ब्लग

#Metoo अभियान र पीटीएसडी समस्या 

सजीना ढुंगाना

#Metoo अभियान र पीटीएसडी समस्या 

#Metoo अभियान अहिले चर्चामा छ । हलिउड, बलिउड हुँदै नेपालसम्म आइपुगेको यो अभियानमा नेपालका केही प्रभावशाली ब्यक्तिहरु पनि मुछिएका छन् । हुनत सन् २००६ मै सामाजिक अभियन्ता तराना बुर्कले #Metoo अभियान सुरु गरेकी थिइन् । तर, त्यसले गति भने सन् २०१६ मा अमेरिकी अभिनेत्री एलिसा मिलानोले ट्विटरमार्फत सुरु गरेपछि मात्रै लियो । त्यसअघि सन् १९९१ मा अमेरिकामै न्यायाधीश क्लेरन्स थोमसविरुद्ध उनीसँग काम गरेकी अनिता हिलले लगाएको यौन दुर्व्यवहारको आरोपले सारा संसारको ध्यान आकर्षित गरेको थियो । र, २०१६ मा नै यस घटनामा आधारित ‘कन्फर्मेसन’ नामको सिनेमा पनि बनेको थियो । 

यी यावत सन्दर्भलाई यहाँ जोड्नुको तात्पर्य #Metoo अभियानको व्याख्या गर्नु नभई #Metoo अभियानका राम्रा नराम्रा पक्षलाई  केलाउनु मात्रै हो । तथापि पक्का के हो भने #Metoo अभियानले संसारभरका कैयौं व्यक्ति – विशेषगरी महिला– कार्यक्षेत्रमा मात्रै नभएर अरू क्षेत्रमा पनि सुरक्षित छैनन्, उनीहरू यौन हिंसाका विभिन्न रूपरंगबाट पीडित छन् भन्ने छर्लङ्ग पारेको छ । 

व्यक्त गर्न नसकिएका यौन उत्पीडन वा हिंसाको चोटले पीडितलाई कति पीडा हुन्छ त्यो त भोग्नेबाहेक अरू कसैले पनि महसुस गर्न सक्तैन । केही शारीरिक चोटका साथै यस्ता घटनाले व्यक्तिको मानसिक स्वास्थ्यमा ठूलो आघात पर्न सक्छ । पीडाका विषयमा कसैलाई भन्न नसकेको, भनिहालेमा पनि त्यसकालागि केही गर्न नसकेको, पीडकसँगै पटकपटक काम गर्नुपरेको दारुण स्थिति वा पटकपटक त्यस्तै खालको परिस्थितिबाट गुज्रिनुपर्नेे अवस्थामात्र नभएर लामो समय त्यस पीडालाई लुकाएर, दबाएर राख्नुपर्दा व्यक्ति कति मानसिक तनाबबाट गुज्रिन्छ, त्यस्को लेखाजोखै गर्न सकिन्न । 

यस स्थितिमा त्यस्ता पीडित व्यक्ति वा महिलामा डिप्रेसन, तनाव, अनिद्रा जस्ता समस्या तत्काल उत्पन्न हुनसक्छ । यो अवस्था ज्यानै जोखिममा पर्नेसम्मको हुनसक्छ । यसले पीडितलाई कार्यक्षेत्र बाहिर पु¥याउने मात्र होइन जिन्दगीपर्यन्त मानसिक तनाबबाट पीडित बनाई पोस्ट ट्रोमाटिक स्ट्रेस डिस्अर्डर ( पीटीएसडी) को रोगी बनाउन सक्छ । 

पीएसटीडी के हो र यसले कसरी एउटा व्यक्तिको मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ, यस बारेमा संभवतः शर्मिला (नाम  परिवर्तन) को भोगाइले छर्लङ्ग बनाउन सक्छ । 

विवाहको उमेरमा पुगेकी २५ वर्षकी शर्मिला विवाह भन्नासाथ तर्सिन्थिन् । यता नेपाली परिवेशमा उनको परिवारका सदस्यको हतारोलाई पनि अन्यथा भन्ने स्थिति थिएन । पेशाले शिक्षक शर्मिलाको घरमा विवाहका लागि जब दबाब सुरु भयो उनको निद्रा र भोक दुवै गायब भए । अकस्मात् आएको यो बदलाव थाम्न गाह्रो भएपछि एक सँगिनीको सहयोगले उनी मसम्म आइपुगेकी थिइन् । 

काठमाडौंको मध्यमवर्गीय परिवारमा हुर्किएकी शर्मिलाको पढाइ लेखाइ काठमाडौंमा नै भयो । आकर्षक जिउडाल, सुन्दर अनुहार भए पनि उनी भन्थिन् – ‘मेरा लागि यही नरमाइलो हो ।’ झट्ट सुन्दा कस्तोकस्तो लागे पनि शर्मिलाका लागि सुन्दर हुनु नै अभिशाप भइदियो । शर्मिलासँगका केही सेसन बितिसकेपछि निकै गाह्रोसँग उनले आफ्नो विगत खोलिन् । 

‘म कक्षा १० मा पढ्थेँ । होस्टल वार्डनले होस्टल आउजाउ गर्दा घुरेर हेर्नुहुन्थ्यो । असाध्यै डर लाग्थ्यो । चहिने नचाहिने बहानामा बोलाइरहनुहुन्थ्यो । उहाँको अफिसमा एक्लै हुँदा उहाँको आँखा मेरो शरीरभर घुम्थ्यो । त्यहीँ अलप भए पनि हुन्थ्योजस्तो लाग्थ्यो । म सधैँ रुँदै भाग्थेँ ।’ 
यो सबै भनिरहँदा शर्मिलाको अनुहारमा एक खालको डर अनि रिस महसुस गरेँ मैले । केही बेर मौन रहिन् उनी । एक घुट्को पानी पिएपछि उनका आँखा रसाएर आए । भनिन् – ‘एक्लै भएकोे बेला छेउमा आएर बस्ने, कहिले ढाड मुसार्ने, कहिले गाला चिमोट्ने गर्नुहुन्थ्यो उहाँले । मैले कहिल्यै प्रतिरोध गर्न सकिन । एक्लै बस्थेँ र  रुन्थेँ ।’ 

उनको आँखाबाट बररर आँसु झर्‍यो । मैले भने, ‘शर्मिला, सबै कुरा मलाई सुनाउनु नै पर्छ भन्ने छैन । यो कुरा भन्न सजिलो छैन....’ 

मेरो कुराबीचमै काटेर उनले भनिन् – ‘होइन, १० वर्षदेखि आफूमा दबाएर राखेको आजै भन्छु । फेरि भन्न सक्छु कि सक्तिन, थाहा छैन ।’ 

पानी पिएर उनले फेरि भन्न सुरु गरिन, ‘घरमा पनि केही भन्न सकिन । होस्टलमा बस्दिन भनेँ घरमा । एक वर्ष हो बसबस भन्नु भयो । एसएलसी राम्रो नम्बरले पास हुनुपर्छ भनेर सम्झाउनु भयो । होस्टल सकिन एक महिनामात्रै बाँकी थियो होला, वार्डेनले एकदिन च्याप्प समातेर मेरो रुममा जाऊँ भन्न थाल्नु भयो । छुटाउने कोसिस गरेँ तर सकिन । खै कताबाट आँट आयो । चिच्याउन पुगेछु । म चिच्याए पछि उहाँ जानुभयो त्यो दिन । तर भोलिपल्ट ‘किन चिच्याएको पख तलार्इँ, मैले जानेको छु, के गर्छु’ भनेर धम्क्याउनु भयो । त्यसपछि होस्टलमा त्यो एक महिना बिताउन मलाई कति गाह्रो भयो भयो । म बाथरुम जाँदासमेत साथी लिएर जान्थेँ । वार्डेन कतै कुनामा बसेको छ कि भनेर हेर्दै हिँड्थेँ । एक दिन त आफ्नै छायासँग पनि डराएर चिच्याइछु । त्यो रात हन्हनी ज्वरो आयो । बिरामी नै भएपछि घर फर्काउन करै लाग्यो ।’

मैले सोधे ‘घर फर्केपछि त सजिलो भयो होला नि ?’

उनले भनिन्, ‘घर आए पछि राति सुत्न सकिन । सपनामा पनि आत्तिन्थेँ । चिच्याउँदै उठ्थेँ । पछि त एक्लै सुत्न नसक्ने भएँ । नयाँ मान्छेसँग, आफन्तसँग पनि एक्लै भेटघाट गर्न गाह्रो भयो । बस्न सकिन । सानोसानो कुरामा रुवाइ छुट्थ्यो । एक्लै त एकैछिन पनि बस्न सकिन । यहाँसम्म कि एसएलसीको परीक्षा दिँदासमेत ममीलाई सेन्टरसम्म लग्थेँ । जहाँ पुगे पनि वार्डेनले नै तर्साउँथ्यो । मेरो पछिपछि कोही आइरहेको जस्तो भान हुन्थ्यो । अझै पनि एक्लै हिँड्दा आत्तिन्छु । नयाँ मान्छेसँग अझै बोल्न डर लाग्छ । स्कुलमै काम रोजेको पनि यही कारण हो । साना बच्चासँग सजिलो महसुस हुन्छ मलाई ।’ 

उनले एकै सासमा यी सारा कुरा भन्न भ्याइन् । सबै कुरा सुनाउने हतारो थियो उनलाई । बीचमा थप कुरा अझै थिए होलान् । तर, त्यति नै पनि उनले भन्नु आफैँमा साहसिलो कार्य थियो । केहीबेर शून्यमै बस्यौँ हामी । म भने उनले लामो समयदेखि भोगिरहेको पीटीएसडीको समस्याबाट उनलाई कसरी निकाल्ने भनेर सोचमा परेँ ।

हुनत, यौन उत्पीडनले मात्रै मानसिक विचलन ल्याउने होइन । यो सुरु हुन जैविक, वंशाणुगत, सामाजिक, व्यवहारिकलगायत अरू थुप्रै कारण छन् । त्यसमाथि पीटीएसडी अवस्थामा पुग्न यौन उत्पीडनमा पर्नुपर्ने पनि होइन । कुनै पनि भौतिक, व्यक्तिगत क्षतिलगायत कुनै पनि प्राकृतिक विपद्जस्तै भुँइचालो, बाढी, आगजनी इत्यादिमा पर्नु वा त्यस्को अनुभव हुनुमात्रै पनि पीटीएसडीका लागि पर्याप्त हुन्छ । तर आजका लागि भने पीटीएसडी विशेषगरी यौन उत्पीडनसँग जोडिएकोले यसैको कुरा उठाइएको हो ।

पीटीएसडी जस्ता समस्याले मानसिकरूपमा मात्रै नभई शारीरिक रूपमा पनि धेरै घात गर्छ । टाउको दुख्ने, हात खुट्टा झम्झमाउने र दुख्ने, निद्रा नलाग्ने, राति निद्रामा आत्तिएर उठ्ने, चिच्याउनेलगायत  मुटुको ढुकढुकी बढ्ने, खल्खल पसिना आउने, सास नपुगेजस्तो भई गाह्रो हुनेजस्ता लक्षण पनि देखिन सक्छ । लामो समयसम्म यस किसिमको समस्याको उपचार नखोज्ने हो भने ठाउँ, व्यक्ति र समय पनि पहिल्याउन नसक्ने अवस्थामा पुग्न सकिन्छ । 

खासगरी काउन्सिलिङ वा परामर्शले यस समस्याबाट बाहिर निस्किन सहयोग गर्छ । तथापि, केही जटिल अवस्थामा भने मनोचिकित्सकको सहयोग आवश्यक हुनजान्छ । यस स्थितिमा बिरामीले तनाव कम गर्ने एन्टी एन्जाइटी औषधि प्रयोग गर्नुपर्ने हुन्छ । 

यस्तो पीडा भोगेको पहिलो दुईतीन साताभित्रै केही लक्षण देखिए पनि कतिपय व्यक्ति निकै लामो समय र केही अवस्थामा आजीवन उपचार नै नगरी रोगसँगै लडिरहेका हुन्छन् । यौन उत्पीडनको सिकार भएकाहरू यौन उत्पीडनका समाचारमात्रैले पनि आत्तिने र डराउने हुन सक्छन् । हुनत हाम्रो दिमागले डरसँग लड्ने कि भाग्ने (फ्लाइट अर फाइट)को निर्देशन लिन्छ । धेरैजसो अवस्थामा हामी यो निर्देशनको पालना गरिराखेका नै हुन्छौँ तर यौन उत्पीडनबाट पीडित भएको अवस्थामा भने हाम्रो दिमागले राम्ररी काम गर्न सक्दैन । हामी प्रतिरोध गर्न नसक्ने अवस्थामा हुन्छौँ । यसलाई ‘फ्रिजी’ अवस्था भन्न सकिन्छ । यस्ले गर्दा सामान्य अवस्थामा हुनसक्ने काम त्यस अवस्थामा नहुन सक्छ । यो स्थितिमा हामीले आफूलाई मानसिकरूपमा टाढा लैजान्छाैँ । हामी टाढाटाढा हुँदै जान्छौँ । यसैकारण पनि हामी यस्ता पीडादायी प्रसंग अरुलाई भन्न सक्तैनौै । सुनाउन सक्तैनौ । यो केही हदसम्म हामीले आफूलाई दिएको सुरक्षा (डिफेन्स मेकानिज्म) नै हो । 

पीटीएसडी भएका व्यक्तिले पीडालाई कसरी भोग्छन् भन्ने व्यक्तिपिच्छे फरक हुनसक्छ तर सामान्यतः पुनर्अनुभव  (री–एक्सपिरियन्स)मा तर्सिने, निन्द्रामा अत्तिनेलगायतका लक्षण देखापर्न सक्छ । 

अर्को अवस्था भनेको वास्ता नगर्नु पनि हो । यसमा पीडितले जानी नजानी आफूले भोगेका अवस्थाको बारेमा कुरा गर्न नचाहने, नगर्ने, कुरा पन्छाउने व्यवहार देखाउँछ । अनि सधैँ गर्दैआएको क्रियाकलाप पनि गर्न छोड्छन् । अत्यधिक उत्तेजना हुने अर्को अवस्था हो – फ्लाइट अर फाइटको अवस्था । यसमा पीडित व्यक्ति दिमागले अह्राएअनुरूप आफ्नो सुरक्षा गर्न तम्तयार बस्ने निर्णयमा पुग्छ । यो अवस्था ठ्याक्कै पीडा भोगिरहेको बेला दिमागले जसरी काम गरिरहेको अवस्था हुन्छ, त्यही नै हो । 

शर्मिलाको अवस्थामा भने ‘री एक्सपिरियन्स’ र अधिक तनाव दुवैको मिश्रण देखिन्छ । यौन उत्पीडनमा देखिने सबैभन्दा महत्त्वपूर्ण लक्षण आफूले गर्दै आएको काम गर्न नसक्नु, पटकपटक पीडाबोध भइरहनु, आफ्नो शरीर र मन आफ्नोजस्तो नलाग्नु, कसैमाथि पनि विश्वास गर्न नसक्नु, सानो आवाजबाट तर्सिनु, आत्तिनु, आफूलाई सकेसम्म एक्लै राख्नु, सम्बन्ध गाँस्न नसक्नु, डिप्रेसनमा जानु आदि नै हुन् । यसबाहेक रक्सी, चुरोटको अम्मलतिर पनि ती लाग्नसक्ने अवस्था रहन्छ ।   

शर्मिलाको कुरा सुन्दै जाँदा मेरो मन पनि चिसो हुँदै आयो । सुन्दैमा पनि कहाली लाग्दो । एउटा १५ वर्षकी किशोरीले भोगेको समस्या, जसले उनलाई १० वर्षसम्म दुःख दिइरहेको छ । त्यसको पीडा न त उनको मनबाट मेटिएको छ, न त शरीरबाट नै । बिहे गर्ने भन्ने सोचमात्रैले पनि उनको पुरानो घाउ उप्काइदिएको छ । एउटा पुरुषसँगको उठबस, सहवासको सोचमात्रैले पनि उनी तर्सिने अवस्था सिर्जिएको छ । 

#Metoo अभियानले यस्तै पीडामा लामोसमय जीवन बिताएका महिलालाई एउटा ठाउँ दिएको छ जसले उनीहरूले आफ्नो आँसु निकाल्ने ठाउँ पाएका छन् । ऐक्यबद्ध भएर यौन उत्पीडनजस्तो घृणित कार्यको विरोधमा उत्रिएका छन् । तर, के यो अभियानमात्रैले समस्या समाधान हुन्छ त ? अवश्य पनि हुन्न । तथापि एउटा छलाङ लगाउने उचाइ अवश्य दिएको छ र यसले ठूलो समूह विशेषगरी यौन उत्पीडनमा परेका व्यक्तिहरूको मानसिक अवस्थाको पहिचान र त्यसको लागि आवश्यक उपचारको ढोका खोलिदिएको छ । 
सामान्य अवस्थामै मानसिक रोगसँग छी छी गर्ने समाजमा यौन उत्पीडनको बारेमा कुरा गर्नु र मानसिक रोगसँग पनि सँगै लड्नु कुनै पनि व्यक्तिका लागि चोचुने कुरा होइन । सुरु बिस्तारै हुँदैछ । आशा गरौँ, भोलिको दिन यति अँध्यारो नहोला ।

( चैतन्य इन्टिग्रेटिभ थेरापी सेन्टर फर होलिस्टिक हिलिङमा कार्यरत ) 
twitter: @sajeenaadhungana

तपाईंको मत