साहित्य र कला

नेपथ्यका हिरो 

नेपथ्यका हिरो 

— नरेश फुयाँल


हतियारको छायामुनि समाचार

राजा ज्ञानेन्द्रमा राजनीतिक महत्त्वाकांक्षा बढेपछि शासन सत्ता हातमा लिए । ०६१ माघ १९ गते राजाले त्यसको घोषणा गरे । मन्त्रिपरिषद्को अध्यक्षता गरे । छिनमै तत्कालीन शाही सेना हातहतियारसहित सञ्चारमाध्यममा पुग्यो । पत्रकारले स्वतन्त्र रूपमा समाचार लेख्ने अधिकार गुमाए । समाचार सेनाका अधिकारीले सेन्सर गर्न थाले । काँधमा राइफल र कम्मरमा पेस्तोल भिरेका सशस्त्र हतियारधारीले समाचारको छिनोफानो गर्न थाले । क्रूर राज्यसत्ताका अगाडि कसको के लाग्थ्यो ! आमपत्रकारजस्तै गोविन्द लुइँटेल पनि निरीह थिए । समाचार लेखेर कमब्याट लगाएकालाई देखाइरहेका थिए ।

सेनाको बोली यति नम्र हुन्थ्यो कि उनीहरू नागरिकको सूचना हक खोस्ने निर्मम सेनाका अफिसरजस्ता लाग्दैनथे । ‘सर एकपटक मलाई हजुरले लेख्नुभएको समाचार देखाइबक्सियोस् न’ भन्थे । समाचार ध्यान दिएर पढ्थे । सरकार तथा राजपरिवारविरुद्धका समाचार अथवा व्यंग्य भेटिए ‘यतिचाहिँ हटाइबक्सिएला’ भन्दै नम्र भएर बोल्थे ।

बोली सुन्दा सेन्सर होइन, सघाउन आइरहेको प्रतीत हुन्थ्यो । तर, हाँसी–हाँसी नागरिकको सूचना हकमा छुरा चलाइरहेका थिए । संविधानभन्दा पनि आफूलाई माथि ठान्ने राजतन्त्रले फणा फिँजाएको थियो । प्रतिवाद गरे दरबारले विषवमन गथ्र्यो । मतियारहरू सल्बलाउँथे । त्यसको नतिजा राजद्रोह हुन्थ्यो । चुपचाप बन्दुकको कुन्दामुनि बसेर समाचार लेख्दै, मेट्दै गरे गोविन्दले ।

कर्फ्यूमा समाचार पढ्दा

प्रविधि र सञ्चारले संसार साँघुरो भइसकेको थियो । घटनाहरू क्षणमै विश्वका कुना–कुना विचरण गर्न थालिसकेका थिए । विचार र प्रतिक्रियाका लागि समय लाग्दैनथ्यो । विश्व समुदायले नेपालको अवस्था नियालिरहेको थियो । विरोधमा आवाजहरू सुनिन थालिसकेका थिए । नेपालमा त्यसको प्रतिवाद शुरु भइसकेको थियो । दलहरू सडकमा थिए । क्याम्पसहरू दरबारको विरोध गर्ने अखडामा परिणत भइसकेका थिए । सञ्चार संस्थाहरु बोल्न थालिसकेका थिए ।

समाचार कक्षबाट सेना निस्किएको थियो तर निगरानी छोडेको थिएन । सडकमा सात दल थिए । सञ्चारले आठौं दलको भूमिका निभाइरहेको थियो ।

राजनीतिक दलसँगै नागरिक पनि सडकमा उत्रिएका थिए । सरकारले कफ्र्यू लगायो । पत्रकारलाई सकस भयो । घर गएका पत्रकार अफिससम्म पुग्न नसक्ने भए । अफिसमा रहेका पत्रकार कोठासम्म जान नपाउने अवस्थामा पुगे । गोविन्द ‘च्यानल नेपाल’मा काम गर्थे । अनामनगरमा कोठा थियो । ‘च्यानल नेपाल’को कार्यालय शान्तिनगरमा थियो ।

“म गल्ली–गल्ली हुँदै अफिस निस्किएँ । कर्फ्यू लागेको थियो । प्रहरीको सुइँको पाउनेबित्तिकै घरभित्र छिर्थें,” गोविन्द भन्छन्, “जसोतसो ज्यान जोखिममा राखेर कार्यालय पुगें । समाचार पढ्न समाचार वाचक हुँदैनथे । प्रहरीलाई ‘समाचार पढ्ने पत्रकारलाई घरमै थुनियो, तपाईंहरूको गाडीमा ल्याइदिनुस्’ भनेर आग्रह गथ्र्यौं । ‘हुन्छ’ भन्थे तर ल्याइदिँदैनथे । कोही नभएपछि म आफैं समाचार पढ्न स्टुडियो छिरें । जीवनमा कहिल्यै टेलिभिजनमा समाचार नपढेको मैले तीनवटा समाचार बुलेटिन पढें ।”

ठेकेदारको धम्की

ललितपुरको लेलेस्थित एक ढुंगाखानीको समाचार गोविन्दको टेबुलमा आइपुग्यो । त्यो समाचारमा ‘ढुंगाखानी स्थापना भएसँगै पहिरो गयो, त्यहाँ प्रदूषण बढ्यो, प्रदूषणले स्थानीयको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्‍यो, वातावरणीय सन्तुलनसमेत बिग्रियो’ भन्ने आशय थियो । गोविन्दको टेबलमा आइपुग्दा समाचार त्यति विस्तृत थिएन । तर, वातावरण विज्ञानमा राम्रै जानकारी राख्ने गोविन्दले त्यसलाई लामो रिपोर्ट बनाइदिए । रिपोर्टसहितको समाचार ‘च्यानल नेपाल’बाट प्रसारण भयो । त्यो समय ‘च्यानल नेपाल’को राम्रै प्रभाव थियो । समाचार प्रसारण भएको भोलिपल्ट ‘च्यानल नेपाल’मा ढुंगाखानीका मालिक आइपुगे । उनी सम्पादक योगेश उपाध्यायको टेबलमा पुगे । योगेशले गोविन्दलाई देखाइदिए । उनले शुरुमै हप्काए, “तपाईंले यो समाचार के आधारमा दिनुभयो ? कसरी थाहा पाउनुभयो पहिरो गएको, प्रदुषण भएको र जनाताको स्वास्थ्यमा असर गरेको ?”

गोविन्दले स्पष्टीकरण दिए । उनी झन् आक्रामक हुँदै भने, “म भोलि तीन सय जनाको जुलुस लिएर आउँछु । त्यसपछिको परिणाम भोग्न तयार हुनुहुन्छ ? सक्नुहुन्छ ? शासनसत्ता कसको छ, थाहा छ ?”

त्यो बेला राजा ज्ञानेन्द्रले राजनीतिक शक्ति हातमा लिएका थिए । मन्त्रिपरिषद् अध्यक्ष उनै थिए ।

समाचार लेख्ने नारायण अधिकारीले उनलाई ‘हेर्नुस् ठेकेदारसाप्, समाचार यस्तो हो’ भनेर बुझाउन खोज्दा उनले भनेका थिए, “मलाई ठेकेदार नभन्नुस्, उद्योगपति भन्नुस् ।”

गोविन्द्रले थापा थरका ती व्यक्तिलाई भने, “म दुइटा कुरा गर्छु । तपाईंको कुरा के हो भन्नुस्, आजै प्रसारण गरिदिन्छु । अर्को कुरा तपाईं भोलि जुलुस लिएर आउनुस्, जे गर्नुपर्छ भोलि गर्छु ।”

उनी ‘म मेरो कुरा पनि भोलि नै गर्छु’ भन्दै हिँडे । तर, तीन सय जनाको जुलुस लिएर आउने धम्की दिएर हिँडेका उनी आएनन् । 

असावधानीको परिणाम

केही वर्षअघि प्रख्यात अध्येता विद्वान पूर्णप्रकाश नेपाल यात्रीको निधन भयो । ‘हिमालय टाइम्स’को प्रथम पृष्ठमा तस्बिरसहित समाचार छापियो । भोलिपल्ट बिहानै गोविन्दको मोबाइलमा फोन आयो । तस्बिर मृतकको होइन, अर्कैको पो परेछ । गोविन्दले फोनमै लज्जित हुँदै माफी मागे । समाचार छापिएकै स्थानमा भोलिपल्ट क्षमायाचनाहित भूलसुधार छाप्नु पर्‍यो ।

तिथिमिति त अहिले बिर्सिए तर घटना भने गोविन्दको मस्तिष्कबाट ओझेल परेको छैन । एकपटक भक्तपुरको कुनै ठाउँमा कसैको हत्या भयो । हत्या भएकै दिन प्रहरीले अभियुक्त पक्राउ गर्‍यो । पक्राउ गरिएका व्यक्ति भनेर तस्बिसहित समाचार छापियो । तस्बिरमा प्रहरीसहितको हुल थियो । भोलिपल्ट पीडितका तर्फबाट कडा आपत्ति जनाउँदै गोविन्दलाई फोन आयो । अभियुक्त भनेर तस्बिर छापिएका व्यक्ति प्रहरी कार्यालय पुगेका पीडित पो रहेछन् । भोलिपल्ट क्षमायाचना मागे ।

पत्रकारिताको लामो दौडमा थुप्रै यस्ता घटना घटे, जुन अहिले पनि बिर्सिएका छैनन् गोविन्दले । राजाको प्रत्यक्ष शासनकाल थियो । जागिर ‘च्यानल नेपाल’मा थियो । राजधानीको धापासी क्षेत्रमा एकजनालाई गस्तीको सशस्त्र प्रहरीले गोली हान्यो । घटना अबेर साँझको थियो । घाइते महाराजगन्ज शिक्षण अस्पताल पु¥याइए । केहीबेरमा अर्को टेलिभिजनमा घाइतेको मृत्यु भएको खबर स्क्रोलमा आयो ।

“च्यानल नेपालमा केही साथीहरूले तत्कालै समाचार प्रसारण गर्न मलाई सुझाए । अर्कोमा आइसक्यो, हामीचाहिँ किन साइत हेर्ने भनेर केही साथीहरूले दबाब दिए । मैले अस्पताल वा प्रहरीले पुष्टि नगरी समाचार दिन नहुने अडान लिएँ । छलफल चल्दै थियो अर्को टेलिभिजनले समाचार सच्यायो । घाइते व्यक्ति निकै लामो उपचारपछि घर फर्के,” गोविन्द सम्झन्छन् ।

पर्दापछाडिको काम

‘हिमालय टाइम्स’मा एकै वचनमा जागिर दिएका सम्पादक किशोर नेपाल सम्पादक थिए । किशोरसँग उनले लामै सम्यम काम गरे । उनीसँग जोडिएका केही अनुभव गोविन्दसँग छन् ।

किशोर पत्रकारमात्रै नभएर राम्रा लेखक पनि हुन् । साहित्यकारहरूसँग उनको सम्बन्ध राम्रो थियो । स्थापित साहित्यकारमात्रै होइन, साहित्यप्रति रुचि राख्ने र साहित्यकार हुन रहरको घर बनाउनेहरू पनि उनीसँग दोस्ती गाँस्थे । एकदिन किशोरले भने, “गोविन्द, यो कथा हेरेर मिलाइदेऊ है, छाप्नुपर्छ ।”

सम्पादकको निर्देशन शिरोधार्य थियो । गोविन्दले कथा पढे । विडम्बना ! त्यसमा कथाको छेकछन्द कतै केही पनि थिएन । गोविन्दले किशोरलाई भने, “यो त कुनै कोणबाट पनि कथा होइन । कथाजस्तो पनि छैन । यसलाई त छाप्न सकिँदैन ।”

किशोरले भने, “यो जसरी पनि छाप्नुपर्छ । त्यही भएर त मिलाइदेऊ भनेको । हेर, हाम्रो काम भनेको अरुलाई बनाउने हो ।”

सम्पादकले दोहोर्‍याएर छाप्नैपर्छ भनेपछि उम्किने कुरै भएन । गोविन्दले त्यसलाई कथा बनाए । लेखकले लेख्न खोजेको के हो ठम्याए र त्यसलाई आफ्नै तरिकाले कथा लेखिदिए । छापियो । “कथा छापिएको दिन ती व्यक्तिलाई मैले सम्पादकसँग हाम्रै अफिसमा देखें । मैले उनलाई चिनेको थिइनँ । लाग्छ– ती धुम्बाराहीतिर बस्थे । मेरो विचारमा ती व्यक्तिले आफ्नो कथा हो भनेर होइन, आफ्नो नाम पढेरमात्रै थाहा पाए होलान् ।”

किशोर ‘डेस्कमा बस्ने पत्रकारको काम आफू बन्नेभन्दा अरुलाई बनाउने हो’ भन्थे । पहिलो दिनबाटै डेस्कमा बसेर सम्पादक भएका गोविन्दलाई किशोरको त्यो वाक्य सधैं सही लाग्यो । उनले आफू बन्नेभन्दा पनि अरुलाई नै बनाए । उनले हात समाएर समाचार लेख्न सिकाएका पत्रकार अहिले नाम चलेका पत्रकार भए । ठूला सञ्चारगृहमा ठूलै जिम्मेवारी सम्हाल्ने भए । को–को हुन् ती पत्रकार, जसले गोविन्दबाट समाचारको बाह्रखरी पढे र आज आफूलाई स्थापित गरे ? नाम भन्न गोविन्द उचित ठान्दैनन् ।

“जिम्मेवारीमा बसेपछि जानेको कुरा साट्नु मेरो दायित्व हो । मैले दायित्वबोध गरेर जिम्मेवारी निभाएँ, त्यो ठूलो कुरा होइन । कति कुरा अहिले पनि म सिकिरहेको छु । सिक्नु र सिकाउनु त पत्रकारिताको रीत नै हो, जुन आजीवन चलिरहन्छ,” गोविन्द भन्छन् ।

त्यसअघि,

भनिन्छ— रहर पूरा गर्न पहिला सपना देख्नुपर्छ । रहरको महल बनाएपछि त्यसलाई भेट्ने यात्रा तय हुन्छ । र, भेटिन सक्छ गन्तव्य । तर, जिन्दगी सधैं कहाँ उखानटुक्कालाई पछ्याउँदै हिँड्छ र ! पत्रकारिता गर्ने रहरको घर बनाएका थिएनन् गोविन्दले । गोरेटोमा हिँड्दाहिँड्दै भेटिएको नयाँ गन्तव्य हो पत्रकारिता । कालान्तरमा यतै रत्तिए ।

विज्ञानको विद्यार्थी भए पनि मेडिसिन, इन्जिनियरिङमा उनको दिलचस्पी थिएन । धरानबाट आईएस्सी सकेपछि काठमाडौं पसेका गोविन्द अमृत साइन्स क्याम्पसमा बीएस्सी पढ्न थालेका थिए । साइन्सका सूत्र र अणुमा उनको मन छिरेको थिएन । उनलाई त धरान छँदैदेखि छाताचोकको वाचनालयले आकर्षित गरेको थियो । त्यहाँ पाइने पत्रिकाले मन खिचेको थियो । ‘विमर्श’ नबिराई पढ्थे । विज्ञापनदेखि प्रिन्टलाइनसम्म पढ्न छुटाउँदैनथे ।

काठमाडौं पराई भूमि थियो । तेह्रथुममा बुवाले धान, मकै बेचेर पठाएको खर्च काठमाडौंका लागि कम हुन्थ्यो । जीवन धान्न पनि काठमाडौंमा केही न केही काम गर्नुपर्ने बाध्यता थियो गोविन्दलाई । सजिलो पढाउन थियो । सजिलै काम पाइने शिक्षककै थियो ।

धरानमै निकटको चिनजानका अरुणकुमार सुवेदीका माध्यमले स्युचाटारको पञ्चकन्या माध्यमिक विद्यालय पुगे । २०४६ सालको शुरुतिरदेखि पढाउन थाले । करिब तीन वर्ष पढाएपछि स्युचाटारकै स्थानीय दामोदार दवाडीसँग भेट भयो ।

पञ्चायतविरोधी आन्दोलनको ज्वारभाटा उर्लिएको गोविन्दले त्यहीबेला देखे । जनआनदोलनले बहुदल भित्र्यायो । गोविन्द पञ्चकन्या छाडेर काभ्रेको साँगास्थित दीपेन्द्र प्रहरी विद्यालय (हाल नेपाल प्रहरी विद्यालय) पुगे । त्यहाँ एक वर्ष बसे तर मन रमाउन सकेन । काठमाडौं फर्किए । विद्यालयमा पढाउन थाले । समाजशास्त्रमा एमए पढ्दै थिए । 

स्युचाटारमा चिनजान भएका दामोदरले ‘नयाँ विकल्प’ साप्ताहिक शुरु गरेका थिए । भौतारिँदै ०५३ सालको कुनै एकदिन टेकुस्थित ‘नयाँ विकल्प’को कार्यालय  पुगे । दामोदरले कामको अवसर दिए । त्यहीँबाट उनको पत्रकारिता शुुरु भयो । पत्रकार भए । काम गर्दै जाँदा दामोदरले गोविन्दलाई कार्यकारी सम्पादकको जिम्मेवारी थमाए । पाएको अवसर उनले छाडेनन् । पहिलो पृष्ठदेखि अन्तिम पृष्ठसम्मको काम गर्नुपथ्र्यो । समाचारदेखि अन्तर्वार्तासम्म लिनुपथ्र्यो । सम्पादकीयदेखि विचारसम्म लेख्नुपथ्र्यो । आफ्नो नाममा मात्रै होइन, अर्कैको नाममा पनि लेख लेख्नुपथ्र्यो । लेखे ।

‘नयाँ विकल्प’ सरकारी पत्रिका थिएन । सरकारी पत्रिका नहुनु र निजी पत्रिकामा काम गर्नु भनेको मन लागेका बेला छोडेर हिँड्ने स्वतन्त्रता आफैंमा रहनु हो । राम्रो अफर आए अन्तै दौडिन सहज हुनु पनि हो । त्यो अन्तरनिहित अधिकार प्रयोग गरे गोविन्दले । ०५६ को आम निर्वाचनअघि ०५५ सालको अन्त्यतिर ‘हिमालय टाइम्स’ पुगे । किशोर नेपाल सम्पादक थिए । भित्री पृष्ठ, विचार पृष्ठ हेर्दै तीन महिनामै प्रथम पृष्ठ हर्ने जिम्मेवारी उनको काँधमा आइपुग्यो । विष्णु निष्ठुरी चिफ रिपोर्टर थिए । उनकै सिफारिसमा सम्पादकले प्रथम पृष्ठ जिम्मा लगाएका थिए ।

०५९ सालमा ‘हिमालय टाइम्स’ छाडेर ‘च्यानल नेपाल’ टेलिभिजन पुगे । करिब पाँच वर्ष टेलिभिजन पत्रकारिताको अनुभव सँगालेर गोविन्द ०६४ सालको संविधानसभा निर्वाचनअघि फेरि ‘हिमालय टाइम्स’ फर्किए । यसैले भनिएको होला शायद— पत्रकारलाई स्वागत गर्नू तर छोड्दा बिदाइ नगर्नू । त्यसयता गोविन्द ‘हिमालय टाइम्स’मै छन् ।

अहिलेको पत्रकारिता

पत्रकारिताको दुई दशक लामो यात्रामा थुप्रै पत्रकारसँग संगत र सहकार्य गरे । यहीबीचमा राजनीतिक व्यवस्था परिवर्तन भए । सक्रिय राजतन्तको त्राहिमामदेखि अस्थिर राजनीतिसम्मको अनुभव सँगाले । योबीचमा पत्रकारिताले प्रविधिमा फड्को मार्‍यो । तर, ‘कन्टेन्ट’ कछुवाकै गतिमा रह्यो । पत्रकारितामा देखिएको पेशागत आकर्षण घटेर गएको अनुभूति गर्ने गोविन्दले भाषा र शैलीमा पत्रकारको शिल्प भुत्ते भएको अनुभव गरेका छन् ।

“भाषा र प्रस्तुतिमा दख्खल राख्ने पत्रकारको संख्या निकै कम छ,” उनी भन्छन्, “पत्रकारितामा सूचना कहाँ र कसरी राख्ने र प्राप्त सूचनालाई कुन शब्दले बाँधेर पठनीय बनाउने भन्ने ज्ञान पनि चाहिन्छ । अन्यथा समाचार सधैं पठनीय हुँदैन ।”

पत्रकारितालाई प्रयोग गर्न खोज्ने थुप्रै व्यक्ति र संस्था गोविन्दसामु आए । कोही प्रत्यक्ष, कोही अप्रत्यक्ष । यस्ता पक्षबाट बचेर इमानको पत्रकारिता गर्न सक्नुपर्नेमा उनी जोड दिन्छन् । आफ्ना कालो कर्तुतलाई पत्रकारिताका माध्यमबाट सफा बनाउन खोज्ने नीच सोचाइ बोकेकाहरू सानो आकारका पत्रपत्रिकामा अझै धेरै आउने गरेको सुनाउने गोविन्द भन्छन्, “पत्रकारितालाई प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न उद्धतहरूबाट पत्रकारितालाई जोगाउनुपर्छ । इमानको पत्रकारिता गरेर पत्रकारिता र पत्रकारको शाख उकास्नुपर्छ । टिपनटापन गरेर पत्रकारिता हुँदैन । आफ्नो दायित्व र धर्म भुल्नु हुँदैन ।”

तस्बिरः गोविन्द लुईँटेलको फेसबुकबाट

तपाईंको मत