विचार

ओलीलाई अब आराम 

कुसुम भट्टराई

ओलीलाई अब आराम 

प्रधानमन्त्री केपी ओलीलाई अब आराम गर्न दिनुपर्छ । पंक्तिकारको यो आग्रह तिनीहरूप्रति लक्षित छ जो प्रधानमन्त्री ओलीका असली शुभचिन्तक हुन् । ओलीको पद र प्रतिष्ठालाई हैन स्वयं केपी शर्मा ओलीलाई हृदयदेखि प्रेम गर्छन् ।  राजनीतिक र पदीय स्वार्थका लागि ओलीको आसपास घुमिरहेका नेता कार्यकर्ताका दृष्टिमा यो आग्रह अनुचित लाग्नसक्छ तर मानवीय कोणबाट हेर्दा ओलीलाई यतिबेला आरामको बढी खाँचो छ । 

उनको स्वास्थ्यको ख्याल गर्ने हो भने अब उनले दैनन्दिनको कार्यकारी झमेला, समग्र बेथितिलाई लिएर आफूमाथि भइरहेको चौतर्फी आलोचनाको खण्डन र राजनीतिक उहापोहको जंजालमा नफसी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ । 

सरकारको कार्यशैली र अनेकौं बेथितिलाई लिएर मुलुकमा चौतर्फी आक्रोश छ । जनदबाब बढ्दै छ र त्यसले कुनै पनि बेला विस्फोटकरूप लिनसक्छ । विखण्डनकारी तत्त्वहरु सलबलाइरहेका छन् । अतिवादी शक्ति दाउ हेरीरहेका छन् । दक्षिणतिरबाट बेमौसममै ‘लु’ चल्न थालिसकेको छ । उत्तरतिरबाट मौसमी हिमपात हुनसक्छ । यी सब परिस्थितिलाई झेल्नु भनेको फलामको चिउरा चपाउनुसरह हो । 

औषधि खाएर आराम गर्नुपर्ने प्रधानमन्त्रीलाई अब फलामको चिउरा चपाउन बाध्य नपारौँ । चौध वर्ष जेल जीवन बिताएर अनेकौं दुःख कष्ट झेलेको जीर्ण शरीरलाई अब धेरै दुःख नदिऊँ । 

नेकपा (नेकपा)का शिर्ष नेताहरूले एकै स्वरमा भनून् – अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र सके दोस्रो पुस्ता, नसके समकालीन ‘योग्य’ व्यक्तिलाई सत्ता हस्तान्तरण गरेर आफु चाहिँ सल्लाहकारका रूपमा रहनुपर्छ, अभिभावकका रुपमा मार्गदर्शन गर्नुपर्छ । 

एउटा मानिसको जीवनमा उसको शरीर, मन र आत्मा प्राथमिक वस्तु हुन् । यी तीन आयामपछि नै संसारका बाँकी सारा आयामको अर्थ र महत्ता रहन्छ । तन रहे न मन पनि रहन्छ । मन रहे, दुई तिहाइ जन पनि रहन्छ । अतः मन र जनको मोह छाडेर यतिबेला ओलीले आफ्नो तनकै ख्याल गर्नुपर्छ र यसका लागि सत्ताको बोझ बाधक हुनसक्ने भएकाले त्यसबाट मुक्त हुने बाटो रोज्नुपर्छ । 

एउटा भ्रम या गलत सोच के छ भने सत्तामा रहँदा मानिसको स्वास्थ्य ठीक हुन्छ र मुहारमा कान्ति आउँछ । राज्यको ढुकुटीबाट बेलायतदेखि अमेरिकासम्म पुगेर उपचार गर्न पाइने भएकाले प्रायः रोगी नेताहरु पनि सत्तामा जान लालायित हुनेगरेको देखिएको र सुनिएको छ । तर, शरीरको आफ्नै विज्ञान छ र त्यससँग सत्ताको कुनै साइनो छैन ।

निश्चय नै, ओलीलगायतका केही नेता यस मामिलामा शौभाग्यशाली छन् । तिनले आफ्नो सघन रोगको उपचारका लागि निजी खर्च गर्नु परेन । तर, यसो भन्दैमा सत्ता या पदमा रहँदासम्म कोही मानिस निरोगी नै रहिरहन्छ भन्ने त हैन । 

बरु, सत्ता यस्तो उत्तेजना र तनावको विषय हो, जसले मानिसलाई भागदौड, धपेडी, अहङ्कार, अनावश्यक आवेग, भय, क्रोध, आक्रोश, घृणा र प्रतिरक्षात्मक भावमा डुबाइदिन्छ । अनि मानिस थाहै नपाई भित्रभित्रै बिरामी भइरहेको हुन्छ । चरम अवस्थामा पुगेपछि मात्र त्यो सतहमा प्रकट हुन्छ । सत्ता सुखको आभास त क्षणिक न हो । 

विसं २०४६ सालमा बहुदल आएयताका केही शीर्ष नेताको रेकर्ड हेर्ने हो भने उनीहरू सत्ता प्राप्तिको उल्लास र दम्भ तथा सत्ता बहिर्गमनपछिको निराशा रउवं तनावकै बीचमा बिरामी परेका देखिन्छन् । विसं २०६३ साल असार १९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि छातीमा इन्फेक्सन भएकाले अस्पताल भर्ना गरिएको थियो । क्रोनिक ब्रोंकाइटिसबाट पीडित कोइरालाले त्यतिबेला नेपाली राजनीतिको निकै जटिल संक्रमणकालीन अवस्थाको नेतृत्व गर्नुपरेको थियो । सक्रिय एवं गतिशील नेताको छवी बनाएका कोइरालाले त्यो शारीरिक रुग्णताबीच पनि मुलुकलाई निकास दिन योगदान पुर्‍याएकै हुन् । त्यसको कदर इतिहासले गरिसकेको छ । 

तैपनि, कोइरालाप्रति कृतज्ञताको साटो कृतघ्न स्वभाव देखाए तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले । उनले कोइरालाई गम्भीर धोका दिए र ‘राष्ट्रपतिमा सघाउने’ पूर्व सहमति तोडेर रामराजाप्रसाद सिंहलाई अगाडि सारे । यस्ता केही घटनाबाट कोइरालाको बुढो शरीर क्रोधित हुनुपुग्यो, आवेगमा आउनुपर्‍यो । यही तनावकै बीच उनको व्यथा बल्झिँदै गएको हुनसक्छ । 

सत्ता आफैँमा उत्तेजना र तनावको जननी हो । हरेक दिन सयौं मानिसको गनगन सुनिरहनु पर्ने अध्यवसाय हो – सत्ता । क्यान्सर र निमोनियाबाट पीडित अर्का पूर्व प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका गइरहन्थे । प्रधानमन्त्रीबाट हटिसकेपछि पनि उनले मान अपमानका धेरै उहापोहबाट गुज्रनुपर्‍यो । सत्ता राजनीतिको उच्च आवेग र तनावकै बीच उनको पनि व्यथा बल्झिँदै गयो । 

प्रधानमन्त्री बन्ने चाहना राख्नु राजनीति गर्नेका लागि स्वाभाविकै हो । सत्ताले एक खालको मानसिक सन्तुष्टि पनि पक्कै दिलाउँछ । सबैभन्दा ठूलो त, मानिसको अहंकारको तुष्टि गरिदिन्छ । प्रधानमन्त्री भएपछि उसले आफूलाई सिंहदरबारको भित्तामा टाँगिने नेपालका केही विशेष मानिसको कोटीमा राख्न पाउँछ र त्यही क्षणिक आनन्दको सिरानी हालेर निदाउने कोसिस गर्छ । तर, सिंहदरबार र बालुवाटार भनेको आफँैमा यस्तो कोलाहलको केन्द्र हो जसले कसैलाई पनि शान्तसँग निदाउन दिँदैन भन्ने प्रधानमन्त्री हुनेले बिस्तारै चाल पाउँदै जान्छ । 

हो, सत्ताले निरोगीलाई रोगी बनाइदिन्छ, रोगीलाई झन् रोगी बनाइदिन्छ । अझ, आजको अस्थिर र अराजक राजनीतिमा अस्तिसम्म फुर्तीफार्ती गरेर टेलिभिजन अन्तर्वार्तामा ‘यो सरकार पाँचै वर्ष टिक्छ’ भनेर दम्भ गरिरहेको प्रधानमन्त्रीको टाउकोमा कतिबेला सत्ता बहिर्गमनको तरबार झुन्डिन्छ र कतिबेला तिनको रक्तचाप उच्च हुन्छ भन्ने ठेगानै हुँदैन । कतिबेला तिनको मुटुको धडकन बढ्छ भन्ने पनि निश्चीत हुँदैन । ‘सुगर लेभल’को त कुरै छाडौँ । छिनछिनमै घटबढ भइरहन्छ । 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको सनासोले प्रधानमन्त्री ओलीको घाँटी समातिरहेको छ । सर्वत्र बेथितिको दोष ओलीकै थाप्लोमा छ । ठीक यसैबेला आफ्नै पार्टीका नेता माधवकुमार नेपालले संसद्मै सरकारविरुद्ध कटाक्ष गरिदिए । आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल दुईपटक दिल्ली धाइसके । माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सिताराम येचुरी यसैबेला नेपाल आए । यसरी दक्षिणतिरबाट ‘लु’ चल्न सुरु भइसकेको अवस्था प्रधानमन्त्री ओलीका लागि पक्कै पनि सहज थिएन होला । त्यसले उनमा तनाव बढायो कि ? 

विसं २०७२ फागुनमा प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जान लागेका ओलीलाई विमानस्थलमा पत्रकारले सोधेका थिए, ‘भारतको ६ दिने भ्रमणमा बिरामी प्रधानमन्त्रीको साटो अन्य मन्त्रीलाई पठाए हुँदैनथ्यो र ?’ 
प्रधानमन्त्रीले कड्किदै भनेका थिए, ‘को बिरामी प्रधानमन्त्री ?’

यतिबेला भने उनी साँच्चै बिरामी परेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओली शुक्रबार बेलुका डिस्चार्ज भएका छन् । चिकित्सकहरुले पनि उनलाई आराम गर्न सुझाव दिएका छन् । मेरो सामान्य अनुमानले पनि भन्छ – सत्ताको तनावले नै उनी बिरामी परेको हुनुपर्छ । 

ओलीको अवस्था एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको जस्तो हैन जो हेलिकोप्टर दुर्घटनाबाट घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरिएका थिए । अस्पतालमा भर्ना भएकै बेला २०५२ साल असोजमा अधिकारीविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको थियो र उनको कारुणिक सत्ता बहिर्गमन भएको थियो ।

ओलीको अवस्था फरक छ । उनले चाहेमा महिनौ अस्पतालकै बेडमा रहेर राजकाज गर्न सक्छन् । यस्तोबेला उनलाई सत्ताबाट हटाउने शक्ति कसैसँग छैन । तर, प्रश्न के हो भने उनले कहिलेसम्म सत्ताको यो तनाव सहिरहने ? अतः अब उनलाई आराम अपरिहार्य छ ।   चौध वर्षसम्म कष्टकर जेल जीवन बिताएको एउटा नेताको ज्यानलाई अब धेरै दुःख र कष्टको अग्निमा नहोमौ । 

तपाईंको मत