विचार

घुँडा टेकाउने अपसंस्कार

चन्द्र केसी 

घुँडा टेकाउने अपसंस्कार

कसैलाई श्रद्धाले मान्न जानु र कसैले मान्न आउनुपर्छ भनेर उर्दी गर्नु आकाश र जमिन जतिकै भिन्न हुन् ।  यो सालको दसैं त सकियो तर दसैंको टीकाको ऐनामा देखिएको लोकतन्त्र, संविधान र नागरिक सर्वाेच्चताको संस्कारगत विवाद भने कहिल्यै सकिनेछैन । 
लोकतन्त्रले उचो र निचोको भावना लाई वर्जित गरेको हुन्छ । भेदभाव निषेध गरेको हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री वा सामान्य नागरिक सबैको समान हैसियत हुन्छ लोकतन्त्रमा । लोकतन्त्रको सौन्दर्य नै यही हो । हाम्रो देशको लोकतन्त्र र संविधानले पनि यही मर्म आत्मसात गरेको छ । 
विगतका नागरिक आन्दोलन र क्रान्तिको ध्येय नै यही थियो । आफूलाई  ‘ठूलो’ ठानेर आफन्तबाहेक अरूलाई टीका र आशीर्वाद बक्स हुनु, संस्कृतिको आवरणमा ठालु तन्त्रको प्रयोग र अनुमोदनको एउटा उपक्रम हो ।  यसपटकको दसैं टीका चौतर्फी चर्चामा रह्यो । आलोचना र आक्रोशको भुमरीभित्र रह्यो । एउटा लोकतान्त्रिक र धर्म निरपेक्ष राष्ट्रका रुपमा हाम्रो देशका राष्ट्रपति विध्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले दसैंको टीकामार्फत आफ्नो सोच र प्रवृत्तिलाई जुन मानकमा स्थापित गर्न खोजे त्यसलाई टुलुटुलु हेरेर बस्न सकिने कुरै थिएन । कुनै हालतमा स्वीकार्न नमिल्ने प्रवृत्ति हो त्यो ।

शीतलनिवास र बालुवाटारको दसैंं टीकाले लोकतान्त्रिक गणतन्त्रको केही पक्षमा धावा बोलेको छ – चाकरीवादप्रति आशक्ति र आग्रह देखाएर  लोकतान्त्रिक गणतन्त्रात्मक संस्कार र पद्धतिमा अनि संविधानले बोलेको धर्म निरपेक्षतामा ।

हाम्रो देशको संविधानले धर्म निरपेक्षता ‘सेक्युलरिज्म’ लाई स्थापित गरिसकेको तथ्य देशका राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैबाट अवमूल्यन भएकोछ । राष्ट्रपति, प्रधानमन्त्रीले नै संविधानवादमाथि प्रहार भएको छ । 

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामबरण यादवले सात वर्ष राष्ट्रपतिको रुपमा रहँदा कहिल्यै औपचारिक रुपमा दसैंं टीकाको आयोजना गरेनन् । श्रद्धाले आउनेहरुलाई नितान्त निजी र अनौपचारिक हैसियतमा पाइजामा कुर्था लगाएर उभिएरै टीका लगाइदिए । राष्ट्रपति कार्यालयले टीका थाप्न आउनु भनेर न आदेश जारी गरेको सुनिएको थियो न आशय राखेको थाहा पाइयो । त्यो धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबाट प्रदर्शित हुनुपर्ने संस्कार थियो । 

राष्ट्रप्रमुख, सरकार प्रमुखको पनि निजी जीवन हुन्छ । आफ्नो व्यक्तिगत आस्था र संस्कारको निरन्तरताको कर्ममा रमाउनु पटक्कै अनुचित होइन । तर, त्यसमा राजकीय संयन्त्र र राष्ट्रको ढुकुटीको प्रयोग हुनु हुँदैन । विवादकोे विषय यही हो ।
नितान्त निजी, पारिवारिकरुपमा, प्रचार मोहबाट टाढा भएर राष्ट्र प्रमुख र सरकार प्रमुखले दसैंं मानेको भए हुन्थ्यो । अहिलेको संविधानले गरेको निर्देश यही हो ।

पुर्ण लोकतान्त्रिक र धर्म निरपेक्ष संविधान भएको राष्ट्रमा राष्ट्रपति र प्रधानमन्त्रीका चर्फबाट औपचारिक घोषणासहित राजकीय ठाँट र रबाफमा दसैंं टीकाको उर्दी जारी गरिनु आश्चर्यको विषय पनि हो । सार्वभौम नागरिकलाई पुनः रैती र दास कै दर्जा र हैसियतमा देख्नु, देख्न खोज्नु वा कायम गराउन खोज्नु सामान्य विषय हाइन । 

सबै संस्कृतिलाई उत्ति नै प्रेम, आदर, सम्मान र विश्वास देखाउन नसके हाम्रो संविधानको स्वीकार्यतामा थाती रहेको असन्तोषको स्वरद झनै चर्को भएर जान सक्ेछ । यसबाट लोकतन्त्रमाथि नै चुनौती खडा हुनेछ ।

राजतन्त्र हटाउँदा नागरिकले ठानेका थिए अब देशमा कुनै पनि शैलीको सामन्तवादले तर्साउने छैन । राजनीतिक नेता नागरिकको इमानदार सेवक हुनेछन्, रहनेछन् भन्ने आशा र भरोसा थियो । विश्वास थियो । नागरिकको इज्जत, सम्मान, मानमर्यादाले सगरमाथा छुने विश्वास थियो ।

घुँडा टेकियो वा टेकाइयो ? आफ्नो सामु नागरिकले घुँडा टेकिरहँदा पनि राष्ट्रपति किन चुप बस्नु भयो ? किन संसार जितेको भावमा मुस्कुराउँदै टीका दिनु भयो ? यस व्यवहारबाट राष्ट्रपतिको शिष्टता, विवेक र गरिमा हारेको छ ।  के नगरीकलाई घुँडा टेकाएर राष्ट्रपति मुस्कुराउने गणतन्त्र हामीले खोजेको हो र ? के नागरिकको मानमर्दन गरिने लोकतन्त्र हामीले खोजेको हो ?

दोस्रो जनआन्दोलनमा गणतन्त्रका गगनभेदी नाराले आकाश र धर्तीमा कम्पन पैदा गर्ने ऊर्जा दरबारको रबैयाले उपलब्ध गराएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको उन्मादले त्यो भएको थियो । उनको दम्भी सोच, शैली र प्रवृत्तिले, नागरिक अधिकार र मर्यादामाथिको थिचोमिचोले त्यो ऊर्जा पैदा भएको थियो । यो निकट विगतको दृष्टान्त नेतृत्वमा बस्ने जोकोहीले क्षणभरका लागि पनि बिर्सन नहुने पाठ हो । यसलाई बिर्सिइयो भने ढिलोचाडो दुर्भाग्यपूर्ण नियतिको सामना गर्नुपर्ने हुनसक्छ । 

लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्रीले चाकडीको प्रतिस्पर्धा आयोजना गर्नु गराउनु पुरानो दरबारको भन्दा कम छैन भन्ने रबाफ देखाउनु हो । तिम्रो भविष्य मेरो हातमा छ मान्न आउँछौ कि आउँदैनौ भनेर मानसिक दबाब दिनु हो । प्रधानमन्त्री कार्यालयले त टीकाका लागि समय तालिका नै सार्वजनिक गर्यो । 

यसरी राष्ट्रपति, प्रधानमन्त्री वा अरू कसैले आफूलाई मान्न आउनुपर्छ भन्ने ठान्नु नै अलोकतान्त्रिक प्रवृत्ति हो । लोकतन्त्रले कसैलाई पनि आशीर्वाद दिने अवतारमा स्थापित गर्दैन । 

लोकतन्त्र र गणतन्त्रलाई हाँकिरहेका नायकहरुबाटै नागरिकको मानमर्दन हुँदा नागरिकका मनमा लोकतन्त्र, गणतन्त्र र त्यसका पात्रहरुप्रति क्षोभ र आक्रोश उत्पन्न भएको छ । यसबाट चरम असन्तुष्टि र निराशा पैदा हुनेछ । यस्तो व्यवहारमा सुधार नभए लोकतन्त्र र गणतन्त्रले फेरि ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्तामा समेत यस्तो कुसंस्कारको जग बस्नसक्छ ।  अहिले लोकतन्त्रको जस्तो छवि बन्दै गएको छ त्यसमा लोकतन्त्र बाँच्नै सक्तैन । बचाउन सकिँदैन । लोकतन्त्र ओठेभक्ति र शासन प्रणालीमात्र होइन । आवधिक निर्वाचनले मात्र लोकतन्त्र पूरा हुन सक्तैन । लोकतन्त्र त जीवनशैलीमा देखिने र महसुस हुने अवस्था हो । लोकतन्त्रको सुन्दर, सशक्त, र जीवन्त हुने कि नहुने भन्ने विषय देशका अगुवाले लोक अर्थात् नागरिकप्रति गर्ने व्यवहारबाट तय हुन्छ । देशका नेताको संस्कार, सभ्यता र प्रवृत्तिमा, लोकप्रति प्रेम, इज्जत, सम्मान र मर्यादा प्रदर्शित हुनुपर्छ । 

लोकतन्त्र गणतन्त्रभन्दा उन्नत राज्य व्यवस्था आजसम्म कतै भेटिएको छैन । यसका कमजोरी हटाएर अझ बढी लोकतन्त्रमात्रै यसको विकल्प हो । त्यसैले समकालीन नेपाली नायकहरुलाई संविधानतसम्मत, विवेकशील र लोकतान्त्रिक हुन सबैले सचेत गराऊँ । सच्चिन भनौ । यसैमा हामी सबैको हित छ । हामी सबैको जित छ । नागरिकलाई घुँडा टेकाउने अपसंस्कारले भने कसैको पनि जित हुँदैन ।
(नेपाली कांग्रेसका कार्यकर्ता) 
 

तपाईंको मत