अन्तर्वार्ता

रामवीर बिक्यो होला र ! पार्टीका लागि सांसद होइन सदस्यता समेत बुझाउन तयार छु 

रामवीर बिक्यो होला र !  पार्टीका लागि सांसद होइन सदस्यता समेत बुझाउन तयार छु 

दसैँको मुखमा वामदेव गौतमलाई उपनिर्वाचन लडाउन काठमाडौँ–७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन लागेको प्रसंगले मुलुकको राजनीति गर्मायो ।

पराजित नेतालाई सांसद बनाउने बाटो खोल्नकै लागि निर्वाचित सांसदले राजीनामा दिने कुरा प्रजातान्त्रिक मूल्य– मान्यता र लोकतान्त्रिक विधि–प्रक्रिया विपरित हुने बताउँदै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रै र सामाजिक सञ्जालमासमेत तीव्र असन्तुष्टि पैदा भएपछि पार्टी त्यसबाट ‘ब्याक’ भयो । र, अहिले छलफल गर्नुनपर्ने भन्दै विषयको ढोका तत्कालका लागि बन्द गर्‍यो ।

यद्यपि वामदेवलाई सांसद बनाउने ‘च्याप्टर क्लोज’ नभइसकेको चर्चा ने क पाभित्रैबाट हुन थालेको छ ।

वामदेव प्रकरणसँगै जोडिएर एकाएक चर्चामा आएपछि रामवीरले आफूलाई तेजोवध गरिएको तर्क गर्न थालेका छन् ।

आफू पार्टीले खटाएको ‘सिपाही’ भएको र पार्टीलाई आवश्यक पर्दा राजीनामा दिने मनशायको दुई लाइनको पत्र लेख्दा सरकार गिराउने षड्यन्त्रका रूपमा अर्थ्याउँदै अनेक कथा–उपकथा बुनिएको भन्दै दुखेसो पोख्न थालेका छन् ।

यिनै सन्दर्भमा अक्षर काकाले गरेको कुराकानी –

वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गराउन कसरी राजी हुनुभयो ?

अब धेरै लुकाइरहनु परेन । वामदेव गौतमले उपनिर्वाचन लड्नका लागि धेरै ठाउँ खोज्दै आउनु भएको थियो । राष्ट्र र संसद दुवैका लागि उहाँको आवश्यकता–बोध मलाई नभएको होइन ।

तर, बाहिर काठमाडौँ–७ र रामवीरलाई मात्रै यो प्रसंगमा जोडेर तेजोवध गर्ने काम भयो ।

यहाँनेर बुझ्नुपर्ने तथ्य के हो भने– म पार्टीको इमान्दार र नैतिकवान् सिपाही हुँ । प्रगतिशील आचरण मेरो प्रिय कुरा हो ।

२०४९, २०५१, २०७० र २०७४ जितका यी शृंखला पार्टीकै कारण सम्भव भएको हो । ०४९ र ०५१ मा वडाध्यक्ष निर्वाचित भएँ । ०७० र ०७४ मा प्रतिनिधिसभा सदस्य ।

यो पार्टी र जनता दुवैको विश्वासको प्रतिफलसमेत हो । मलाई जति पार्टीले विश्वास सायदै कसैलाई गरेको छ । पार्टीले मप्रति यत्रो विश्वास गरेको छ र मैले पनि पार्टीलाई विश्वास गर्नुपर्छ भन्ने भाव अन्तरमनमा जागृत भयो । 

काठमाडौँ–७ वामपन्थीहरू अपराजित रहेको ठाउँ हो । राजधानी । केन्द्रसँगै गाँसिएको । विकासको सम्भावनाहरूले अत्यन्त सुसज्जित । पार्टीको नेतृत्व तहमा रहनुभएको नेता उपनिर्वाचनमा आएर लड्दा, सांसद बन्दा राष्ट्र र मुलुक निर्माणमा भूमिका खेल्न सहज हुन्छ भन्ने लागेपछि त्यसको सहयोगी किन नबन्ने भन्ने प्रश्न मभित्र पैदा भयो । त्यसैको फलस्वरूप मैले आफ्नै स्वविवेक प्रयोग गरेर, कसैसँग परामर्श नगरी राजीनामा दिने मनशायमा पुगेँ  ।

त्यस्तो निर्णयमा पुग्नुको पछाडि अमुक व्यक्तिलाई सांसद् बनाउनमात्रै होइन । पार्टीलाई एकढिक्का बनाउनु पनि थियो । घरतुल्य पार्टी मिलाउनु पनि थियो । पार्टीभित्र झाँगिदै गएको असन्तुष्टि किनारा लगाउन र समाजवादको यात्रा तय गर्न पार्टी एकढिक्का छ है भनेर सन्देश दिने उपयुक्त अवसर ठानेँ मैले ।

अतः मैले पार्टीसँग लिखित अनुमति मागेँ । असोज २२ गतेको सचिवालयको बैठकमा त्यो प्रस्तुत भयो । बैठक बिनानिष्कर्ष दुई दिनका लागि सर्‍यो ।

हामी सबैलाई थाहा छ– वामदेव गौतमले आफ्नो हारको समीक्षाको माग गर्नुभएको छ । कुनै ठाउँ खोजेर निर्वाचन लड्ने मनशाय व्यक्त गर्नुभएको छ । तर, त्यो पार्टीभित्रको आन्तरिक कुरा थियो । पार्टीभित्रै छलफल गरेर निष्कर्ष निकाल्ने कुरा थियो । मैले अनुमति पत्र बुझाएको पनि पार्टीभित्रै छलफलकै लागि हो ।

विडम्बना ९ जनामात्रै नेता रहेको सचिवालयको बैठकमा पनि गोप्य रहन सकेन । बाहिर छरपस्ट बनाइयो । त्यतिमात्रै होइन नेताविशेषका असन्तुष्टि र आक्रोशविरुद्ध पो प्रयोग भयो । यस घटनाले पार्टी पद्धतिको मात्रै धज्जी उडाएको छैन । पार्टीको आन्तरिक जीवनमाथि नै प्रश्नचिह्न खडा गरेको छ । कम्युनिस्ट पार्टीको अनुशासनलाई धूलो चटाएको छ ।

तपाईंले कुनै नेता विशेषसँग राजीनामा दिने कुरा बताउनुभयो कि, पार्टी नेतृत्वसँगै ?

पहिलो– मैले नै वामदेव गौतमलाई पार्टीले आवश्यक ठान्छ भने राजीनामा दिन्छु भनेको हुँ । यस विषमा पार्टी अध्यक्ष, महासचिव अन्य सचिवालयका कुनै नेतासँग व्यक्तिगत हिसाबले भेटेर परामर्श गरेको छैन । गर्न आवश्यक पनि ठानिनँ । निर्वाचन क्षेत्रका नेता–कार्यकर्ता । यहाँसम्मकी मैले मेरो घरपरिवारसँग पनि यस विषयमा सल्लाह गरेको होइन ।

मेरो कुरा पार्टी नेतृत्व तहमै छलफल होस् र त्यहाँबाटै निष्कर्ष आओस् भन्ने थियो ।

दोस्रो– नेतृत्व कसलाई भन्ने ? सचिवालयमा रहेका नौ जना नेता नेतृत्व होइनन् ?

राजीनामा दिने विषयबारे संसदीय दलका नेतासँग समेत परामर्श गर्नुभएन भन्ने आरोप छ नि ?

पहिलो–  हामी कति सङ्कुचित छौँ भन्ने कुराको दृष्टान्त हो यो । हाम्रो पार्टीमा अहिले दुईजना अध्यक्ष हुनुहुन्छ । उहाँहरू दुवैको भूमिका बराबर हो । हैन भने पार्टीका नेताले भनिदिनुपर्‍यो– फलानो अध्यक्षको भूमिका, फलानोको भन्दा कम हो ।

मैले कुन अध्यक्षलाई एक नम्बरको अध्यक्ष मान्ने हो त्यो भनिदिनुपर्‍यो ।

दोस्रो– मैले बारबार भन्दै आएको छु– राजीनामा दिने कुरा मेरा स्वेच्छा हो । मैले यससम्बन्धमा कसैसँग परामर्श गरेको छैन ।

पार्टीको सर्वेसर्वा दुईजना अध्यक्ष हुनुहुन्छ, उहाँहरू दुवैलाई सम्बोधन गरेर पत्र लेखेको थिएँ– आवश्यक परेको खण्डमा राजीनामा दिनका लागि अनुमति पाऊँ । यसको छिनोफानो सचिवालयले गर्नुपर्थ्यो, गर्‍यो पनि ।

राजीनामा दिनेनदिने कुरा तपाईंको व्यक्तिगत कुरा थिएन, पार्टीको मात्रै कुरा पनि होइन, निर्वाचन क्षेत्रका जनताको अभिमतसँग गाँसिएको कुरा थियो । आफूलाई जिताउने मतदातालाई सोध्नसमेत आवश्यक ठान्नुभएन, किन ?

पहिलो– पार्टीले टिकट नदिएको भए म जित्दैनथेँ । दोस्रो– काठमाडौँ–७ का जनताले मलाई होइन, पार्टीलाई मत दिएका हुन् । पार्टीले राजीनामा दिन लगाएर अर्कोलाई उमेदवार बनाउँदा म स्वभाविक रूपमा फिर्ता हुनुपर्थ्यो ।

जनताले मलाई विकासको आशले जिताएका हुन् । समृद्धि र विकास नै उहाँहरूको सपना हो । रामवीर मानन्धरलाई सांसद बनाउनमात्रै उहाँहरूले मत हाल्नुभएको होइन ।

हेर्नुहोस्, अहिले पनि ४० लाख युवा खाडीमा छन् । रोजगारीको खोजीमा दिनहुँ भौतारिइहनुपर्ने अवस्था छ । हामीले लगाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा कहाँ अलपत्र पर्‍यो, सांसदलाई समेत थाहा छैन ।

जनताको सपना पूरा नभएको अवस्थामा निर्वाचन क्षेत्रको विकासमा कोशे ढुंगा स्थापित गर्न सकिन्छ कि भन्ने मेरो अभिष्ट हो । काठमाडौँ–७ मा रामवीर मानन्धरमात्रै सांसद् बनिरहनुपर्छ । लठ्ठि टेकेर भए पनि रामवीर नै निर्वाचित हुनुपर्छ भन्ने त छैन नि ! मुख्य कुरा काठमाडौँ–७ को विकास नै हो ।

जनताको चाहना पनि यही हो । निर्वाचन क्षेत्रको विकास हुन्छ । समृद्धिको सपना पूरा हुन्छ भने भनेर उनीहरूले ने क पालाई भोट दिएका हुन् । रामवीर मानन्धरलाई व्यक्तिगत हिसाबले भोट दिएका होइनन् । विकास र समृद्धिका लागि भोट दिएका हुन् । 

अतः म हिजो मात्रै होइन आज पनि भन्छु– पार्टीले आवश्यक ठान्छ भने म जहिल्यै राजीनामा गर्न तयार छु ।

भनेपछि निर्वाचन क्षेत्रको विकासका लागि मैले केही गर्न सकिनँ भन्ने तपाईंको निष्कर्ष हो ?

फेरि पनि तपाईं त्यहीँ हुनुहुन्छ । निर्वाचन क्षेत्रको विकासका लागि व्यक्ति र एउटा सांसद केही होइन । मूलतः पार्टी र सरकार नै हो । सरकारले चासो दिएन भने व्यक्तिगत रूपमा रामवीरले के गर्न सक्छ ? पार्टीले तदारूकता देखाएन भने सांसदको भूमिकाले मात्रै निर्वाचन क्षेत्रको विकास कसरी सम्भव छ  ?

अहिले पनि काठमाडौँ–७ का जनतासँग सोध्नुहोस्– सरकारले काम गर्न सकेको छ कि छैन ? सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्न सकेको छ कि छैन ? उहाँहरूले सटिक उत्तर दिनुहुनेछ ।

यसको प्रमुख कारण भनेको हामीले घर (पार्टी) नै मिलाउन सकेका छैनौँ । नेताहरूलाई नै मिलाएर राख्न सकेका छैनौँ । रोगले ग्रस्त छौँ । आफैँ तन्दुरुस्त नभई जनताको सपना कसरी पूरा होला ?

दुईपटक सांसद जित्नुभयो मन्त्री राज्यमन्त्री त परै जाओस् संसदीय समितिको सभापतिसमेत बन्नुभएन । दुई वर्षपछि राष्ट्रियसभामा जाने र मन्त्री बन्ने लोभमा सांसद पद ‘लेन–देन’ गर्नुभयो भन्ने आरोप छ नि !

जस–जसले आरोप लगाउनुभयो उहाँहरूले नै जान्ने कुरा हो यो । यसको खण्डन गर्नुको कुनै उपादेयता देखेको छैन मैले । किनकि यसको ‘च्याप्टर क्लोज’ भइसकेको छ । पार्टीले नै यस विषयमा अहिले निर्णय गर्नुपर्दैन भनेपछि कोट्याइरहनुको जरुरत पनि देख्दिन मँ ।

रामवीर बिक्यो, या बिक्ला भनेर काठमाडौँ–७ बाहिरका जनता–नेता–कार्यकर्तालाई लाग्ला । तर, काठमाडौँ–७ का मतदाता र विपक्षी नेता–कार्यकर्तासमेतलाई बुझ्नुभयो भने यसको उत्तर पाइहाल्नुहुन्छ ।

मैले मन्त्री, सांसद या बाहिर प्रचार भएजस्तो केन्द्रीय सदस्य बन्नका लागि सांसद पदबाट राजीनामा गर्न लागेको थिइनँ । राजीनामाका पछाडि एकतालाई सुदृढ बनाउने, ने क पालाई समृद्ध बनाउने चाहनामात्रै थियो ।

मैले राजनीतिक गरेर यावत कुराहरू गुमाएँ होला तर पार्टीभित्र हुर्कंदै गरेका मेरा विरोधीहरूले बुझून्– मैले अहिलेसम्म नगुमाएको र बचाइरहेको नै नैतिकता र इमान्दारिता हो । र, म बाँचेको पनि त्यसैले हो ।

भनेपछि मन्त्री बन्ने चाहना मर्‍यो !

सम्भावना झन् बलियो भयो नि ! राजीनामा दिन परेन । सांसदबाट पार्टीले ‘हट्’ भनेको भए पनि मर्‍यो भन्न सुहाउँथ्यो । सांसदमा बहाल रहुञ्जेल सम्भावनको ढोका उघारै हुन्छ ।

प्रधानमन्त्री बन्न संसदीय दलकै नेता हुनुपर्ने हुनाले मिलेन । उपप्रधानमन्त्रीसम्म बन्न सक्छु । मन्त्रीको के कुरा भयो र ! पार्टीले निर्णय गरेर दिने कुरा लिन रामवीरलाई कुनै हिच्किचाहट छैन ।

संसदीय समितिको सभापति बन्नचाहिँ किन सक्नुभएन ?

यसविषयमा मैले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै कुरा राखेको छु । अहिले बनेका सभापतिहरू भन्दा कुनै पनि हिसाबले म अयोग्य थिइनँ । तर, प्रधानमन्त्रीले मलाई योग्य देख्नुभएन ।

कुनै सभापतिका बारेमा त सार्वजनिकरूपमै टिप्पणी, गुनासो सुनिएको छ । उनीहरूको आचरणसँग जोडिएर, गाँसिएर आएका प्रश्नमा समेत आँखा चिम्लिएर उनीहरूलाई जिम्मेवारी दिने काम भएको छ । यसबारेमा म पार्टीको फोरममै कुरा राख्नेछु ।

पार्टीभित्र कुरा उठ्ने गरेको छ– रामवीर मानन्धर धेरै ‘शक्ति केन्द्र’ धाउने गर्छन् । साँचो हो ?

म पार्टीको जिम्मेवारीको हिसाबले प्रस्तावित जिल्ला कमिटी सदस्य मात्रै हो । ‘शक्ति केन्द्र’ कसलाई भन्छ र हाम्रा नेताहरूले कसलाई मान्छन् ? म के जानौँ ?
जुनजुन नेताले यसबारेमा चर्चा गर्नुभएको छ, शायद उहाँलाई थाहा होला– ‘शक्ति केन्द्र’ कुन हो ।

जो–जो त्यहाँ धाउनुहुन्छ, उहाँहरूको मनमा चिसो पस्नु स्वभाविकै हो । कतिलाई मलाई उछिन्न लाग्यो कि, या मेरो पोल खुल्ला कि भन्ने भयले निद्रा गुमनाम भएको हुन सक्छ र त्यसैको छटपटि शुरू भएको छ । वास्तवमा जो शक्तिकेन्द्रै आडमा पदमा पुगेका छन्, प्रतिष्ठा कमाएका छन्, तिनीहरूले नै ममाथि यो ‘चार्ज’ लगाएका हुन् ।

यससम्बन्धमा त मैले पार्टीका जिम्मेवार नेतालाई आग्रह गरेको छु– सचिवालयको बैठकमा बोलाएर मलाई केरकार गर्नुहोस् ।

तर, मेराबारेमा अनर्गल प्रचार भइरहेको छ । ‘भारतीय ग्रान्ड डिजायन’ भन्दै तेजोवध गर्ने काम भएको छ । मबाट गल्ती भएको छ भने सांसद पदबाट राजीनामा मात्र होइन पार्टीको सदस्यता नै बुझाउन तयार छु ।

सरकारले ठीक ढंगले काम गर्न नसक्ने तर ‘शक्ति केन्द्र’ले सरकार गिराउन लाग्यो भनेर थरथरी काप्ने र ‘डिप्रेसन’मा जान त भएन नि !

राजीनामा दिने प्रसंगले जनताको बीचमा जान अप्ठ्यारो भयो होला नि, मानन्धर गुठीले त सम्मान नै फिर्ता लिने निर्णय गर्‍यो !

यसमा पनि अतिरञ्जित प्रचार भयो । वास्तवमा ठःहिटी टोलमा रहेको केही मानन्धरले यस्तो निर्णय लिएका हुन् ।

त्यहाँ रहेका २४ मानन्धर परिवारमध्ये ८ जनाले सम्मान फिर्ता गरेको निर्णय गर्नुभएको रहेछ । मैले फेसबुकमार्फत थाहा पाएँ । तर, उहाँहरूले के सम्मान गर्नुभएको थियो, मलाई थाहा छैन । उहाँहरूलाई नै जान्नु होला ।

पछि मैले बुझेँ– उहाँहरूलाई राजीनामा नै दिइसकेको भन्ने परेछ । तर, मैले त पार्टीसँग अनुमतिमात्रै मागेको थिएँ ।

उहाँहरूले हतारमा असन्तुष्टि जनाउनुभयो । मानन्धर समुदाय देशकै प्रतिष्ठित समुदाय हो । हतारमा निर्णय लिने र फुर्सदमा पछुताइ बस्ने सुविधा हामी मानन्धरलाई छैन ।

पार्टी पुनः वामदेव गौतमका लागि निर्वाचित खाली गराउने निर्णयमा पुग्यो भने सांसद पदबाट राजीनामा दिनुहुन्छ ?

यससन्दर्भमा मैले अघि नै भनिसकेँ– पार्टीले आवश्यक ठान्छ भने म राजीनामा दिन सधैँ तत्पर छु ।

कारण मैले आजीवन काठमाडौंँ–७ को सांसद हुन्छु भनेर भनेको पनि छैन । आन्दोलनले निर्माण गरेको नेता हुँ । कसैको निगाहमा र कसैको उत्तराधिकारी बनेर राजनीतिमा आएको होइन । कफ्र्युको घेरा तोडेर, गोलीको पर्रा पन्छाएर यहाँसम्म आइपुगेको छु । काठमाडौँ–७ को विकासका अघिल्तिर मेरो सांसद पद निकै गौण कुरा हो ।

एकान्तमा बस्दा मलाई देशको चिन्ताले पिरोल्छ । सांसद बनेकोमा पश्चाताप हुन्छ । कहिलेकाहीँत बेकारमा बनेछु भन्ने पनि लाग्छ । देश त बनेन नि ! जनताले दुई तिहाइ मत दिएर जिताए तर हामी आफ्नै समस्यामा अल्झिएर बसेका छौैं ।

हाम्रो समस्यासँग जनतालाई के सरोकार ? उहाँहरूलाई त विकास चाहियो । रोजगारी चाहियो ।

त्यसो भए सरकार र पार्टीको कार्यशैली दुवैप्रति असन्तुष्ट हुनुहुन्छ ?

म पार्टीको कार्यकर्ता र सांसदभन्दा पहिला जनता हुँ । देशका जनताले जे समस्या भोगिरहेका छन्, त्यो मेरो पनि समस्या हो ।

म मौन छु । मैले सरकारप्रति असन्तुष्टि पोखेको छैन । तर, म मौन रहँदा अरू चुप लागेका छन् त ? सरकारको आलोचना सार्वजनिक रूपमा भइरहेको छ । झन् बाक्लिँदै गइरहेको छ ।

सरकार गठन हुँदा सर्वत्र खुसीयाली थियो । सबै उत्साहित थिए । तर, एक महिना पनि टिकेन त्यो खुसी । सरकारलाई प्रतिपक्षीले कमजोर बनाएको होइन । अरू विपक्षीले पनि सरकारको त्यति आलोचना गरेको सुनेको छैन ।

सरकार त आफ्नै निर्णयका कारण गतिहीन बन्न पुग्यो । एउटा निर्णय गर्ने, त्यसमा हप्तादिन पनि अडिन नसक्ने ! कसरी परिणाम देखिन्छ ?

सरकारको मन्त्रीको भनाइ सुन्नुभयो होला– एक ठाउँको कर्मचारी अर्को ठाउँमा सरुवा हुन मानेन रे ! हेर्नुहोस् त दुईतिहाई बहुमतप्राप्त सरकारको हविगत !

अतः जनता जतिबेलासम्म सन्तुष्ट हुँदैनन् त्यतिबेलासम्म रामवीर पनि असन्तुष्टै रहन्छ ।
 

तपाईंको मत