छ, अपार सिर्जनशीलता हुन्छ । निर्भुल हुन्छ जनता । गल्ती कहिल्यै गर्दैन् । 

गणेशमान जीको त्यो भनाइले मलाई बहुत ठेस लागेको थियो । मैले कसरी बुझेँ भने पत्नी र पुत्र हारेकोले त्यो आवेगमा त्यो चोटमा गणेशमानजीले बोले । उनले अनर्थ बोले । तर, त्यो बेलादेखि अहिलेसम्म यो समाजको चरित्र, मतदाताको चरित्र, कार्यकर्ताको चरित्र हेर्दाखेरी गणेशमानजीले ठीक नै बोलेका रहेछन् भन्ने लाग्छ । शाश्वत सत्य त त्यो होइन होला । जनता सधैं भेँडा त हुँदैनन् । तिनको विवेक बिउँझिएला । प्रबोधित पनि होला । तर, हाम्रो समाजको चारित्रिक विशेषतालाई आँखा अगाडि राखेर भन्ने हो भने जनता भनेको भेडैँ हुन् । अब कि त जनता बिउझिएर देश बनाउँछन् कि यो देश रहँदैन । यथास्थितिमा यो पछ्यौटेपनमा, यो दरिद्रतामा, यो विभेदमा नेपाल बाँच्दैन् । लाग्छ, नेपाल कि बिउझिन्छ अनि समानताका आधारमा लोकतन्त्रको स्थापना हुन्छ । देश प्रगतिमा जान्छ । कि नेपाल रहँदैन् । 
चीन र भारतको विकासको वेग यति तीव्र छ कि नेपालले विकासमा कहीँ न कहीँ गति नलिने हो भने यो रहँदैन् । हुन्छ के त्यो म भन्न सक्तिन । नेपाल हाम्रो पराक्रमले र सौर्यले बाँचेकै होइन । बाँचेको भूराजनीतिले मात्रै हो । दुईवटा भीमकाय अजिङ्गगर दुई ठाउँमा नभएको भए, तिनका स्वार्थ परस्पर विरोधी नभएको भए नेपाल कहाँ रहन्थ्यो र ? चीनमात्रै भएको भए नेपाल  खाइसक्थ्यो । भारत मात्रै भएको भए पनि उहिल्यै खाइसक्थ्यो । हाम्रो पौरख, हाम्रो बलिदान, हाम्रो पराक्रमले यो भूगोल बाँचेको हैैन । हामी सुरवीर होइनौ ।

निरपेक्षरुपमा हामी कायर त नहौंँला, हामी निरपेक्षरुपमा असिर्जनशील, अनुत्पादनशील पनि नहौँला तर हामी उत्पात उत्पादनशील, उत्पात सिर्जनशील र उत्पात वीर पनि होइनौ । भएदेखि यस्तो हुन्थ्यो देशको गति ? वीरहरुको पौरखीहरुको देश यस्तो हुन्छ ?
घनश्याम भुषालको टिप्पणीलाई स्मरण गर्ने हो भने धेरै कुरा बुझिन्छ । उनले बराबर भनेका छन्, ‘पहिलेको एमालेमा वा नेकपामा आन्तरिक जनवाद छैन ।’ जहाँ आन्तरिक जनवाद छैन त्यहाँ मान्छेको मुख बन्द हुन्छ । एउटा मान्छेको मुख खुल्छ बाँकी सबैको बन्द हुन्छ । एउटाको स्वेच्छाचारिता हुन्छ अरु सबैको विवेक जाम हुन्छ । अनि त्यहाँ जडता हुन्छ । आहाल जस्तो हुन्छ । त्यसमा गति हुँदैन । त्यसमा निर्मलता हुँदैन । सौन्दर्य हुँदैन । 

तर, त्यो लामो समयसम्म रहँदैन । नेकपा भनेको एकजना ओलीको सर्वसत्तावाद व्याप्त भएको दल हो । जहाँ सबैको मुख बन्द गरिएको थियो । एउटा अवधि हुँदोरहेछ जब मुख बन्द हुन्छ तर जब निश्वास भरिन्छ; निश्वासको आगो पोखिन्छ । पोख्न थालिएको छ । त्यहाँ निरपेक्ष एकता र प्रेमको भजन गाइएको थियो । त्यहाँ भित्र के थियो ? त्यहाँ व्यापक असमानता र असन्तुष्टि थियो । कति नीतिगत द्वन्द्व थिए होलान् ? कति स्वाथ्र्यजन्य द्वन्द्व पनि थिए होलान् । हिजोसम्म पुष्पकमल र खड्गप्रसाद के भनिरहेका थिए – ‘‘हाम्रो बीचमा मतभिन्नता र तुष केही पनि बाँकी छैन’’ । तिनले यसरी आफूलाई प्रक्षेपण गरिरहेका थिए मानौ यिनको देह दुईटा भएपनि आत्मा एउटै हो । हंस एउटै हो ।

पछिल्लो समय माधव नेपाल बोले । पुष्पकमल बोले । घनश्याम त बोली नै रहेका छन् । यसले भीषण अन्तरविरोधलाई डण्डाले छोपिएको तर डण्डाहरु कमजोर भएको देखाउँछ । साढे सात महिनामै खड्गप्रसाद ओलीको लोकप्रियता यसरी स्खलित भयो कि, विश्वसनीयता यसरी गुम्यो कि, अरुलाई बोल्न सजिलो भयो । हिजो उनी बलिया थिए । खड्गप्रसादमाथि कसैले सामान्य टिप्पणी गरे पनि कुटिने डर थियो । अब छैन । 

अब खड्गप्रसादको प्रतिरक्षा केही दानापानी खुवाइएका हनुमानबाहेक अरु कोही पनि गर्न तयार छैनन् । उनको सबैभन्दा दुःख के छ भने ‘‘मैले यतिका असल काम गरिरहेको छु । हामीभित्रै पनि असल भनिदिने कोही पनि भएनन् । यत्रो चौतर्फी आक्रमण हुँदा पनि प्रतिरक्षा गर्ने कोही भएनन् ।’’ यसको अर्थ उनकै हनुमानको नजरमा पनि उनका कामहरु असल देखिएका छैनन् । भनेपछि खड्गप्रसाद धेरै कमजोर भएका छन् ।

समृद्धिको कुरा व्यापकरुपमा उठिरहेको छ । यद्यपि, यो सात महिनाको शासनलाई प्रवृत्तिगतरुपमा विवेचना गर्दा देखिएको के छ ? अराजकता छ, भ्रष्टाचार छ, हिंसा छ । सबैकुरो व्याप्त छ । राम्रो कहीँ पनि देखिएको छैन । कत्रो न पराक्रम गर्ने भनेर सिन्डिकेट तोड्ने कुरा हामीलाई सुनाइयो तर केही भएन । बरु सिन्डिकेट भएका बेलामा सामान्य यात्रुलाई जुन सुविधा थिए त्यो सुविधा पनि काटिएको छ । 

अहिले समृद्धि व्यक्तिगतरूपमा भइरहेको होला । खड्गप्रसादको पुष्पकमलको समृद्धि भई नै रहेको होला । तर बृहत्तर समाजको समृद्धिको लक्षण कहिले पनि देखिएन । 

घनश्यामकै परिभाषामा भन्ने हो भने  पार्टीमा बिचौलियाहरु, दलालहरु, भ्रष्टहरु, चैतेहरुको वर्चस्व छ । घनश्याम भन्छन् ‘‘अहिलेको नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी हो’’ । त्यो दलाल पुँजीवादको प्रतिनिधि को हो ? त्यो नेकपा नै हो । घनश्याम नै भनिरहेका छन् । तपार्इँको आर्थिक दृष्टिकोण र स्वार्थ दलाल पँुजीसँग गाँसिएको छ भने समाजवादमा कहाँबाट जानु हुन्छ ? 

म यहाँ केसीलाई जोड्छु । उनले सामान्य कुरा भनेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सबैलाई उपलब्ध हुनुपर्छ । गरिब समुदायका मेधावी विद्यार्थीले पनि पढ्न पाउनु पर्छ । स्वास्थ्यका सुविधा काठमाडौं केन्द्रित हुनुहुँदैन । शिक्षा र स्वास्थ्य आधारभूतरूपमा निःशुल्क हुनुपर्छ । यो त समाजवादको नारा हो नि ! हामीलाई समाजवादमा लानेहरुमा थोरैमात्र पनि विवेक भएको भए तिनले त केसी माथि पुष्पवृष्टि गर्नुपथ्र्यो । हामी जान खोजेको त्यतै हो । हाम्रो मार्ग त्यही हो । हामीले गर्न चाहेको त्यही हो  भन्दै । तिमीले भनिदियौ तर हामी त दलालले घेरिएका छौँ । बिचौलियाले घेरिएका छौँ । आदर्श विरोधी तत्त्वहरुबाट हामी आक्रान्त छौँ । तिमीले भनिदियौ । धन्यवाद छ केसी तिमीलाई । र, भन्नु पथ्र्यो – धेरै केसीहरु सडकमा आउ । हामीलाई आलोक हुन्छ । हामीलाई साहस मिल्छ । तर गरे के, अपराधीको रूपमा तिनलाई चित्रण गरे । त्यसभन्दा अपराध केही हुन सक्तैन ।

सत्तामा दलालहरुको वर्चस्व छ । वास्तवमा भन्ने हो भने सत्ताको दलालभन्दा जग्गाको दलाल धेरै राम्रो । कम्तीमा त्यो देखिन्छ र चिनिन्छ पनि । तिनका कुरामा सहमत असहमत हुन सकिन्छ । सत्ताको दलाल  देखिँदैन । सत्तामा त कोहीले दिल्लीको दलाली गरिरहेको छ । कोहीले पेकिङको दलाली गरिरहेको छ । कोहीले यहीँका माफियाको दलाली गरिरहेको छ । त्यो देख्न गाह्रो हुन्छ । जग्गा दलाल त गोचर छ । ती त मेरा नजरमा जग्गाविद् हुन् । 
सक्षेपमा भन्नुपर्दा ओली सरकारले वा नेकपाले सत्तासीन हुनुअघि जनतामा जुन सपना देखाएको थियो त्यो स्खलित भएको छ । र मतदाताका विविध अपेक्षालाई नेताले पूरा गरेनन् । ओलीको राजले सात महिनामै मतदाताहरुमाथि विश्वासघात ग¥यो । यो डरलाग्दो कुरो हो ।
अझै डरलाग्दो कुरो के छ भने प्रतिपक्ष अलिकतिमात्रै पनि बलियो भइदिएको भए बितेका केही समयमा भएका घटनाका आधारमा ओली सरकार बाहिर गइसकेको हुन्थ्यो । केसीको मुद्दा, निषेधित क्षेत्र, निर्मलाको मुद्दा अनि निषेधका लागि बनाइएको संहिता, यो तीन चार वटा विषयलाई लिएरै सरकार गइसक्थ्यो । तर कांग्रेस भन्ने आधी प्रजातन्त्रवादी छ जुन मुसोजस्तो छ । न त्यसमा नेता गतिला छन् । न त चिन्तनले सम्पन्न छन् । प्रतिपक्ष भएको अनुभूत त्यतिबेला मात्रै हुन्छ जब संसदमा गगन थापा बोल्छन् अनि प्रदीप गिरिले कुनै पत्रिकामा विचार लेख्छन् । यतिबेला कांग्रेस पनि रहेछ भन्ने आभास हुन्छ ।
(राजेश खनालले गरेको कुराकानीमा आधारित ।) 


 

तपाईंको मत