ब्लग

भोलाजीसँगको सम्झना र सम्बन्ध

शिवप्रसाद पौडेल 

भोलाजीसँगको सम्झना र सम्बन्ध

भोलाजी र मेरो भेट विसं २०५८ तिर ‘सेभ द चिल्ड्रेन’मा भएको हो । त्यतिबेला ‘प्रो पब्लिक’ छाडेर म भर्खरै सेभ द चिल्ड्रेन, युकेमा बालन्यायसम्बन्धी कार्यक्रम हेर्ने गरी प्रवेश गरेको थिएँ । भोलाजी हरेक प्रश्नको सहज र पूर्ण विश्वासका साथ उत्तर दिन सक्नुहुन्थ्यो । मलाई सम्झना छ – कुनै बैठकपछि मैले बालअधिकारका बारेमा सोध्दा भोलाजीले बालअधिकारलाई त्रिकोण र चर्तुभुज बनाएर मलाई बताउनु भएको थियो । विश्वविद्यालयमा कानुनको अध्ययन पनि त्यति सहजताका साथ हुँदैनथ्यो । हाम्रो शिक्षा सरल रूपमा सिकाउनेतर्फ हैन जटिल विश्लेषणतर्फ उन्मुख जो हुन्छ । सेभ द चिल्डे«न, नर्वेमा युकेको कार्यक्रम र कर्मचारी समाहित भएपछि मैले भोलाजीसँग प्रत्यक्ष काम गरेँ । त्यस बेला सेभ द चिल्ड्रेनको बालन्याय कार्यक्रम साँगुरिएको थियो र हामी द्वन्द्व प्रभावित बालबालिका बचाउ एवं संरक्षण अभियानमा लागेका थियौँ । सिविन नेपाललगायत अन्य साझेदार संस्थासँग मिलेर बालबालिका शान्ति क्षेत्र अभियानको सुरु त्यसै बेला भएको थियो । कार्यक्रमको न्वारन जसले जहाँ गरेको भए पनि उक्त कार्यक्रमका आधारभूत ढाँचा भने सेभ द चिल्ड्रेन, नर्वे नेपालका कर्मचारीहरूले सामूहिक छलफलपछि तय गरेका थियौँ । यो राष्ट्रिय अभियान थियो र यसै अभियानलाई साथ दिन बालबालिका शान्ति क्षेत्र अभियान नामक सञ्जाल बन्यो र हालसम्म काम गरिरहेको छ । यो अभियान सञ्चालन गर्ने क्रममा मलाई भोलाजीको राजनीतिक आस्था थाहा भएको थियो । उहाँ त्यतिबेला तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग आफूलाई नजिक ठान्नुहुन्थ्यो । त्यतिखेर हामीसँग साझेदारीमा काम गर्ने गैरसरकारी संस्थाका तर्फबाट मीनबहादुर शाही, गौरी प्रधान, शोभा दाहाल गौतम र सायद सेभ द चिल्डे«नका साथीहरू सानुलाल महर्जन, चन्द्रिका खतिवडा र सीता घिमिरेजीले यसलाई अझ राम्ररी बुझ्नुभएको थियो होला । भलै पार्टीले उहाँलाई कसरी हेर्छ त्यो अर्को कुरा हो । कांग्रेसी राजनीतिक आस्था भएको परिवारबाट आए पनि मलाई राजनीतिभन्दा अध्यात्मतर्फ धेरै आकर्षण थियो । अझैसम्म पनि अध्यात्म र लौकिक गुरुत्वाकर्षण बीचको रनभुल्लमा छु म । त्यसैले मेरा लागि राजनीति न त्यतिबेला न त अहिले नै पनि खासै चासोको विषय हो । तर, यससँग जोडिएका दुईचारवटा घटना भने हालसम्म सम्झनामा छन् ।  

तत्कालीन सेभ द चिल्ड्रेन, नर्वेका नर्वेजियन डाइरेक्टर भाल्टर टिन्डरहोल्ट एमालेको पार्टी अफिसमा चियापानमा जान हुने वा नहुने भन्ने विषय उठ्यो । मैले अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो तटस्थता कायम गर्नुपर्ने भएकोले जान नहुने तर्क राखेको थिएँ ।  तर, भोलाजी भाल्टरलाई लिएर चियापान कार्यक्रममा सरिक हुनुभयो । चियापान आफैँमा सामान्य कुरा थियो तर नेपाली समाजको दलीय संकीर्णतामा यसको प्रतिकूल प्रभाव कार्यक्रममा पर्ला कि भन्ने डर मलाई थियो । अर्को डर, सेभ द चिल्ड्रेनका केही  साझेदार गैससको कम्युनिस्ट पार्टीसँगको आबद्धताले समग्र कार्यक्रममा प्रतिकूल प्रभाव पार्छ कि भन्ने पनि थियो ।

दोस्रो, सायद दाङ जिल्लामा साझेदार गैसस छान्ने क्रममा भोलाजीले गैससका पदाधिकारीको राजनीतिक आस्था पनि सोध्नुभएछ । त्यसको खबर डिल्ली बिनाडीजी मार्फत् मलाई आयो । हामीले यसमा विरोध जनायौँ र त्यस समयदेखि राजनीतिक आस्थालाई आधार बनाएर साझेदार संस्थासम्बन्धी कुनै पनि निर्णय नगर्ने भनी संस्थागतरूपमा नै हामीले सहमति गर्‍यौँ । यस सहमतिले उहाँलाई कति प्रभाव पार्‍यो त्यो अलग्गै कुरा हो । तर, उहाँले आफ्नो गल्ती स्वीकार गर्नुभयो । 

कांग्रेस पृष्ठभूमि भएका सदस्य भएको  गैससहरुले म (हामी)लाई सबै कम्युनिस्टलाई पैसा बाँड्यौ भनेर त्यतिखेर आरोप लगाउँथे । सहारा नेपालसँगको गैसस सम्बन्ध अन्त्य हुँदा सायद भानुभक्त ढकालजीलाई पनि त्यस्तै लाग्यो होला तर मलाई त्यस्तो लाग्दैन । भोलाजीले इह्रिकन नामक संस्थालाई स्थापना कालदेखि नै सहयोग गर्न निकै उत्साह देखाउनु भयो र सशस्त्र द्वन्द्वकालमा शोभाजी अदम्य सहासका साथ जिल्ला जिल्लामा जानुभयो । उहाँको हिम्मत देख्दा मलाई भोलाजीको त्यो निर्णय निकै उपयुक्त लाग्थ्यो । द्वन्द्व पछि सेभ द चिल्ड्रेनसँग आर्थिक स्रोत कम हुँदा र सशस्त्र द्वन्द्वमा बालबालिकाको संरक्षण कार्यक्रमका प्रायः सबै गैसससँगको सम्बन्ध अन्त्य हुँदा पनि इह्रिकनसँग सेभ द चिल्ड्रेनको सहयोग निरन्तर भयो र यसमा भोलाजीको हात थियो । मैले यसै कुरालाई लिएर उहाँलाई ‘राजनीति जारी छ’ भनेर पछिसम्म जिस्काउने गर्थेँ । भोलाजी पूर्णरूपमा राजनीतिक पूर्वाग्रही हुनुहुन्थ्यो भन्नु उहाँप्रति अन्याय हुन्छ । उहाँले गाजा युवा क्लब, बाग्लुड, बेस, पाल्पासँगको सम्बन्धमा राजनीतिक आस्थाको आधारमा पूर्वाग्रही भएको मैले कहिल्यै पाइन । 
देशमा शान्ति प्रक्रिया सुरु भएपछि मैले भोलाजीलाई उहाँकै हरिसिद्धिको घरको छानामा उभिएर चुनाव लड्ने हो भने एकलाख चन्दा मेरो तर्फबाट दिन्छु भनेको थिएँ । उहाँसँग समाज परिवर्तन गर्ने क्षमता छ भन्ने विश्वासका आधारमा मैले त्यसो भनेको थिएँ । मित्र र सहकर्मीका बीचमा राजनीतिक आस्था महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण त ऊ स्वार्थी छ कि उसले समाजको बृहत्तर हितलाई आफ्नो लक्ष्य बनाउँछ भन्ने विषय हो । समाज परिवर्तनप्रति कति दृढताका साथ ऊ लागेको छ, ऊ कति इमानदार छ, ऊ भ्रष्ट छ कि छैन भन्ने पहिलो सवाल हो । 

भोलाजीसँग २४ सै घन्टा काम गर्ने धैर्य र क्षमता थियो । हामी सेभ द चिल्ड्रेनका धेरैजसो सहकर्मीलाई यो महसुस भएको हुनुपर्छ । परिआएको बेलामा राति ११ बजेसम्म पनि अफिसमा बसेर काम गर्नसक्ने हुनुहुन्थ्यो उहाँ । बिहान ७ बजे नै अफिसमा आइपुग्ने । शनिवार, आइतबार नभन्ने । काम गर्ने सबै क्षेत्र (बालशिक्षा, बालसंरक्षण, प्रकोप र उद्धार) मात्र नभएर, फिल्ड अफिस व्यवस्थापन, तालिम तथा लेखा परीक्षणसम्मका हरेक क्षेत्र तथा विषयमा उहाँ सक्रिय हुन चाहनुहुन्थ्यो । र, ती क्षेत्रमा औसतरूपमा अरूभन्दा राम्रो दखल पनि राख्ने भएकाले भोलाजीलाई मित्रहरूले ईर्ष्या गर्ने तर प्रश्न गर्न नसक्ने परिस्थिति खडा हुन्थ्यो । पहिले खेम थापा, जगत खड्का र पछि गुनार एन्डरसनले पनि यो कुरा व्यक्त गर्नुभएको थियो । (अब हामी जीवित साथीहरूले आफ्नो स्वास्थ्यप्रति अनुत्तरदायी भई अत्याधिक काम गर्ने, सबै कुराको नेतृत्व आफैले लिई तनाव बढाउने काममा भने पुनर्विचार गर्नुपर्छ होला ।) 

पछिल्लो चरणमा अर्थात् सन् २००८/२००९ तिर उहाँ डिपुटी कार्यक्रम निर्देशक भएपछि सबै कार्यक्रमहरूको अन्तिम सिफारिस  भोलाजीले गर्नुपर्ने भयो । उहाँकोे काम तुलनात्मकरूपमा बढ्यो र यसको नकारात्मक प्रभाव उहाँको स्वास्थ्यमा पनि देखियो । भोलाजीको काम गर्ने बेग कम भएको थिएन । उहाँ, कार्यक्रम डाइरेक्टर भए पनि उहाँ अझ माथि जान चाहनुहुन्थ्यो । उहाँको क्षमतामा प्रश्न थिएन तर उहाँले आफूलाई निःस्पृह राख्न सक्नुभएन । पदीयरूपमा माथि पुगेपछि क्रमशः आफूले प्रत्यक्षरूपले गर्ने काम अरूमार्फत गराउनुपर्ने, पूर्णरूपमा राम्रो नभए पनि समूहकार्यमा जोड, अरूलाई प्रोत्साहन गर्ने कौशल वा सीप उहाँमा थिएन । अर्को शब्दमा उहाँ ‘रिल्याक्स’ हुन नसक्ने हुनुनुहन्थ्यो । सायद यसै कारणले भोलाजी सेभ द चिल्ड्रेन छोडेर फिनिस दूतावास जानुभयो । त्यतिखेर म सेभमा थिइन क्यार । तर, मैले उहाँलाई यस्तो निर्णय पुनर्विचार गर्न भनेको थिएँ ।

सेभबाट उहाँको बहिर्गमन असन्तुष्टिको अभिव्यक्ति थियो । तर, दुईवटा राजदुतावासको अनुभवले उहाँको व्यक्तित्वलाई झन् तिखार्यो । उहाँले दातृ निकायका दृष्टिकोणहरूबारे धेरै बुझ्नुभयो र उहाँमा थप परिपक्वता आयो । उहाँले पिएचडी पनि सक्नुभयो । शिक्षा प्रशासन र गुणात्मकता अभिवृद्धिमा बालबालिकाको सहभागिताको विषयले उहाँलाई शिक्षाको अझ बढी विशेषज्ञ बनायो । 

भोलाजीको सबैभन्दा ठूलो क्षमताः मेहनत, तत्परता र आत्मविश्वास थियो । उहाँ हरेक समस्याको जवाफ खोज्न सक्नुहुन्थ्यो । त्यसैले, उहाँ राष्ट्रिय मानवअधिकार आयोगको स्पष्ट सहमति नपर्खीकन डोटी घटनाको ‘फ्याक्ट फाइडिङ्ग मिसन’का निमित्त टोली लिएर हिँडिहाल्नु भयो । कार्याक्षेत्र भएको आधिकारिक संस्थाले निर्णय नगर्दै त्यस्तो काममा तम्सनु आत्मविश्वासको परिचायक हो । पछिसम्म डोटी घटना लगायत मानवअधिकार घटनाको उल्लंघनको रिपोर्टिङमा यो प्रसंग उठिरहन्थ्यो । 

बालबालिकालाई द्वन्द्वबाट जोगाउन सेभ द चिल्ड्रेनको नेपाली सेनासँगको सहकार्य, शान्ति समझौता भएको अवधिमा बाबुराम भट्टराईसँग भाल्टरलाई भेटाई बालबालिकाको सैन्यदस्तामा भर्तीलाई रोक्ने वकालत यसैका परिणति थिए । सेभ द चिल्ड्रेन छाडेपछि म केन्द्रीय बालकल्याण समितिमा बालन्याय कार्यक्रम सञ्चालन गर्ने गरी गएँ । त्यसक्रममा समिति र सेभबीच साझेदारी भएकोले उहाँसँग भेटघाट कुराकानी हुने गथ्र्यो । सहकार्य टुट्यो, भेटघाट पातलियो तर मित्रता निरन्तर भयो । म देश बाहिर पनि भएँ । 

दिपकराज सापकोटाजीले स्वीजरल्यान्डबाट बालअधिकारमा स्नातकोत्तर गरेपछि उहाँको सक्रियतामा बालअधिकारको स्नातक र स्नातकोत्तर पढाइ सुरु गर्ने क्रममा हामीलाई लाग्यो भोलाजीलाई यस अभियानको प्रमुख छानेपछि उहाँले पार लगाउन सक्नुहुन्छ ।

काठमाडौं विश्वविद्यालयले धेरै समय आनाकानी गरेपछि अन्त्यमा शिक्षा संकायको तर्फबाट डीन टंक शर्मा यस कामलाई अघि बढाउन सहमत हुनुभयो । तर, विश्वविद्यालयमा प्राध्यापकको रूपमा भर्ना भएर बालअधिकारको कोर्सलाई अगाडि बढाउने विशेषज्ञ थिएनन् । चन्द्रिकाजी, दिपकजी, प्रल्हाद दाइ, उद्धव दाइ हामी जो जो भए पनि शिक्षा संकायभित्र प्रवेश गर्ने शैक्षिक पृष्ठभूमि उहाँकोमात्र थियो । अझै पनि लाग्छ बालअधिकारको त्यो कोर्स चल्न सक्छ तर त्यसका निमित्त विश्वविद्यालयभित्र नै विशेषज्ञ शिक्षक हुनु अपरिहार्य छ । पछि म आफैँ नै काठमाडौं विश्वविद्यालयको कानुन संकायमा प्रवेश गरंँ । त्यसपछि र पहिले पनि भोलाजीलाई विश्वविद्यालयमा पूर्णकालिकरूपमा प्रवेश गर्न मैले धेरै पटक हौस्याएँ । बालचन्द्र लुईँटेलजीले पनि धेरै पटक अनुरोध गर्नुभयो क्यार ! स्वभावले भोलाजीको व्यक्तित्व शिक्षकमा सीमित हुने प्रकारको थिएन । शिक्षकको निमित्त समाजभन्दा कक्षा कोठा प्राथमिक हुन्छ । उहाँ समाजका हरेक पक्षमा सक्रियता देखाउन चाहनुहुन्थ्यो ।

सर्च फर कमन ग्राउन्डमा गएपछि म र चन्द्रिकाजीले उहाँसँग पुनः छोटो काम गर्यौँ । उमेरको प्रभाव शरीरमा देखिए पनि उहाँसँग काम गर्ने जुझारुपनामा कुनै कमी भएको थिएन । अमेरिका जानुभन्दा दुईतीन दिन अगाडि फोनमा कुरा गर्दै हामीले उहाँ फर्केपछि “समाजमा युगान्तकारी प्रभाव छाड्ने नयाँ काम प्रारम्भ गर्ने कुरा गर्‍यौँ र त्यसमा सहमति जनाएका थियौँ ।” भोलाजीको देहावसानले हाम्रो जीवन रहेसम्म दुःख र अभावको प्रभाव छाडि नै रहन्छ । सायद नियतिले भोलाजीमार्फत थोरै समयमा धेरै काम गराउन चाहन्थ्यो र ऊ विफल हुने कुरै रहेन । 

जीवन र सम्बन्धको अन्त्यको बारेमा कसलाई थाहा हुन्छ र तर पनि जीवन र सम्बन्ध रहिरहोस् भन्ने इच्छा त रहन्छ नै । भोलाजीको मृत देहमा आगो बल्दाबल्दै हामी उनका सन्तानलाई करिअर प्रारम्भ गर्न सहयोग गर्ने कुरा गर्दै थियौँ । मैले भने – भोलाजी आफूले ठूलो नेटवर्क बनाउनु भयो । दातृसंस्था वा आईएनजीओको प्रतिनिधिका रूपमा धेरैलाई सहयोग गर्नुभयो । अब ती साथीले सहयोग गरिहाल्छन् नि ! प्रतिउत्तरमा इन्दु तुलाधरले भन्नुभयो – “मान्छे बितेर गएपछि उसले बनाएको नेटवर्कले के देला र ? नेपाली समाज यही हो ।” आशा गरोैं इन्दुजीको कुरा गलत साबित होस् ।


(कसैको सम्झनामा लेखिएका पंक्तिमा पूर्ण सत्य जाहेर हुँदैन । यस किसिमका लेखनका कम्तीमा दुई प्रकारका कमजोरी हुन्छन् । पहिलो, परलोक भइसकेको व्यक्तिसँगको सम्बन्धको आयामले लेखनलाई निर्देशित गर्छ । दोस्रो, समयसँगै मानिससँगका स्मृतिहरु धमिलिँदै जान्छन् र घटनाको विवरण पनि तलमाथि हुने जोखिम हुन्छ । यस लेखले कसैलाई दुःख नलागोस् भन्ने चाहना छ । दुःख लाग्यो भने माफी चाहन्छु । )

तपाईंको मत