साहित्य र कला

“पर्धान्मुन्तिरीज्यू ! तमी निकै छौ क्या ?”

“पर्धान्मुन्तिरीज्यू ! तमी निकै छौ क्या ?”

 

केपी काका नमस्कार !

म त्यो अभागी भतिज हुँ, जसले आफ्नो काका बिरामी पर्दा थाहासम्म पाइनँ । थाहा पाएको भए तपाईंको लागि प्राथना गर्थें । कस्सम । कर्णाली नदीको कस्सम । तपाईंलाई गरिएका प्रार्थनाहरू फेसबुक, ट्वीटरमा भाइरल भएका बेला म भने भाइरलका बिरामीहरूसँग जुम्लामा थिएँ । स्वास्थ्य शिविरमा । केही दिनअघि तपाईंलाई रोगले च्यापेका बेला म ढाडको हड्डी च्यापिएर थलिएका बूढाबूढीहरूसँग थिएँ । जुम्लामा । स्वास्थ्य शिविरमा । सारा नेपालीले तपाईंको रोगको चिन्ता गरेका बेला म नेपालमा थिइनँ, रोगी कर्णालीमा थिएँ ।

काका !

कर्णालीको स्वास्थ्य शिविरमा आफ्नो रोगलाई लिएर रोगीहरू आउन्न रै’छन् । रोगीलाई लिएर रोग आफैं आउँदो रहेछ । भाँचिएका ढाडहरू अर्काका ढाडमा चढेर आउँदा रहेछन् । गलेका पाठेघरहरू साडीले भुइँ टेकेर आउँदा रहेछन् । सेतो पानी बगिरहेका योनिहरू काला बाटाहरू भिजाउँदै आउँदा रहेछन् ।

घाँस काट्दा भीरबाट लोटेर (लडेर) एकजना हजुरआमाको ढाड धेरै अघि भाँचिएको रहेछ । काका ! मान्छेको ढाड भाँचिनु भनेको देशको राजनीति भाँचिनुजस्तो हो । उहाँलाई ढाड भाँचिनेबित्तिकै अस्पताल लगेर हड्डी जोड्नुपथ्र्यो नि, हैन ? तर लगिएन । काम्रो बाँधियो, काम चलाइयो, काम लगाइयो । कामको धमाधमका बेला जाबो ढाड भाँचिएको मान्छेलाई पनि उपचारमा लग्न सकिन्छ र ? त्यसमाथि पनि महिलालाई ! लगिएन । काम्रो बाँधियो, काम चलाइयो, काम लगाइयो । हड्डीको जात काका, कतै न कतै त जोडिनै पर्ने । उहाँको भाँचिएको हड्डी जहाँ भाँचिएको थियो, त्यहीँ जोडिएन । ढाडको अर्कै हड्डीमा अन्तै जोडियो । एकदमै नमिल्ने ठाउँमा । नमिल्ने ठाउँमा जोडिने यो कला त्यो हड्डीले हाम्रो देशका पार्टीहरूबाटै सिक्यो होला है, काका ? हड्डी अन्तै जोडिएपछि उहाँको ढाड यति बांगो भयो कि त्यो ढाड डोरी नभएको धनुषजस्तो देखिन थाल्यो । यदि डोरी टाँगेर तन्काउने हो भने त्यो धनुष भाँचिने थियो । डोरी लगाउँदा भाँचिने धनुष काम नलाग्ने धनुष हो । हैन काका ? ठीक । उहाँ काम नलाग्ने हुनुभयो । अब काम नलाग्ने महिलाको किन उपचार गर्नू ? उपचार गर्नै चाहँदा पनि यति महँगो उपचार गर्ने बाटो खै ? बाटो भन्नाले उपचार गर्न पैसा जुटाउने बाटो क्या काका !

उपचार गर्दा ती हजुरआमाको ढाडलाई के गर्नुपर्छ, थाहा छ तपाईलाई ? मलाई थाहा छ । आजभोलि डक्टरहरूको संगतमा छु । उहाँको ढाड फेरि एकपटक भाँच्नुपर्छ । त्यो हड्डीलाई पुरानै हड्डीसँग जोड्नुपर्छ । औधि क्याल्सियम खुवाउनुपर्छ । डर के छ भने बुढेसकालको त्यो रगतले साथ नदिन पनि सक्छ । रगतको बुढेसकाल झन् कमजोर हुँदो रै’छ । रगतले साथ दिएन भने उहाँ डोरी जोड्ने ठाउँसमेत नभएको धनुष बन्नुहुनेछ । त्यसपछि त उहाँले बाँकी जीवनभरि एउटै दिन पर्खिनु पर्नेछ— आफ्नो शरीर जल्दै जल्दै थोपा–थोपा भएर कर्णालीका थोपाहरूमा मिसिने दिन । आफू धूवाँको टुक्रा भएर कर्णालीको एक टुक्रा आकाशमा मिसिने दिन । अनि त्यो दिन नआउन्जेलसम्म पन्ध्र मिनेट लगाएर एक गास निलिरहनु पर्नेछ । त्यही पनि कसैले दिए भने ।

काका !

यो फोटोमा देखिएका सबैसँग औंलाहरू छन् । फोहोर छन् तर औंलाहरू छन् । यी सबै औंलाले भोट हालेका हुन् काका । फोटोमा देखिन्छ या देखिन्न तर यी सबैसँग ढाड छन् । यी ढाड या त भाँचिएका छन्, या त लछारिएका । यी मान्छेहरूसँग एउटा फोक्सो पनि छ, जसलाई दिनरात कालो धूवाँले चिरहरण गर्छ । यी मान्छेहरूसँग आँखा पनि छन् । आँखा यति रोगी भइसकेका छन् कि यिनीहरूले सपना पनि धमिलो देख्छन् । यी सबैसँग छाती पनि छ । अलि बलियो गरी खोक्यो भने भत्कीजालाजस्तो छाती । त्यो छातीमा आँट छैन काका । आँट किन छैन भने नि उनीहरूको शरीरको दुईतिहाइ अंग आफ्नो होइन । रोगको हो । दुईतिहाइ आफूसँग नहुँदा आँट नहुँदो रै’छ काका ! यीसँग पैताला पनि छन्, नेपालको राष्ट्रिय झन्डामा भएका सूर्य र चन्द्रमामा ती तिखा–तिखा काँडाहरू छन् नि, तिनैले खोपेर होला कि क्या हो, यी पैतालाहरूमा प्वालै प्वालहरू छन् । 

यो शिविरमा भेला भएका प्रायःको रोग खुब पुरानो छ । ०६२/६३ को आन्दोलनभन्दा पुरानो, कसैको त ०४६ को आन्दोलनभन्दा पुरानो, २००७ तिरका रोगहरू खासै छैनन् काका । हुनु पनि हुन्न नि हैन ? कर्णालीको मान्छे त्यति लामो बाँच्ने ? देशलाई वर्षौं शोषण गरेको भाषा उत्पत्ति भएको ठाउँका मान्छे काँ त्यति लामो बाँच्ने ? देशलाई वर्षौं शोषण गरेको जाति भएको ठाउँका मान्छे कहाँ यति लामो बाँच्नु हुन्छ ? यी शोषकहरूको आयु यति लामो भयो भने त देशमा गणतन्त्र आएको के अर्थ भयो र काका ?

यहाँ भेला भएका रोगीहरूलाई हामी (अनमोल फाउन्डेसन)सँग नेपालगन्ज मेडिकल कलेजबाट आएका डक्टरहरूले सोध्नुभयो, “पहिल्यै डक्टरलाई भेट्न किन नजानुभएको ?”

उहाँहरूको उत्तर डरलाग्दो छ काका । भनुम् ?

“काम गरेन भने त खानै हुन्न, खानै पाइएन भने बाँचिदैन । रोगमात्रै लाग्दा त बाँच्न त बाँचिन्छ नि ! काम छोडेर उपचार गर्न कसरी लानू ?”

काका ! कोही रोगी भए भने यहाँ हिउँदमा मात्रै उपचार गराउन लाने चलन रै’छ । गरिबले दशैं–दशैंमा मात्र खसी खाने चलन भएजस्तो । नयाँ लुगा भनेकै नयाँ कक्षामा पुग्दा लगाउन पाइने स्कुले पोशाकजस्तो । अनि हिउँद भनेको उपचार गर्ने मौसम रै’छ, चाहे रोग जुनसुकै मौसममा लागोस् । कसै–कसैले उपचार गराउन तल लानुहुँदो रै’छ, तल भन्नाले काठमान्डू हैन है काका । काठमान्डू त यहाँका मान्छेका लागि मात्र २ वटा प्रश्नको उत्तर मात्रै हो रै’छ—

प्रश्न १ः तपाईंको राजधानी कुन हो ?

प्रश्न २ः तपाईंका प्रधानमन्त्री (पहिलेका राजा) कहाँ बस्नुहुन्छ ?

तल भन्नाले सुर्खेतसम्म, या त कोहलपुर वा नेपालगन्जसम्म । त्यो पनि प्राथमिकतामा पुरुष ।

काका ! कर्णालीमा लोग्ने मान्छेलाई राज्यले थिच्दो रहेछ, रोगले थिच्दो रहेछ । स्वास्नी मान्छेलाई राज्यले थिच्दो रहेछ, रोगले थिच्दो रहेछ, लोग्ने मान्छेले थिच्दो रहेछ । स्वास्नी मान्छेको त राज्य, रोग र लोग्ने मान्छेबाट हरेक दिन सामूहिक बलात्कार ।

शिविरमा आउनुभएका सयौं स्वास्नी मान्छेहरूले डक्टरहरूलाई सुनाएको रोग सम्झिँदा अहिले पनि हिँड्दाहिँड्दै ऐंठन होलाजस्तो हुन्छ । शिविरमा स्त्रीरोग हेर्नका लागि बनाइएको एउटा कोठामा मैले कुरा सुनेका २४ स्वास्नी मान्छेमध्ये १३ जनाले भन्नुभयो, “यस्तरी रोगले थलिनु भन्ना त मन्नु निको ।”

काका ! २४ मा १३ भन्नाले यहाँ आधाभन्दा बढी स्वास्नीमान्छे मर्ने प्राथना गरिरहेछन् । कहाँ–कहाँ पो रोग छैन हौ ! मैले भनें नि, दुईतिहाइ शरीरमा रोग छ । मैले यो चिठीमा ती रोगहरूको सूची तयार गर्ने हो भने तपाईंले यो चिठी यहीँ पढ्न छोड्नुहुनेछ । त्यसैले लेख्दिनँ । अँ, म भन्दै थिएँ— यहाँ आधाभन्दा बढी स्वास्नी मान्छे मर्ने प्राथना गरिरहेछन् । मेरो कानमा यो वाक्य गुञ्जिरहेछ, “पशुपतिनाथले हामी सबैको कल्याण गरून् !”

काका ! कर्णालीबाट टाढा भएर होला— पशुपतिनाथले उहाँहरूको प्राथना सुन्दैनन् । कतै पशुपतिनाथ राजधानीमा भएर त हैन ? हुन त पशुपतिनाथसँग फोन छ, तर कर्णालीमा प्रायः फोन नलाग्दो रै’छ । जुम्लाले काठमान्डूलाई एप्पल पठाइरह्यो तर एप्पल या अरु कुनै फोनमा काठमाडौंले नेटवर्क पठाएन ।

पशुपतिनाथ पुरुष भएकाले यहाँका स्वास्नी मान्छेको कुरा नसुनेका त हैनन् होला है काका ? यहाँका पुरुषले त खासै नसुन्दा रहेछन् । हुन त देशैभरिका पुरुषहरूले खासै सुन्दैनन् । शरीरलाई गाह्रो भएका बेला पनि श्रीमान्लाई ‘आज ममाथि नचढ्नुस्’ भन्ने आँट यहाँका स्वास्नी मान्छेसँग रहेनछ । ढाडै भाँचिएकाहरूले पनि त्यसो भन्न सक्दारहेनछन् । यो देवी पुजिने भूमिमा यस्तो कसरी भयो काका ? कर्णालीमा मात्रै हैन, यो देशमै स्वास्नी मान्छेको हड्डी भाँचिएर पनि आफ्नो लिंगको इच्छा पूरा गर्न लोग्ने मान्छेहरू कसरी तयार भए ? लिंगमा हड्डी नभएर हो ?

काका हौ ! केही गरूम् न ! म आफू पनि रोगी भएर होला कि क्या हो, रोगीहरूको खुब माया लाग्छ । दया हैन । तपाईं पनि त रोगी हुनुहुन्छ । तपाईंहरू भन्नुहुन्थ्यो नि, ‘संसारभरिका मजदुरहरू एक होऊँ !’ मलाई पनि भन्न मन लागेको छ, “संसारभरिका रोगीहरू एक होऊँ !”

डाक्टरलाई भेट्नकै लागि भएको जनयुद्ध देख्नुभएको छ काका ? यो फोटो हेर्नुस् ।


डक्टरहरूलाई आफ्नो सबैभन्दा पुरानो साथी (रोग)सँग भेट गराउन हुँदै गरेको जनआन्दोलनको एक टुक्रा हो यो । यो शिविरमा डक्टरहरूले करिब १ हजार बिरामीको रोग हेर्ने र औषधि दिने काम गर्नुभयो । यत्रा गाउँले यहाँ आए तर अस्पताल किन गएनन् भन्नेजस्तो तपाईंलाई लाग्यो होला । किनभने—

१) यो स्वास्थ्य शिविर निःशुल्क थियो ।
२) यो स्वास्थ्य शिविर बिरामीहरूको गाउँमा गएको थियो ।

आफैं अस्पतालसम्म पुग्न जुन आँट, पैसा, समय र चेतना चाहिन्छ, त्यो यहाँ पर्याप्त छैन ।

बिन्ती काका ! जसरी शहरहरूमा सामानहरूको निःशुल्क होमडेलिभरी हुन्छ, त्यसैगरी विकट गाउँहरूमा डक्टर र औषधिहरूको निःशुल्क होमडेलिभरी गर्दिनुपर्‍यो ।

तपाईं देशको अभिभावक हो काका । आफ्ना परिवारहरूको रोग पत्ता लगाउनुस् । जुनै सदस्यले जति नै पैसा कमाए पनि यदि परिवारमा एउटा सदस्यमात्र रोगी छ भने पनि त्यो सिंगो परिवार रोगी हुन्छ । यो स्वास्थ्य शिविर सञ्चालन गर्ने 'अनमोल फाउन्डेसन'ले अघिल्लो पटक कालिकोटको कालिका गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटुमा प्वाल भएका चार बालबालिका भेटिए । तिनको उपचार गरियो र निको भए । काका ! मुटुका प्वाल टालिएका यिनै बालबालिकाले भोलि देशका प्वाल टाल्नेछन् । त्यो शिविर सञ्चालन नभएको भए पानको पातजत्रा ती मुटुहरूलाई हल्का हावाले भुइँमा झारिदिने थियो । यो देशमा कति धेरै मुटुमा प्वाल छन् ? त्यो पत्ता लगाउने काम तपाईंको हो काका । यो देश हाँक्ने नेता जन्माउने कति वटा पाठेघरमा क्यान्सर हुन लागेको छ, त्यो पत्ता लगाउने काम पनि तपाईंकै हो काका !

यो कवि भावुक भएर आँशु झार्दै यस्तो लेख्यो भन्ने नठान्नुहोला, रिस उठ्दा पनि आँशु नै झर्छ ।

तपाईं पनि शब्दसँग यति मीठो खेल्नुहुन्छ, तपाईं पनि त कवि नै हो । कल्पना गर्नुस् कविजी कल्पना ! अस्ति ‘रारा पर्यटन वर्ष २०७५’को घोषणा गर्न तपाईं र अरु सयौं मान्छे रारा पुग्दा लाखौं खर्च भएको रहेछ । तर, कल्पना गर्नुस् कविजी, त्यो पैसाले कर्णाली क्षेत्रमा ५० वटा स्वास्थ्य शिविर सञ्चालन गरेर त्यसैलाई ‘रारा पर्यटन वर्ष २०७५’को उद्घाटन भनी घोषणा गरेको भए कति धेरै मुटुका प्वाल टालिन्थे होला ? कति धेरै हड्डीहरू सही ठाउँमा जोडिन्थे होला ? कति धेरै आमाका पाठेघरहरू जिउँदै बचाउन सकिन्थ्यो होला ! कल्पना गर्नुस् कविजी, कल्पना !

विभिन्न बहानामा गरिने फेद न टुप्पोको भ्रमणमा हुने राज्यको करोडौं पैसा अब देशका जनताको रोग पत्ता लगाउन र त्यसको उपचार गराउन खर्च हुनुपर्छ । म फेरि दोहोर्‍याऊँ काका ? जसरी शहरहरूमा सामानहरूको निःशुल्क होमडेलिभरी हुन्छ, त्यसैगरी विकट गाउँहरूमा डक्टर र औषधिहरूको निःशुल्क होमडेलिभरी गर्दिनुपर्‍यो ।

कालिकोटको ताडी गाउँमा पैदल हिँड्दा मैले सयौं रोगहरूलाई भेटें काका । ती रोगहरू आफू ठ्याक्कै को हुँ भनेर चिनिन चाहन्छन् । रोगहरूलाई पनि आफूलाई चिनिन मन लाग्दो रहेछ काका ! एउटा स्वास्थ्य शिविर त्यहाँ गर्नु छ । त्यो गाउँका रोगहरूले तपाईंलाई सोध्दै थिए, “पर्धानमुन्तिरीज्यू, तमी निकै छौ क्या ?”

६ महिनाको बिरामी बच्चालाई सुइँ हान्न डक्टरहरूले नसा खोज्दाखोज्दै कर्णालीमा अनमोल शाहीको मृत्यु भयो । उनका बाबु निराजन शाहीको नसाबाट पनि आँसु बग्यो । आफूले ६ महिने छोरो गुमाए पनि अरु अनमोल बच्चाहरू उपचार नपाएर नमरून् भनेर निराजनले ‘अनमोल फाउन्डेसन’ खोले । त्यही फाउन्डेसनले गरिरहेथ्यो जुम्लाको गाउँ गोठीज्युलामा यो स्वास्थ्य शिविर । रारा तालमा साहित्यिक र सांस्कृतिक महोत्सव गर्न हिँडेको यो ‘अनमोल फाउन्डेसन’ले त्योभन्दा महत्त्वका साथ यो स्वास्थ्य शिविर आयोजना गर्‍यो ।

काका ! मैले रारा तालको छेवैमा कविता कन्सर्ट गरें । सयौं मुगाली जनतालाई कविता सुनाएँ तर मलाई लागिसक्यो कि अब म कविता कन्सर्टमा भन्दा बढी निःशुल्क स्वास्थ्य शिविरमा हुनुपर्छ । मैले कर्णालीमा जति सुन्दर दृश्यहरू देखें, त्योभन्दा सुन्दर बाटाहरू देखें, जसबाट बिरामीलाई डक्टरसम्म पुर्‍याउन सकिन्छ । सुन्दर कर्णालीलाई सजिलो कर्णाली पनि बनाउनुपर्छ । ‘रारा पर्यटन वर्ष २०७५’ सफल रहोस् ।

काका ! तपाईं आफैं रोगी हुनुहुन्छ, त्यसैले तपाईंलाई थाहा छ— रोगी मान्छेहरूलाई गरिएको एक थोपा माया एक नदीजति हुन्छ । काका ! मेरो बुबालाई तपाईं खुब मन पर्नुहुन्छ । मलाई पनि तपाईं खुब मन पथ्र्यो । तर, किन–किन मलाई लाग्छ— तपाईं औधि मन पराइनु पर्ने मान्छे हो । रोगी कविलाई मान्छेले खुब मन पराउँछन् भन्ने कुरा मलाई थाहा छ । जनतालाई तपाईंसम्म पुर्‍याउने केही मान्छेहरूमा समस्या छ जस्तो लाग्छ । तपाईंसम्म पुग्ने त्यो च्यानल झिरझिर छ जस्तो लाग्छ । तपाईंलाई नदीको सम्झौताका बारेमा बताउने मान्छेहरू होलान् तर तपाईंलाई बेला–बेला पानी पिउन सम्झाउने मान्छेहरू छैनन् होला । काका ! साना कुरामा माया गर्नेहरू ठूला हुन्छन् ।

तपाईंलाई देशका रुखहरूको सम्झौताबारे बताउनेहरू होलान् तर तपाईंलाई कुनै रुखको छहारी ओढ्दै एक फोक्सो शुद्ध हावा लिन बेला–बेला रुखहरूतिर लाने मान्छे छैनन् होला । भन्नुपर्ने कुराहरू अझै छन्, अर्को चिठिमा भनौंला ।

यो लेखिरहँदा म कालिकोटमा छु । मैले कर्णालीबाट विषादी नहालेको हिमाली जडिबुटीको चिया ल्याएको छु, जुम्ली सिमी ल्याएको छु, जुम्लाका स्याउको चाना ल्याएको छु, दाँते ओखर ल्याएको छु, कोदोको पीठो ल्याएको छु । केही दिनपछि काठमान्डू फर्किंदै छु । यीमध्ये हजुरलाई केही चाहिए म एउटा पोको कर्णालीको कोसेलीस्वरूप जरुर दिनेछु । मैले भनें नि, म आफू रोगी भएर होला— रोगीहरूको खुब माया लाग्छ ।

यति लामो चिठी पढुन्जेल धेरै समय बितिसक्यो, तपाईंलाई डिहाइड्रेसन नहोस् । एक गिलास उमालेको तातो पानी पिउनुहोला । 

उही तपाईंको झापाली भतिज
नवराज पराजुली
अहिले मान्म, कालिकोट ।

 

तपाईंको मत