एक्स्ट्रा प्राथमिकता खोज्दा एक्स्ट्रा टेन्सन हुन्छ

 एक्स्ट्रा प्राथमिकता खोज्दा एक्स्ट्रा टेन्सन हुन्छ

नेपालमा वार्षिक १ सयभन्दा धेरै चलचित्र रिलिज हुन्छन् । निर्माणको ग्राफ यसको दोब्बरभन्दा माथि छ । यी अधिकांश चलचित्रका निर्देशक पुरुष छन् । महिला निर्देशक हुँदै नभएका त होइनन् तर उनीहरुको संख्या गणना गर्न हातका औंला नै काफी छन् । निर्देशनका लागि आफू अब्बल भन्ने  महिलाले पनि निर्देशनलाई निरन्तरता दिन सकिरहेका छैनन् । यो वर्ष महिला निर्देशकका चलचित्र धमाधम लागिरहेका छन् । संगीता श्रेष्ठको ‘कथा काठमाडौं’ प्रदर्शन भइसकेको छ भने दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ प्रदर्शन भइरहेको छ । यसअघि रेनेशा राई निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । बक्स अफिसमा राम्रो कलेक्सन गरेको चलचित्र बनाउन सफल रेनेशासँग चलचित्र र यसकै सेरोफेरोमा केन्द्रित भएर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

डेब्यू चलचित्र निर्देशनको ‘अफर’ कसरी आएको थियो ?
चलचित्र निर्माण संस्था आइकोरले चलचित्र निर्माण गर्ने निर्णय गरिसकेको थियो । आइकोरले मलाई अफर गरेको भन्दा मैले उसलाई अप्रोच गरेको हुँ । जोसँग काम गर्ने विचार र तरीका मिल्छ उसँग काम गरौं भन्ने मेरो मनमा आयो । आइकोरसँग म नजिक पनि छु । कोरियोग्राफी पनि मैले आइकोर ब्यानरकै ‘मेरो एउटा साथी छ’ बाट सुरु गरेको थिएँ । निर्देशन पनि आइकोर ब्यानरबाटै गरौं भन्ने लाग्यो । त्यसैले पनि मैले आफैले अप्रोच गरेको थिएँ । 

तपार्ईंले मलाई निर्देशन गर्न दिनुस् भन्दा शुरुमै आइकोरले विश्वास गर्‍यो ?

मलाई उहाँहरुले नजिकबाट चिन्नुहुन्थ्यो । मेरो काम गर्ने तरीका पनि उहाँहरुलाई थाहा थियो । कोरियोग्राफरका रुपमा कस्तो काम गरिरहेको छु  भन्ने बारेमा उहाँहरु जानकार हुुनुहुन्थ्यो । कोरियोग्राफी गर्दा लभ सङ्, आइटम सङ्, स्याड सङ्  लगायतका फरक–फरक प्रकारको गीतमा काम गरिएको छ । फरकफरक तरिकाले काम गर्दा करिब एक दशकको मेरो अनुभवका आधारमा सायद मैले काम गर्नसक्छु भन्ने उहाँहरुलाई लाग्यो होला । त्यही भएर पनि आइकोरले नाईं भन्न सकेन । 

कोरियोग्राफी र निर्देशन त फरक–फरक कुरा हुन् नि !

यही दुईबीच पक्कै पनि जती फरक छ त्यती नै अप्ठ्यारो पनि छ । चार मिनेटको गीतको कोरियोग्राफी गर्न तीन चार दिन लगाउँथ्यौं । तर, अढाई घण्टा लामो चलचित्र निर्माण गर्न ६ महिनाको पूर्वतयारी, दुई महिनाको सुटिङ, एडिटिङ, कलरिङ, पब्लिसिटी र रिलिजसम्म पुग्दा करिब एक वर्ष लाग्छ । गीतको सुटिङमा दुई जना कलाकार लिएर काम गरेजस्तो हुँदैन चलचित्र बनाउन । 

कहिल्यै सोच्नु भएको थियो, एक दिन चलचित्र निर्देशक बन्छु भन्ने ?

सोचेको थिएँ । योजना बनाएर काम गर्ने बानी छ । दुईतीन वर्ष अगाडि देखि नै तिमीले निर्देशन गर्न सक्छौ भन्ने प्रतिकृया चलचित्र उद्योगकै व्यक्तिले दिनुहुन्थ्यो । त्यो बेला देखि नै मलाई रुची थियो । तर, त्यो बेला म तयार भइसकेको थिइँन । अहिले आएर म गर्न सक्छु भन्ने आत्मविश्वास भयो । कोरियोग्राफी गरेको १० वर्ष भएपछि अब ‘लेभल’ पनि बढाउनुपर्छ भनेर निर्देशन गर्ने निर्णय गरेको हुँ ।

पहिलो चलचित्रलाई सफल मान्नुहुन्छ कि असफल ?

हलमा पुगेर दर्शकको विचार बुझ्दा सतप्रशित राम्रो प्रतिकृया पाएँ । तर, फिल्म मेकरको हिसावले हेर्दा म आफै पनि धेरै कुराहरु तलमाथि भएको पाउँछु । धेरै कमिकमजोरी म आफैं पनि देखिरहेको छु । यसरी कमिकमजोरी देख्नु भनेको आगामी चलचित्रमा परिस्कृत हुँदै जान बोटो खोज्नु पनि हो । बक्स अफिसमा राम्रो भयो । सबैले तारिफ गर्नुहुन्छ । तर मनको कुनामा कताकता के के नपुगेको, सोचे जस्तो चलचित्र बनाउन नसकेको आफैंलाई फिल हुन्छ । फिल्म मेकरहरुसँग कुरा गर्दा उहाँहरुले हामी दिमागले फिल्म हेर्छौं त्यही भएर कमिकमजोरी देख्छौं । तर दर्शकले मनले हेर्छन् । मेकरको  आँखाले हेर्दा सुधार गर्नुपर्ने धेरै कुरा छन् । 

आगामी चलचित्रपनि ‘इन्टु मिन्टु लण्डनमा’कै फर्मुलामा  बनाउनु हुन्छ कि नयाँ कथा बोकेर आउँछ  ?

यो पुरानो कथा हो भन्ने हामीलाई थाहा थियो । बामे नसरी हिँड्न खोज्यो भने सकिंदैन । पहिलो चलचित्र भएकाले साधारण विषयलाई असाधारण तरिकाले प्रस्तुत गर्न सकियो भने सफल भइन्छ कि भइँदैन भन्ने थियो । तर, सफल भइयो । अब भोलिका दिनमा अझ गहिराइमा गएर काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । फिल्म मेकरका हिसावले

नेपाली चलचित्रको कमजोर पक्ष के रहेछ ? 

कथा /पटकथा मै कमजोरी छ । साँच्चै राम्रो चलचित्र बनाउँ, यसमै केन्द्रित हौं, चलचित्रमै करिअर खोजौं भनेर लाग्ने निकै कम छौं । हामीले अहिले पनि कुनै एउटा चलचित्र चल्यो भने सबै त्यस्तै चलचित्र बनाउतर्फ लाग्छौं । सबैमान्छे सबै विधामा पूर्ण हुँदैनन् । त्यसैले आफूले नजानेको विधामा पनि हात हाल्दा राम्रो चलचित्र बनाउन सकिएन जस्तो लाग्छ । 

खोजे जस्तो कथा भेटिएन कि खोज्ने प्रयास नै भएन अर्थात् निर्देशकीय कमजोरी हो ?

सायद सबै पक्ष जोडिएर आउँछन् होला । हामीसँग राइटर पनि छैनन् । कहिलेकाँही राम्रो कथा उपयुक्त व्यक्तिको हातमा परेको छैन । चलचित्र राम्रो हुन चलचित्रका हरेक पक्ष मिल्नुपर्छ । हाम्रोमा कथा राम्रो भए निर्देशक राम्रो नहुने, निर्देशक राम्रो भए खोजेजस्तो कथा नहुने । कथा र निर्देशक राम्रो भए कलाकार राम्रो नहुने जस्ता कुराहरु नमिलेका कारण पनि राम्रा चलचित्र बन्न सकेनन् जस्तो लाग्छ । 

कथा नै भेटिएनन् कि हामीले भएको कथालाई किन्न कन्जुस्याँइ गरिरहेका छौं ?

मेरो विचारमा चलचित्रको कथा र स्क्रिप्ट राइटिङ पढेको व्यक्ति त्यति धेरै हुनुहुन्छ जस्तो लाग्दैन । कथा र उपन्यास लेख्ने एक सय एक हुनुहुन्छ तर त्यसलाई पर्दामा उतार्न गाह्रो छ ।

उपन्यास र कथालाई चलचित्रमा ढाल्नसक्ने निर्देशकीय क्षमता हाम्रा निर्देशकमा नभएको पो हो कि ?

दुवै पक्ष छ । राम्रो कथा र उपन्यासलाई चलचित्रमा ढाल्न नसक्नु हामी निर्देशकको पनि कमजोरी हो । लेखकहरुले पनि यसलाई चलचित्रको कथामा ढाल्न नसक्नु उहाँहरुको कमजोरी हो । 

महिला भएकै कारण चलचित्र निर्देशन गर्न कठिनाई हुँदो रहेछ ?

महिला भएकै कारण चलचित्र निर्देशन गर्न अप्ठ्यारो छैन । नेपाली समाज अहिले ओपन भइसकेको छ । महिला निर्देशक भनेर नटेर्ने र हिनताबोध पालेर कोही सेटमा बस्नु हुन्छ जस्तो लाग्दैन । हामी महिला आफैले गर्ने ब्यबहारमा पनि भर पर्ने कुरा हो । मैले म महिला निर्देशक हुँ भनेर एक्स्ट्रा प्राथमिकता खोज्छु भने त्यो एक्स्ट्रा प्राथमिकतासँगै आउने एक्स्ट्रा टेन्सन लिन पनि तयार हुनुपर्छ । महिला नभनी जिम्मेवारी वहन गर्ने हो भने समस्या आउँदैन । 

त्यसो भए महिला निर्देशकको संख्या किन कम छ ? धेरैले निरन्तरता दिन सक्नु भएन नि !

महिलाले पारिवारीक जिम्मेवारीका कारण धेरै समय कामलाई दिन सक्नु हुन्न । विवाह गरिसकेपछि पुरुषको तुलनामा महिलाको पारिवारीक जिम्मेवारी दोब्बर भएर जान्छ, यो नै मुख्य कारण हो । 

प्रोडुसरले महिला निर्देशकलाई कत्तिको विश्वास गर्छन् ? 

राम्रो चलचित्र बनाएर आफूलाई प्रमाणीत गर्न सक्नु भयो भने त समस्या छैन । मेरो पहिलो चलचित्र सफल भएपछि अहिले मलाई धेरैले सँगै काम गरौं भनिरहनु भएको छ । यसलाई प्रमाणका रुपमा लिन सकिन्छ । राम्रो काम गर्नेलाई  प्रोडुसरको खाँचो छैन । विजनेश हो, जसमा लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुन्छ त्यहाँ लगानी गर्ने हो सबैले । 

कला साहित्यको कुनै जाती, भाषा, लिङ्ग र क्षेत्र हुँदैन भनिन्छ । चलचित्र कला हो भने खैरो कपाल भएको विदेशीले नेपाली चलचित्र किन प्रतीक्षा गरेर बस्दैन ?

नेपाली चलचित्र क्षेत्रलाई विकास गर्नका लागि राज्यको पनि हात हुन्छ । विदेशमा चलचित्र प्रदर्शनका लागि हामीले जुन किसिमको प्ल्याटफर्म खोजिरहेका छौं त्यसमा राज्यले सहयोग गरिरहेको छैन । 

नेपालमा अझै पनि हामी वाह्य चलचित्रबाट त्रसित छौं । जुनसुकै देशमा आफ्नै देशको चलचित्र सँधै पहिलो प्राथमिकतामा हुन्छ । अक्सर विदेशका स्पेसल चलचित्र मात्रै रिलिज गरिन्छ तर हाम्रो देशमा हामी एक करोडमा बनेको चलचित्रले दुई सय करोडमा बनेको चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्छ । 

विदेशमा लगेर मैले मेरो चलचित्र देखाउन खोजेँ भने त्यहाँ रहेको नेपाली नियोगले केही पनि सहयोग गर्दैन । तर, अरु देशका सरकारले गर्छन् । सरकारी नीति पनि चलचित्रमैत्री हुनुपर्छ । सरकार ब्रेन हो हामी त एउटा अंग मात्रै हौं । ब्रेनले अंग चलाउने हो । ब्रेनले नै काम नगरेपछि अंगले कसरी काम गर्छ र ? विदेशमा देखाउन सकिने चलचित्र बनाउन नसकिएको होइन, सरकारी ब्याकअप नभएका कारण हाम्रा चलचित्र नेपालमै सीमित भइरहेका छन् । 

तस्बिर : सौरभ रानाभाट

प्रतिकृया दिनुहोस