ब्लग

घाँटी हेरी चौटा निल्नू ! 

कुसुम भट्टराई

घाँटी हेरी चौटा निल्नू ! 

शाकाहार र मांसाहारका बारेमा युगौंदेखि चल्दै आएको बहस अहिले पनि कायमै छ । आधुनिक युगमा मासुलाई धेरै प्रोटिन र भिटामिन भएको खानाका रूपमा लिइन्छ । खासगरी भिटामीन बी–१२ को प्रमुख स्रोत मासु नै हो । अधिकांश शाकाहारीमा ‘भिटामीन बी–१२ डिफिसियन्सी’ देखिएपछि चिकित्सकहरु उनीहरुलाई मासु खान सल्लाह दिनेगर्छन् । तर, प्रशस्त गेडागुडी, सागसब्जी, दहीदूध खाने हो भने यो समस्या पनि समाधान हुनसक्छ । 

शाकाहार कि मांसाहार ? भन्ने प्रश्नकै सन्दर्भमा एउटा सानो प्रसँग उल्लेख गर्न चाहन्छु । एकपटक ‘घोस्ट राइटिङ नेपाल’को थापागाउँस्थित कार्यालयमा डा. योगी विकासानन्दसँग भेट भएको थियो । अध्यक्ष कमल ढकालको कार्यकक्षमा गुरुसँग गफगाफ चलीरहेकै बेला खाजा खाने प्रसंग चल्यो ।  

‘के मगाऊँ स्वामीजी ?’, हामीले सोध्यौँ । 

‘जे भए नि हुन्छ’, उनले भने । 

‘म त सेकुवा खान्छु, अलि पर सेकुवा निकै मिठो पाइन्छ’, कमलले भने ।

‘मलाई पनि सेकुवा नै मगाऊँ’ योगीले भने । 

म चकित परेँ । योगी, ध्यान, समाधिका शिविर चलाउने गुरु सेकुवा मगाइरहेका छन् । मलाई आश्चर्य लाग्नुको कारण के थियो भने अधिकांश यस्ता योगी प्रायः शाकाहारी भोजनमै जोड दिन्छन् र मांसाहारलाई वर्जित नै गर्छन् । 
‘गुरु शाकाहारी हैन र ?’, मेरो मुखबाट फुत्त निस्कियो । 

उही चिर परिचित अट्टहासका साथ डा. योगी विकासानन्दले भने – ‘हाम्रो शरीरलाई सबै किसिमका भोजनको आवश्यकता पर्छ । मासु पनि खानुपर्छ तर दिनको जम्मा चालीस ग्राम ।’ 

‘जम्मा चालीस ग्राम ?’, मैले सोधेँ ।  

‘हो, चालीस ग्राम । त्यति मात्रामा खानु भयो भने मासुले पनि शरीरलाई फाइदै गर्छ । त्यहाँभन्दा बढी खानु भयो भने त्यो पचाउन कठिन हुन्छ’, उनले भने । 

योगीको यो उपाय खासमा मध्यममार्ग थियो । यसमा शाकाहार या मांसाहार भन्ने विवाद नै रहेन । ठिक्क मात्रामा खाँदा मासु पनि शरीरलाई उपयोगी हुन्छ भन्ने बुझियो । हुन पनि प्राणी जीवबाटै उत्पत्ति भएको हो र जीवमाथि नै ऊ निर्भर छ । माटो या काठ खाएर केही प्रजाति बाँच्ने भए पनि पृथ्वीका बहुसंख्यक प्राणी अर्को प्राणीमा निर्भर छन् । यो आहार शृंखलालाई हामी ‘इको सिस्टम’ भन्छौँ । 

आदिम युगदेखि नै मानिसले मासु खाँदै आएका हुन् । पहिला काँचै खान्थे अचेल पकाएर वा पोलेर खान्छन् । तर, समस्या त्यहाँ हुन्छ, जब आवश्यक मात्राभन्दा बढी खाइन्छ । बढी खाएपछि त चिनी पनि तीतो हुन्छ भनेर हाम्रा पुर्खाले भनेकै छन् । 
पुर्खाले चल्तीमा ल्याएका उक्ति पनि गहिरो अर्थ दिने हुन्छन् । यस्तै एउटा अर्थपूर्ण उक्ति हो – ‘घाँटी हेरी हाड निल्नू ।’

यो उक्तिमा धेरै गम्भीर अर्थ पाउन सकिन्छ । जस्तै, आफ्नो हैसियतभन्दा बढी खर्च नगर्नुस् । आफ्नो पाचन क्षमताभन्दा बढी नखानुस् । शरीरले धान्नेभन्दा बढी मदिरा नपिउनुस् । अहोरात्र जागेर तास नखेल्नुस् । 

यो उक्तिमा बुद्धको आष्टांगिक आर्य मार्ग नै समाहित छ । सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक भोजन, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि । जीवनका यी हरेक आयाममा सम्यक आचरण र शील अपनाउन सकियो भने मानिस दुःखबाट मुक्त हुनसक्छ भनेर बुद्धले भनेका छन् ।  

सम्यकको अर्थ उपयुक्त भन्न खोजिएको हो । अर्थात् हामी भोजन यति मात्रामा गरौं कि त्यो हाम्रो शरीरका लागि कम पनि नहोस् र बढी पनि नहोस् । बोल्दा जिब्रो नचपाई बोलौं, भन्नुपर्ने कुरा भनौ तर बढी बकबक नगरौँ । यसो टेलिभिजन खोल्नुपर्छ प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, नेतादेखि अभिनेतासम्म बकबक गरिरहेकै पाउछौँ । सम्यक वाणी कसैमा देखिँदैन । भन्नुपर्ने कुरा लुकाइरहेका हुन्छन् भने नचाहिने कुरा फलाकिरहेका हुन्छन् । 

खानपिन पनि यस्तै छ । हामी नेपाली खानपिनमा निकै सोखिन छौँ । यही कारण हाम्रा चाड पर्व प्रायः खानपिनसँगै जोडिएका छन् । हरेक पर्वले कुनै न कुनै परिकारको विशेषता बोकेका हुन्छन् । जस्तै, असार पन्ध्रमा दही चिउरा, साउने संक्रान्तिमा खीर, जनै पूर्णिमामा क्वाँटी, दसैंमा मासु, तिहारमा सेल रोटी, फिनी, अनरसा र विभिन्न मसला, माघे संक्रान्तिमा घिउ, चाकु र खिचडी, फागु पूर्णिमामा भाङ आदि खाने हाम्रो चलन छ । यी सबै पर्वमा नछुट्ने भनेको मांस र मदिरा नै हो । 

पर्वसँग खानपिनको प्रसंगले किन महत्त्व पायो भने हामी नेपाली युगौंदेखि गरिबी र अभावको सिकार हुँदै आयौँ । मलाई सम्झना छ – मेरो मामाघरमा ‘घिउ हालेको भात’ खान दसैं नै आउनुपथ्र्यो । अन्य दिनमा मकैको आँटो खाइन्थ्यो । मासु खान पनि पर्व नै कुर्नुपथ्र्यो, अहिलेजस्तो हरेक दिन चोक चोकमा मासु पाइँदैनथ्यो । गरिबको प्राथमिक चाहना भोजन र पोसाक हुने भएकाले त्यसको पूर्ति हुने दिन स्वतः उत्सवमय हुने नै भयो । यही कारण ‘चाड पर्वमा ऋण खोजेर भए पनि घिउ खानुपर्छ’ भन्ने मान्यता विकसित हुँदै आयो ।

अरूबेला एक छाक खाएको भए पनि चाड पर्वमा मीठो खान र राम्रो लाउन पाइने एकखालको आनन्दमय अवसरका रूपमा हाम्रा पर्व विकसित हुँदै आए । धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, पौराणिक र दार्शनिक पक्षभन्दा महत्वपूर्ण स्थान खानपिनले ओगट्यो । किनभने लामो समयसम्म हामी नेपालीले मीठो मसिनो खानै पाएनौ । त्यो त शासकहरूको दरबारभित्रै सीमित भयो । 

मैले केही दिनअघि युट्युबमा टोनी हेगेनले खिचेका त्यसबेलाका केही तस्वीर र भिडियोमा हाम्रा पुर्खाको त्यसबेलाको लवाइखवाइ नियालेको थिएँ । विभिन्न ठाउँमा फाटेको र टालेको पोसाक लगाएका ति हाम्रा पुर्खालाई देख्दा मन कुँढिएको थियो । तैपनि भावुक केले गरायो भने उनीहरूको मुहारमा एक प्रकारको दिव्य खुसी छचल्किएको थियो । भोका थिए, नांगा थिए, दुःख र कष्टमा थिए, तैपनि ती खुसी देखिन्थे । मैले अनुमान गरेँ, हरेक वर्षको एक पटक आउने दसैं या तिहारमा ती कति खुसी हुँदाहुन् ? उँभौली र उँधौली, ल्होसार, इन्द्रजात्रा, छठ, जितिया, माघी आदिमा आफैँले जोहो गरेर, कसैले दिएर या ऋणधन गरेर भए पनि मीठो मसिना खान पाउँदा उनीहरूको मन कति हाँसेको हुँदो हो ? 

हाम्रा पर्वमा खानपानले धेरै महत्त्व पाउनुको प्रमुख कारण हामी धेरै वर्षदेखि भोकै रहनु र ती पर्वले त्यो भोकलाई केही दिन भए पनि टार्नु नै हो । यही कारण दसैंमा खसी ढाल्नु गर्वको कुरा हुन गयो । तिहारमा फिनी र अनरसा पकाउनु सानको कुरा हुन गयो । 

आज ती सबै चिज बजारमा पनि पाइन्छन् । आजको पुस्तालाई सके फिनी र अनरसा मनै नपर्ला ! अचेल मीठो मसिनोको परिभाषा पनि बदलिएको छ । आजको पुस्ताका लागि पिज्जा, बर्गर, हटडग, चप्सी, चाउमीन, लाफीङ र पानीपुरी मीठो मसिनो लाग्ला । तर, हाम्री आमाको पालासम्म अमूल्य परिकार भनेका फिनी, अनरसा, झिनिया, कुराउनी, लाखामरी आदि नै थिए । घरबाट कोही आउँदा हिजोआज पनि आमा कुराउनी पठाउन छाड्दिनन् । 

डा. तीर्थबहादुर श्रेष्ठले एकपटक पंक्तिकारसँग भनेका थिए – ‘दाल, भात र तरकारी संसारकै उत्कृष्ट सन्तुलित आहार हो । किनभने दालमा प्रोट्रिन, तरकारीमा सारा भिटामिन र भातमा कार्बोहाइड्रेट हुने भएकाले यति खाएपछि पुग्छ ।’

तैपनि, हामी खानामा कुन हदसम्म सोखिन छौँ भने दैनिक खानामै हामी दुईथरी तरकारी, दुईथरी अचार, मासु खाइरहेकै हुन्छौँ । र, त्यसले नुनको मात्रा शरीरमा बढाइरहेको हुन्छ । यो सबै हाम्रो खानपिनको सोखले गर्दा हो । यसले हाम्रो खानपिनको सन्तुलनमा गडबडी ल्याइरहेको छ र बढी क्यालोरी शरीरमा हुलिरहेको छ, जसले एक न एक दिन रोग निम्त्याइहाल्छ । 

कुनै भोज भतेरमा जाँदा हामी ‘भेज’ र ‘ननभेज’ दुवै परिकार प्लेटभरी हालेर सगरमाथाको चुचुरो नै बनाउछौँ । कोचीकोची खाने हाम्रो बानी छ । पेटको खानालाई तलतिर पचाएर धकेल्नका लागि अलिकति खाली ठाउँ चाहिन्छ । त्यो पनि बाँकी नराखी खाँदा नै समस्या निम्तने हो । 

यस तिहारमा खानपिनमा ध्यान दिऊँ । चिल्ला ‘स्याचुरेटेड फयाट’ले भरिएका रोटी धेरै नखाऊँ । मासु, खाँदेका अचार र मदिराको सेवन कम गरौँ । भोजनमा मात्र सन्तुलन ल्याउने हो भने हाम्रो मन र तनमा स्वतः सन्तुलन आइहाल्छ । यसले हाम्रो मस्तिष्कका रसायनमा सकारात्मक प्रभाव ल्याउँछ । हाम्रो मस्तिष्कमा डोपामाइन र सेरेटेनिन रसायनको सन्तुलनले हाम्रो मन सदा प्रफुल्ल रहिरहन्छ । भौतिक र आध्यात्मिक दुवै कोणबाट के पत्ता लागेको छ भने हाम्रो सुख र दुःख भनेको फगत हाम्रो मस्तिष्कमा उत्पन्न हुने रसायनको उतारचढावकै परिणति हो जसले हाम्रो सोच, भाव र संवेदनालाई परिवर्तन गरिरहेको हुन्छ । 

मस्तिष्कमा डोपामाइन र सेरेटेनिन रसायनको कमी भएमा हामी उदास हुँदारहेछौँ । यस्ता रसायनको सन्तुलनमा सम्यक भोजनको विशेष भूमिका हुँदोरहेछ । भोजनमा मात्र हामीले ध्यान दिने हो भने जीवन सुखद हुनेछ । यसपाली तिहारमा बालिने बत्तीसँगै हामी आफूभित्र भोजनको चैतन्य प्रकाशलाई पनि जगाऊँ र जीवनलाई हरेक दिन दिपावलीमय बनाऊँ । 
 

तपाईंको मत