साहित्य र कला

स्फूर्तिहीन रंगमञ्च

स्फूर्तिहीन रंगमञ्च

पत्रिका घिमिरे  (रंगकर्मी)


केही वर्षअघिसम्म नाटक अमूर्त कला लाग्थ्यो– अनेकानेक भावभंगी, कला–कौशलमार्फत चरित्र उजागर गर्ने ।

तर, रंगमञ्चमा प्रविष्ट भएपछि मैले ठहर्‍याएँ– जीवन आफैंमा रंगमञ्च रहेछ । र, हामी दिनहुँ अनेकानेक भूमिका पदार्पण गर्दा रहेछौं ।

जीवन जिन्दगीको उद्वेगमात्र होइन, यो संवेग हो । लाग्ला– हाँसो, खुशी, दया, करूणा, माया, रिस यी जीवनका अवयव हुन् ।

तर, होइनन् । यी त जीवनरूपी रंगमञ्चमा हामीले प्रस्तुत गर्ने भूमिका हुन् । भावभंगी हुन् ।

सोचौं त, जीवनका यी तीता–मीठा, रसिला, निरसिला अनुभूति हामीले चाहेरमात्रै गरेका छौं र ? पटक्कै छैनौं– हामीले नचाहँदा–नचाहँदै प्रस्तुत गरेका भावभंगीहरू ‘अभिनय’ हुन् । अझ भनौं न, नाटक हुन् । त्यसैले त शेक्सपियरले कुनै सन्दर्भमा भनेका छन्, “जीवन एक रंगमञ्च । र, हामी सबै कलाकार !”

संखुवासभा हुँदाताक नै मैले सुनेको थिएँ– गुरुकुल । त्यहाँका सुनील पोखरेल नाटकका ‘भीष्मपिता’ हुन् । र, अहिलेको नाटक उनैलाई ‘सुमेरु’ मानेर परिक्रमा गरिरहेछ ।

सुुनील पोखरेलका बारेमा यस्तो सुन्दा मस्तिष्कमा अनेकानेक विम्ब तयार भएथ्यो । उहाँको अनुहार मेरो दृश्यबाट कोशौं टाढा थियो । मनमा नाटकको गाढा चाप बसेकाले होला उहाँको अनेक चित्र कल्पना गर्न सक्थें । अभिनयाका चित्र मस्तिष्कमा उतार्न सक्थें ।

काठमाडौं आएपछि पूरा भयो त्यो रहर । अचम्म उहाँ त हामीजस्तै सामान्य मानिस हुनुहुँदो रहेछ । वास्तविक जीवनमा रसिलो हुनुहुन्थ्यो भने ‘नाटकीय’ जीवनमा भरसिलो ।

काठमाडौं आएपछि पो थाहा लाग्यो– उहाँ त नाटकको एक युग हुनुहुँदो रहेछ ।  ‘सडक’ माथि उठ्न खोजिरहेको नाटकलाई उहाँले जुरुक्कै उठाएर थिएटरमा ल्याउनुभएको थियो । नाटकमा सम्भावना नै नदेख्ने पुस्तालाई नाटकबाटै हातमुख जोड्न सक्ने र परिवार पाल्न सक्ने बनाइदिनुभएको थियो । फुर्सदमा नाटक खेल्ने पंक्तिबाट धेरैलाई ‘पूर्णकालीन’ बनाइदिनुभएको थियो ।

अहिले सम्झन्छु– गुरु सुनील जीवन र मरणको दोसाँधमा रहेको नेपाली रंगमञ्चका लागि सञ्जीवनी बुटी पो हुनुहुँदो रहेछ !

० ० ०

त्यस्तै पाँच वर्षअघिको एक साँझ घरमा बुबालाई सुनाएँ, “मलाई नाटक खेल्ने असाध्यै रहर छ !”

तर, बाबुले कुरा पर्न दिनुभएन । नाटक खेले छोरी बिग्रिन्छे । जीवनको लय बिथोलिन्छ । पढाइ धूलोपीठो हुन्छ । ममाथि मीठो सपना देखेकाले होला— उहाँलाई त्यो निकै निरसिलो प्रस्ताव लाग्यो र मुख बिगार्दै भनिहाल्नुभयो, “पर्दैन अहिले !”

पढाइको खुड्किला चढ्दै निश्चित तहमा नपुगी रंगगमञ्चमा पाइला हाल्न डर लाग्यो । दुई वर्षअघि बीबीएको ढोकाबाट उम्कनै लाग्दा मैले सोचें— जीवन आफैंमा रहर हो । यसको घाँटी निमोठ्ने हो भने जहरमा परिणत हुन्छ । त्यसैले मैले जब्बर निर्णय लिएँ– रंगमञ्च नै सबथोक हो । अर्थोकमा मेरो भविष्य छैन ।

नाटक मेरो जीवनको मोड थियो । त्यसले पुरानो परिचय बदलेर नयाँ परिचय निर्माण गर्नुपर्ने, एकखालको संक्रमणको अवस्थामा थिएँ ।

रंगमञ्च– सोचेजस्तो कल्पना गरेजस्तो होइन । दिनहुँ अभिनय गरिरहेका हुन्छौं तर नजानिँदो तवरले । कसैको आज्ञा मानेर त्यो चरित्रमा आफूलाई ढाल्न निकै गाह्रो हुन्छ । अझ रंगमञ्चमा त हठात् चरित्रमा बगाउनुपर्छ, आफूलाई ।

करिअरको शुरूआतमै निर्देशनको भूमिका मेरो थाप्लोमा पर्‍यो । वास्तवमा ‘एकलव्य फगत एक मिथ’ करिअरको परीक्षण बन्नुपर्ने, ‘टर्निङ पोइन्ट’ बन्यो ।

माओवादी युद्धको कथा मैले त भोगिनँ तर युद्धका विद्रूप र तद्रूप पाटापक्ष सुन्ने मौका पाएँ । माओवादी युद्धका अनेक विषय रंगमञ्चमा प्रदर्शित नभएको होइन । तर, त्यसबीचमा जति देखाइनुपथ्र्यो, देखाउन नसकेको विषय थियो– शिक्षकमाथि भएको ज्यादती । चन्दा नदिएकै निहुँमा अपहरण र हत्या ।

त्यसैलाई केन्द्र भागमा राखेर नाटक तयार थियो । १० मिनेटको लघुनाटकले पनि उत्साहजन प्रतिक्रिया पाएँ । धेरैले ‘वाह ! क्या नाटक’ पनि भने । तर, ज्यादा पुलकित नभई उत्साहलाई मैलै पुँजीकृत गर्नतिर लागें ।

नाटक मन पराइनुको पछाडि एउटा कारण थियो– त्यो समाजको मुद्दा थियो । नाटकले बोल्नुपर्ने विषय थियो । किनभने हाम्रा समाजमा अनेक मुद्दा अद्यपर्यन्त छन् । तिनले चेपुवामा पारेका, थिल्थिल्याएका पात्र जीवितै छन् । ती मुद्दालाई पन्छाएर रंगमञ्च अगाडि बढाउन खोज्नु नेपाली रंगपारखीलाई अन्याय गर्नु हो । मुद्दाको पेलानमा परेका, सम्बोधनको मागसहित छटपटाइरहेका, भौतारिइरहेकाहरू पनि त हाम्रा दर्शक हुन् नि !

अर्को रंगकर्मी समाजको गर्भबाटै जन्मिने हुन् । समाजकै मनोदशाबाट हुर्कने हो । समाजकै पाटै हो ऊ । अतः उसले समाजै बोल्नुपर्छ भन्ने कुरा ‘एकलव्य फगत एक मिथ’बाट मनग्ये सिकें मैले । र, भर्खरै मण्डलामा प्रदर्शन भएको ‘खबर हराएको चिठ्ठी’सम्म आइपुग्दा सामाजिक मुद्दाबाट विमुख हुनु हुँदैन भन्ने चेत बलियोसँग विकास भएको छ, ममा ।

० ० ०

पछिल्लो समय नाटक सिकेर चलचित्रको चरित्र हत्याउने मनशायमा देखिन्छन्, कलाकार । आफू पनि नवप्रवेशी भएकै नाताले कतिपयसँग मेरो कुराकानी हुन्छ । प्रायःलाई सोध्छु, “किन आउनुभएको रंगक्षेत्रमा ? अथवा नाटक सिकेर के गर्नुहुन्छ ?”

उनीहरूको सपाट उत्तर हुन्छ, “नाटक सिके चलचित्रमा अवसर पाइन्छ ।”

उनीहरूको उत्तर ‘इनोसेन्ट’ छ । किनभने हामीकहाँ छ नै त्यही । दुई–चार महिना नाटक सिक्ने र चलचित्रमा जाने । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की, दिया मास्के, सिर्जना सुब्बालगायत केही रंगक्षेत्रबाट गएका हस्तीहरूले चलचित्रमा राज गर्ने अवस्था बन्यो । त्यसबाट नयाँ पुस्ता लोभिनु अस्वाभाविक थिएन । त्यसो त चलचित्र क्षेत्रमा पनि रंग क्षेत्रका कलाकारको खोजी बढेकै छ ।

तर, चलचित्र र रंगक्षेत्र अभिनयात्मक भए पनि फरक–फरक ठाउँ हुन् । दुवै क्षेत्रमा भिन्न–भिन्न अभिनय गर्नुपर्छ । त्यसैले आफू कुन ठाउँमा फिट छु भनेर पहिल्यै निधो गर्दा सजिलो पनि हुन्छ ।

० ० ०

नाटकलाई संघर्षको पर्यायका रूपमा बुझेको मैले पाएको छु । यसअघिका पुस्ताले स्थापित हुन, हातमुख जोड्नकै लागि अथाह संघर्ष गर्नुपरेकाले पनि त्यो विम्ब बनेको हुन सक्छ । जति दुःख गरे पनि उहाँको जीवन सुध्रिएन किनभने रंगकर्म आफैंको जीवन सुध्रिएन ।

तपाईं कतै जाँदै हुनुहुन्छ, बस चढेर तर बस तन्दुरुस्त परेन भने तपाईंको स्फूर्तिको के अर्थ ? नेपाली रंगक्षेत्रलाई लागेको रोग त्यही हो । पहिलाको पुस्ताले आफू स्थापित हुन संघर्ष गर्नुभयो तर रंगक्षेत्र स्थापित गराउन कुनै भूमिका खेल्न सक्नुभएन ।

अभिनयमा निखारता, सिर्जनामा निखारता, नाट्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन लागिपरेको भए शायद उहाँहरूले त्यो दुर्दशा भोग्नु पर्दैनथ्यो । रंगकर्मी भोकभोकै हुने अवस्था त आउनु थिएन नै, रंगक्षेत्र पनि उँभो लागिसकेको हुन्थ्यो ।

त्यसैले अबको संघर्ष नाटकमा लागेर पेट पाल्न होइन, नाट्य क्षेत्रको सिर्जनात्मकता, आधुनिकता, प्रविधिका लागि हुनुपर्छ तबमात्र रंगक्षेत्रको समयसापेक्ष विकास हुन्छ ।

नेपाली नाट्य क्षेत्रको अर्को समस्या हो– आयातीत कथा भित्र्याउने । हामी यसरी कथा भित्र्याउँदै छौं कि हामीसँग देखाउन लायक कुनै विषय नै छैनन् । यसबारेमा केही अग्रजलाई पनि सोध्दा उहाँको जवाफ हुन्छ– हामीकहाँ नाटक लेख्ने मान्छे नै छैनन् । लेखिएका पनि रंगमञ्चमा देखाउन मिल्ने नै हुँदैनन् ।

जवाफ सुन्दा हाँसो लाग्छ । नाटकभित्रको एउटा पाटो हो ‘स्क्रिप्ट’ । तर, हामीकहाँ बुझाइ छ– नाटक भनेको अभिनय हो ।

नाटक लेख्ने मान्छे नै छैनन् भने थिएटरहरूले ‘स्क्रिप्ट राइटिङ’को कक्षा चलाउनुपर्‍यो नि !

यसर्थ आफूभित्रको कमजोरी अर्काको थाप्लोमा खन्याएर समृद्ध रङक्षेत्रको कल्पना अब सम्भव छैन ।

(अक्षर काकासँग कुराकानीमा आधारित)
 

तपाईंको मत