विचार

अभिलेखमा नेपाली वर्ण विन्यास

शर्वराज आचार्य

अभिलेखमा नेपाली वर्ण विन्यास

नेपाली भाषाको लिखित इतिहास प्रारम्भ भएको हजार वर्षभन्दा धेरै भयो । विसंं १९६९ पूर्व यस भाषाको लेखनमा एकरूपीकरण प्रारम्भ भएको देखिँदैन । विसंं १९६९ मा प्रकाशित हेमराज पण्डितको ‘चन्द्रिका गोरखा भाषा व्याकरण’ देखि व्याकरणिक निर्देशनका आधारमा नेपाली वर्ण विन्यासको औपारिक युग प्रारम्भ हुन्छ । अहिले नेपाली भाषाको मानक लेखनको औपचारिक इतिहासले सय वर्ष पूरा गरेको छ । अर्थात् चन्द्रिका व्याकरण प्रकाशित भएकाले विसं १९७० देखि नेपाली वर्ण विन्यासको मानकीकरणले एक शताब्दी पूरा गरेको हो । विगत १ हजार वर्षमा पहिलो अभिलेख अवस्था, दोस्रो हस्त लिखित अवस्था र तेस्रो मुद्रण अवस्था पार गर्दै  नेपाली भाषा नेपाली वर्ण विन्यासको मानकीकरणमा प्रथम चरण (वि.संं.१९६०— वि.संं.१९९०), द्वितीय चरण ( वि.संं.१९९१— वि.संं.२०३९) बाट हिँडेर तृतीय चरण (वि.संं.२०४०—हालसम्म) तर्फ गतिशील छ । चरणबद्ध रूपमा पनि नेपाली वर्ण विन्यास चलायमान रहेको देखिन्छ । 

चलायमान हुँदै गतिशील वर्ण विन्यासलाई यस लेखमा चर्चा गर्न खोजिएको छैन । यहाँ चन्द्रिका व्याकरणबाट औपचारिक मानकीकरण प्रारम्भ हुनुभन्दा अगाडि नेपाली भाषाले सर्वप्रथम पार गरेको लगभग ५७६ वर्षसम्मको अभिलेख अवस्था (वि.सं. ११५१— वि.सं. १७२७) को विन्यास सम्बन्धी प्रवृत्तिको चर्चा गर्न खोजिएको छ । यस चर्चाले अहिले चलायमान हुँदै गतिशील भएको नेपाली वर्ण विन्यासलाई प्रवृत्तिगत रूपमा नियाल्न सहयोग पुग्ने  ठानिएको छ ।  

यहाँ अभिलेख भनेर शिलापत्र, कनक पत्र र ताम्रपत्र र वि.सं.१७२७ सम्मका कान्तिपुरका राजा प्रताप मल्लको रानी पोखरीस्थित शिलालेखको समयलाई लिइएको छ । यसबीच शिलापत्र र तामाको पातामा लेखिएका नेपाली भाषामा वर्ण विन्यासको प्रवृत्ति के कस्तो थियो भनी हेर्ने प्रयास गरिएको  छ । वर्ण विन्यास सम्बन्धी औपचारिक नियम नदेखिएको त्यस समयका सामग्रीमा लेखनको प्रवृत्ति मात्र भेट्न सकिन्छ । तर, संस्कृत भाषामा व्याकरण भएकाले त्यसको लेखनमा औपचारिकता वा एकरूपता रहेको छ । अभिलेख अवस्थामा नेपाली  भाषालाई भाषा ठान्ने र भाषालाई जसरी लेखे पनि हुने दृष्टिकोण रहेको हुनुपर्छ । अभिलेख लेखकहरुको नाम हेर्ने हो भने धेरै जैसी, पण्डित, आचार्य, शर्मा, उपाध्याय, पन्थ, भट्ट ब्राह्मण थर र ज्योतिर्विद् एवं दैवज्ञ जस्ता पठित उपनाम देखिन्छन् । त्यहाँ अब्राह्मणले लेखेका अभिलेख पनि रहेका छन् । ब्राह्मणहरु पठित हुने भएकाले तिनको लेखाइमा संस्कृत भाषा लेखनमा देखिने वर्ण विन्यासको प्रभाव पर्नु स्वाभाविक हो । त्यसैले अभिलेख अवस्थाका नेपाली लेखनका तत्सम शब्दमा प्रायः संस्कृतानुसारी वर्ण विन्यास रहेको देख्न सकिन्छ ।  

तिनताका संस्कृत भाषाको परिस्कृत व्याकरण भएकाले सो  भाषा लेख्दा शुद्धसँग लेख्नु पर्ने  दृष्टिकोण  रहेकै हुनुपर्छ । त्यसैले संस्कृत भाषा भएका शिलालेखमा संस्कृत भाषा प्रचलित वर्ण विन्यास सम्बन्धी प्रायः शुद्धता भेटिन्छ । यसर्थ यस्तो शुद्धता सम्बन्धी चर्चा यस लेखमा प्रासङ्गिक हुन सकेन । नेपाली भाषामा प्रयुक्त तत्सम शब्द र नेपाली तद्भव शब्दको वर्ण विन्यास यस लेखको प्रासङ्गिकता हो । यसका निम्ति अभिलेखमा प्रयुक्त तत्सम र तद्भव शब्दहरुको सङ्कलन गरेर त्यस समयको वर्ण विन्यासगत प्रवृत्ति हेरियो । यसरी हेर्दा

नेपाली वर्ण विन्यासका निम्न प्रवृत्ति भेटिएको छ :

क. तत्सम शब्दमा तत्समानुसारी वर्ण विन्यास
अचेल तत्सम शब्द भनेर नेपालीमा प्रयोग भएका संस्कृत शब्दलाई भनिएको छ । तर नेपालीका परम्परागत व्याकरणकार हेमराज पण्डित, सोमनाथ सिग्द्याल, गोपाल पाँडे, रोहिणी प्रसाद भट्रराई आदिले तत्समको अर्थ अचेलका नेपाली शब्दकोश र व्याकरणकारले जस्तो संस्कृत भाषा विशेषमा केन्द्रित गरेका छैनन् । यिनीहरुले नेपाली भाषामा जुनसुकै भाषाबाट ध्वनि परिवर्तन नभईकन जस्ताको तस्तै रूपमा नेपाली भाषामा आएका शब्दलाई तत्सम भनेका छन् । यसले परम्परागत व्याकरण र आधुनिक व्याकरणमा तत्सम, तद्भव र आगन्तुक भन्ने शब्दस्रोतको वर्गीकरण सम्बन्धी दृष्टिकोण नै फरक पारेको छ । हामी अचेल तत्सम शब्द भनेर संस्कृत भाषाबाट नेपाली भाषामा ध्वनि परिवर्तन नभईकन लिखित वा मौखिक प्रयोग हुन आएका शब्द भन्ने बुझ्छौँ । यस्ता शब्द अभिलेख अवस्थाका नेपाली लेखनमा प्रशस्त भेटिन्छन् । ती शब्द प्रायशः पठित व्यक्ति वा ब्राह्मणबाट अभिलेखीकृत छन् । ती व्यक्ति संस्कृत व्याकरण लेखनसँग परिचित रहेको देखिन्छ किनभने तिनीहरुले लेखेका तत्तत् अभिलेखभित्रका संस्कृत लेखनमा वर्ण विन्यासगत  प्रायः अशुद्धि छैनन् । यसले अभिलेख लेख्ने व्यक्तिमा संस्कृत वर्ण विन्यास सम्बन्धी सचेत दृष्टिकोण रहेको देखाउँछ । यस दृष्टिकोणलाई अभिलेख लेखकले नेपाली तत्सम शब्दको लेखनमा पनि नक्कल गर्ने प्रयास गरेका छन् । अर्थात् अभिलेखमा प्रयुक्त संस्कृत तत्सम शब्दको वर्ण विन्यासमा तत्समीकरण गरेका छन् । यस्ता तत्सम शब्दहरु स्वस्ति, कीर्ति, शाके, शिष्ट, शाखा, एकादशी, धर्मशासन, सूर्यमल्ल, सर्वदोष, विशुद्ध, भूमि, भूमंडल, शिर, पश्चिम आदि थुप्रै छन् । 

प्रारम्भदेखि वि.सं.१७२७ को प्रताप मल्लको रानी पोखरी शिलालेखसम्म पुगेर अभिलेख अवस्थाका तत्सम शब्दहरु टिपोट गरी वर्ण विन्यास के कस्तो छ भनी हेरियो । त्यहाँ अभिलेखभित्र संस्कृत वाक्यमा प्रायः संस्कृतानुसारी वर्ण विन्यास प्रयोग भएको छ । नेपाली वाक्यमा प्रयोग भएका शब्दमा भने कतै तत्समानुसारी र कतै नेपाली उच्चारणानुसारी वर्ण विन्यास प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । अभिलेखका लेखकहरुले प्रायः तत्समानुसारी वर्ण विन्यास नै प्रयोग गरेका छन् । त्यस कारण नेपाली अभिलेखका तत्सम शब्दमा तत्समानुसारी वर्ण विन्यासको प्रयोग गर्ने प्रवृत्ति रहेको छ । 

ख. तत्सम शब्दको नेपाली उच्चारण अनुसार वर्ण विन्यास लेखन 

अभिलेखका नेपाली तत्सम शब्दमा तत्समानुसारी वर्ण विन्यास लेख्ने प्रवृत्ति मात्र होइन, नेपाली उच्चारण अनुसार वर्ण विन्यास गर्ने प्रवृत्ति पनि भेटिन्छ । यसमा पनि एकातिर असोक (अशोक), आदेस् (आदेश), नास (नाश), पुन्य (पुण्य), चिन्तामनि (चिन्तामणि), केसव (केशव), विर (वीर), टिका (टीका) जस्ता नेपाली उच्चारण अनुसार वर्ण विन्यास लेखिएका छन् भने अर्कोतिर पिच्छक (प्रेक्षक), विस्वदेउ (विश्वदेव) व्राह्मन (ब्राह्मण), छत्रु (शत्रु), विस्नुदास (विष्णुदास), देउराज (देवराज) जस्ता बोलीचालीको भाषा प्रयोग भएको पाइन्छ । यस्ता प्रयोगलाई प्राकृत व्याकरणले झैँ प्राकृत वा अपभ्रंश भाषा भन्न सकिन्छ ।  अभिलेखमा नेपाली शब्दको अपभ्रंशात्मक प्रयोग गर्ने प्रशस्त प्रवृत्ति छ । अद्यापि आधुनिक नेपालीले पनि प्रचलित संस्कृत शब्दको अपभ्रशात्मक प्रयोग गरेको देखिन्छ । यसलाई अपभ्रंशात्मक प्रयोग बाहेक कथ्य प्रयोग पनि भन्न सकिन्छ । कथ्यका प्रयोग बाहेक अभिलेख अवस्थाका लेखनमा माथि उल्लेख गरिए झैँ तत्सम शब्दका ण, दीर्घ इ वा उ, श वा षलाई नेपाली उच्चारण अनुसार व्रmमशः न, ह्रस्व इ वा उ र स आदि वर्ण विन्यास लेख्ने प्रवृत्ति रहेको देखिन्छ । 
ग. तत्सम शब्दमा पञ्चम वर्ण प्रयोग नगरी शिरविन्दु प्रयोग

नेपाली भाषामा लेखिने तत्सम वर्णहरु क, च, ट, त, प पाँचै ओटा वर्णलाई व्रmमशः पढ्दै जाँदा पाँचौँ वर्णमा ङ, ञ, ण, न म वर्ण आउँछन् । यिनलाई पञ्चम वर्ण भन्ने चलन छ । अचेल तत्सम शब्दको पञ्चम वर्णमा, अङ्क, अञ्चल, दण्ड, मन्त्री, सम्बन्ध आदि पञ्चम वर्ण प्रयोग गर्ने प्रचलन छ । अभिलेख अवस्थाको नेपालीमा यस्ता वर्ण के कसरी लेखिन्थ्यो भनेर हेरियो । हेर्दा खलङ्गा, गङ्गा, कुण्ड, दण्ड, आनन्द, बाहुनले, चन्द्र, सन्तति, जुम्ला, चम्फुपाध्या लेखिनु पर्ने शब्दहरु षलंग, गंगा, कुंड, दंड, आनंद, , चंद्र, संतति, जुंला, चंफुपाध्या आदि लेखिएका देखिन्छन् । तत्सम बाहेक नेपाली उच्चारण हुने शब्दमा पनि पञ्चम वर्णको सट्टा शिरबिन्दुको प्रयोग भएको छ । शिलालेखले प्रायः संस्कृत शब्दमा अधिक शिरबिन्दुको प्रयोग गरेको छ । त्यस कारण अभिलेख अवस्थाको वर्ण विन्यासमा पञ्चम वर्णको सट्टा शिरबिन्दु लेख्ने प्रवृत्ति रहेको छ ।  

घ. थर, ठाउँ, भाव बुझाउने शब्दको अन्त्यमा ह्रस्व वर्ण विन्यास

अभिलेख अवस्थाको नेपाली लेखनमा थर, ठाउँ र भाव बुझाउने शब्दहरुको वर्ण विन्यासमा प्रायः एकरूपता देखिन्छ । अचेल यस्ता शब्दको वर्ण विन्यास लेखनमा स्थापित नियम बनेका छन् । शब्द सङ्लन गर्दा थर बुझाउने शब्दहरु जस्तै कार्कि, कक्र्यानि, जोइसि, जैसि, अधिकारि, वोगटि, भँडारि,  सोति र उप्रेति आदि शब्दहरु भेटिए । यस्ता शब्दहरुको पदान्तको इकार ह्रस्व मात्र लेखिएका छन् । त्यसरी नै ठाउँ बुझाउने शब्दहरु जस्तै, बऔति, पनति, वारानसि आदि, भाव बुझाउने शब्दहरु जस्तै, विन्ति, धार्नि, चोरि, जारि आदि, सर्वनाम शब्द जस्तै, केहि, कोहि, हामि, एति आदि, अन्य नामका शब्द जस्तै मुडालि, पेटालि, अपुतालि, नाति, साक्षि, पानि समेत पदान्तमा ह्रस्व मात्र देखिए ।  यसले के बताउँछ भने अभिलेख अवस्थाको नेपालीमा पदान्तका थर, ठाउँ र भाव बुझाउने शब्दका अन्त्यमा ह्रस्व लेख्ने प्रवृत्ति रहेको छ । यस बाहेक सर्वनाम र अन्य नामको अन्त्यमा पनि ह्रस्व लेख्ने प्रवृत्ति नै रहेको छ । 

ङ. स्त्रीलिङ्गपूर्वको भेदकको इकार र तद्भव शब्दको बीचमा ह्रस्व 

अभिलेखी नेपालीमा सम्बन्ध बुझाउन आउने भेदकको इकारलाई ह्रस्व लेख्ने प्रवृत्ति पाइन्छ । यसलाई षष्ठी विभक्ति भन्ने चलन पनि छ । अभिलेखहरुमा स्त्रीलिङ्ग शब्दभन्दा अगाडिको इकारान्त भेदक जस्तै पुण्यमल्लकि शाखा, पंडितकि शाखा, तासकि आमा आदि लेखनमा ह्रस्व वर्ण विन्यास रहेका छन् । यस्ता भेदकमा मात्र होइन तद्भव शब्द जस्तै, भतिजो, छत्तिस चवालिस आदि पनि बीचमा ह्रस्व लेखिएका छन् । यसले के देखाउँछ भने अभिलेख लेखनमा स्त्रीलिङ्गपूर्वको भेदक र सङ्ख्यावाचक सहित नेपाली तद्भव शब्दको बीचमा ह्रस्व लेख्ने प्रवृत्ति थियो । 

च. छोटा नामहरुलाई पदयोग र लामा नामलाई पद वियोग
नेपाली भाषामा लेखनमा पदयोग र पद वियोगलाई वर्ण विन्यास अन्तर्गत राखिएको छ । तर यो वर्ण विन्यास भन्दा  शब्दहरुबिच डिको विन्यास भएको छ । यो डिको विन्यासलाई पदयोग र पद वियोग भन्ने गरिन्छ । अभिलेख अवस्थाको नेपाली शब्दमा डिको विन्यास के कस्तो थियो भनी केही शब्दहरु सङ्कलन गरिए, जस्तै : विस्वदेउ, गाग्रीपाटा, दान्पति, हिमजिउ, च्यापाजिउ, देउराज, तामापत्र, बोडुभंडारि, बडुभंडारि, धिरु भडारी, रंधिर भडारि, सानु वटाला, देवलदेवी, कनकपत्र, प्रतापचंद, मगसिरमास, तिलेकुसेसहित, सर्वबाधाविनिर्मुक्त, सूर्य चन्द्र भूमंडल, चन्द्रमा अग्नि पृथ्वी जल वायु आकाश वायु यम आदि । 

अभिलेख अवस्थामा शब्दहरु पद वियोग गरी वा अलग अलग डिकामा लेखिएका छन् । तर अभिलेखहरुमा विस्वदेउदेखि तामापात्रसम्म देखिने दुई शब्दले बनेका अन्य शब्दहरु प्रशस्त भेटिन्छन् । यस्ता शब्दलाई पदयोग गरिएको छ । त्यस्तै बोडुभंडारिदेखि सानु वटाला जस्ता नाम र थर बुझाउने शब्दलाई कतै पदयोग र कतै पद वियोग गरिएको छ । अभिलेख अवस्थामा यस्ता नामको पदयोग र पद वियोग गर्ने दुवै प्रवृत्ति भेटिन्छ । त्यहाँ देवलदेवीदेखि सर्वबाधाविनिर्मुक्त जस्ता शब्दहरु पनि प्रशस्त भेटिन्छन् । यस्ता शब्दहरु पदयोग गरेर लेखिएका छन् । यसले लामा नाम शब्दलाई पदयोग गरी लेख्ने प्रवृत्ति छ भन्ने देखाउँछ । यस बाहेक अभिलेखमा सूर्य चन्द्र भूमंडल, चन्द्रमा अग्नि पृथ्वी जल वायु आकाश वायु यम आदि जस्ता लामा शब्द पनि केही पद वियोग भएका केही पाइन्छन् । यी दुई तथ्यले के देखाउँछ भने लामा शब्दहरु कतै पदयोग र कतै पद वियोग भएका छन् । यसमा पनि पूर्ववर्ती अभिलेखमा पदयोग र परवर्ती अभिलेख पद वियोग गर्ने प्रवृत्ति बढेको छ । प्रताप मल्लको वि.सं.१७२७ तिरको अभिलेखसम्म आइ पुग्दा पद वियोगात्मक प्रवृत्ति प्रबल हुँदै गएको देखिन्छ । त्यस कारण नेपाली अभिलेख अवस्थामा छोटा नामलाई पदयोग र लामा नामलाई पद वियोग गर्ने प्रवृत्ति बढ्दै गएको देख्न सकिन्छ । थोरै वर्ण भएका शब्द शब्दले बनेका कनकपत्र, देवलदेवी जस्ता शब्द पनि  छोटा शब्द हुन् भन्ने दृष्टिकोण पनि छ । त्यसैले थोरै वर्णका यस्ता शब्दलाई आधुनिक नेपालीमा पदयोग वा पद वियोग गर्ने दुबै प्रवृत्ति रहेको छ, जस्तै, ललित पुर वा ललितपुर, नेपाल गन्ज वा नेपालगन्ज,, राम प्रसाद वा रामप्रसाद आदि ।  
छ. तत्समका शुभ्, श्रीमान् संवत, कदाचित् आदि बाहेक हलन्त लेखनको अभाव ।

केही अवपाद बाहेक संस्कृत भाषामा हलन्त लेखिने शुभ्, श्रीमान्, संवत् जस्ता तत्सम शब्दहरु अभिलेख अवस्थाको नेपालीमा पनि हलन्त लेखिएका देखिन्छन् । यस बाहेक अभिलेख अवस्थाको लेखनमा हलन्त प्रयोग देखिँदैन । यहाँसम्म कि पाओस जस्ता व्रिmयापदमा समेत हलन्त प्रयोग छैन । यस अवस्थामा षस, जाड, देव, संभार, भाट, यस आदि हलन्त उच्चारण हुने शब्दहरुमा पनि अजन्त लेख्ने प्रवृत्ति पाइन्छ । न्यून रूपमा भाष्, कटक् जस्ता शब्द कतै हलन्त र कतै अजन्त पनि लेखेको भेटिन्छ । तर समग्रमा हेर्दा अभिलेख हलन्त नेपाली लेखनको अभाव छ तर लेखकले कुनै कुनै शब्दमा भने कथ्य निकटता देखाउन नगण्य शब्दमा हलन्त लेखन गरेको देख्न सकिन्छ । 

के भनिन्छ भने इतिहास हेरेर वर्तमान चिनिन्छ । यहाँ सर्व प्राचीन ठानिने अभिलेख अवस्थाको नेपाली लेखन हेरेर वर्तमान नेपाली लेखनलाई चिन्न सहयोग पुगोस् भन्ने अपेक्षाले राखिएको हो । हाम्रा अभिलेख अवस्थाका लेखन प्रवृत्ति के थिए र त्यस प्रवृत्तिसँग वर्तमान नेपाली लेखन (वर्ण विन्यास) को नाता के हुन सक्छ भन्ने अभिप्रायले यो चर्चा गरिएको हो । किनभने नेपाली वर्ण विन्यासका नियमले औपचारिकता पाउनुभन्दा पहिले पनि नेपाली लेखिन्थे । त्यसलाई प्रवृत्तिगत रूपमा वर्तमान आँखाले हेर्न सकिन्छ । यसरी हेर्दा पहिलो अभिलेख अवस्थाको लेखनमा तत्सम शब्दमा तत्समानुसारी बाहेक नेपाली उच्चारणानुसारी वर्ण विन्यास लेख्ने प्रवृत्ति भेटिन्छ ।

दोस्रो तत्सम शब्दमा पञ्चम वर्णको सट्टा शिरबिन्दुको प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ । तेस्रो थरबोधक, स्थानबोधक र भावबोधक शब्दका पदान्तलाई ह्रस्व वर्ण विन्यास लेख्ने प्रवृत्ति रहेको छ भने चौथो सर्वनाम र अन्य नामका पदान्तमा ह्रस्व वर्ण विन्यास लेख्ने प्रवृत्ति भेट्टाउन सकिन्छ । पाँचौँ स्त्रीलिङ्गको भेदक बनेर आएको शब्दको इकार र तद्भव शब्दका बीचका इकार पनि ह्रस्व नै लेख्ने प्रवृत्ति रहेको छ । छैटौँ केही लामा नामलाई पदयोग र पद वियोग दुबै देखिए पनि छोटा नाम भने पदयोग गरी लेख्ने प्रवृत्तिगत विशेषता रहेको छ । तर लामा नामलाई टिपोट गर्दै जाँदा प्रवृत्तिगत हिसाबमा यिनीहरु पद वियोगतर्पm अभिमुख भएका देखिन्छन् । सातौँ हलन्त प्रयोगका दृष्टिले संस्कृत भाषामा लेखिने शुभम्, संवत्, श्रीमान् जस्ता शब्द बाहेक अभिलेख अवस्थाको लेखनमा नेपाली भाषामा हलन्तको अभाव नै देखिन्छ । कतिपय हलन्त हुने व्रिmया (पावोस) को अजन्त लेखन प्रवृत्ति देखिन्छ भने उच्चारणमा हलन्त हुने शब्दहरुले लगभग हलन्त बहिष्कारकै प्रवृत्ति अनुसरण गरेका छन् । अस्तु 


 

तपाईंको मत