पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै

काठमाडौँ, रासस । भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी शुरु भएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम शुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिए । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘जनचासोका समसामयिक मुद्दाहरु, स्थानीय पत्रकार र पुनःनिर्माण प्राधिकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भौतिक पुनःनिर्माण मात्र प्राधिकरणको जिम्मेवारी नभएको बताए । 
“सामाजिक आर्थिक पुनःस्थापना प्रभावित जिल्लाका नागरिकको जीविकोपार्जनसँग सम्बन्धित हुन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई जिम्मेवार बनाउन गाउँपालिकाका अध्यक्ष नगरपालिकाका प्रमुखको संयोजकत्वमा पुनःनिर्माण समिति गठन गर्ने व्यवस्थासहितका प्रावधान थपेर भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ संशोधनको प्रक्रिया शुरु भएको छ”, उनले भने । संशोधनमा जिल्ला तहमा जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखलगायत सरोकार भएका निकायका अधिकारी रहने गरी समिति गठन गर्ने व्यवस्था पनि थपिने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । 
फोरमका प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले भूकम्प अति प्रभावित १४ जिल्लाका ३५ पत्रकारलाई पुनःनिर्माणमा जनचासोका मुद्दा उठाउन तालीम दिइएको जानकारी दिए । तालीम पाएका पत्रकारमध्येबाट १५ जना छनोट गरेर लेखनवृत्ति दिइएको छ । 

लेखनवृत्ति पाएका पत्रकारले तयार पारेको पुनःनिर्माणसम्बन्धी ४५ वटा समाचारको सङ्ग्रह पनि दाहालले प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई हस्तान्तरण गरे । पत्रकारले भूकम्प प्रभावित जिल्लामा पूर्वाधार, आवास, निर्माण सामग्री, स्वास्थ्य, खानेपानी, सरसफाइ, सांस्कृतिक सम्पदालगायत क्षेत्रमा भइरहेको पुनःनिर्माणको समाचार सामग्री तयार पारेका छन् । 

लेखनवृत्ति पाएका पत्रकारले तयार पारेको पुनःनिर्माणका समाचारलाई पत्रकारद्वय हस्त गुरुङ र धर्मेन्द्र झाले मार्गनिर्देशनसहित अन्तिम रुप दिएका थिए । 
 

प्रतिकृया दिनुहोस