अर्थ व्यवसाय

‘ओपन आउटक्राई’ देखि ‘अनलाइन ट्रेडिङ’ सम्म 

अर्थमन्त्री भन्छन् : नेप्से स्वायत्त संस्था बन्छ

‘ओपन आउटक्राई’ देखि ‘अनलाइन ट्रेडिङ’ सम्म 

काठमाडौं । मंगलबार बिहान काठमाडौंको होटल याक एन्ड यतिमा तामझामसहितको एउटा कार्यक्रम आयोजना गरियो । कार्यक्रम थियो– नेप्से अनलाइन ट्रेडिङ सिस्टमको औपचारिक सुरुवात । पछिल्लो डेढ वर्षदेखि लगानीकर्तामाझ यो चर्चा र चासोको विषय बन्दै आएको थियो ।

कार्यक्रम उल्लेखनीय र प्रभावकारी थियो, किनकि संसारभरका लगानीकर्ताले अनुभव गरिसकेका अनलाइन कारोबार पहिलोपल्ट नेपाल भित्रिएको थियो । योसँगै लगानीकर्ता पहिलोपटक संसारको जुनसुकै कुनामा बसेर आफ्नो एकाउन्टबाट सेयर खरिद–बिक्रीको आदेश दिन सक्ने भएका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले अवलम्बन गरेको उदार आर्थिक नीतिले पुँजीबजार गतिशील बन्न थालेको भए पनि २०४० मा बनेको धितोपत्र कारोबार ऐनको संशोधन २०५० मा हुनुअघि लगानीकर्ताले आफ्नो हिस्साको सेयर बेच्न निकै कठिन थियो । दोस्रो संशोधनपछि धितोपत्रको दोस्रो बजार सम्भव भएको थियो । ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधनले धितोपत्र खरिद–बिक्री केन्द्रलाई हालको ‘नेपाल स्टक एक्सचेन्ज (नेप्से)’ मा रुपान्तरण गरेको थियो ।

त्यसपछि नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार सुरु भएको हो । ऐन संशोधनपछि धितोपत्र कारोबारको नियमन गर्ने स्वायत्त निकायका रुपमा नेपाल धितोपत्र बोर्ड स्थापना भएको थियो ।

तर त्यसबेला धितोपत्र खरिद–बिक्री प्रक्रिया निकै जटिल थियो । नेप्सेको स्थापनादेखि करिब डेढ दशकसम्म खुला बोलकबोल प्रणाली (ओपन–आउट क्राई सिस्टम)मा धितोपत्रको खरिद–बिक्री चल्यो । त्यो समय नियमित बजार सञ्चालन गर्न नेप्से सदस्य ब्रोकर कम्पनीले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने गर्थे ।

सुन्दा अचम्म लाग्न सक्छ, तर लगानीकर्ताले धितोपत्र खरिद–बिक्री गर्न चाहेमा खुला रुपमा कराएर आदेश दर्ता गराउनुपथ्र्यो । तर, लगानीकर्ता २५ वर्षपछि संसारभर प्रयोगमा आएको अनलाइन ट्रेडिङ प्रयोग गर्न पाउने भएका छन् ।

पुँजीबजार सञ्चालनमा सुधार तथा दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले २०६३ मा सरकारले धितोपत्रसम्बन्धी ऐन २०६३ ल्यायो । त्यस्तै पुँजीबजार व्यवस्थित गर्न धितोपत्र बजार सञ्चालन नियमावली २०६४ पनि आयो । हाल नेपालको पुँजीबजार तथा धितोपत्र कारोबारलाई यिनै ऐन तथा नियमावलीले निर्देशित गरेको छ । 

यसबीच, नेप्सेले एसियाली विकास बैंकको सहयोगमा २०६४ मा सेमी अटोमेटेड ट्रेडिङ प्रणाली प्रयोगमा ल्यायो । उक्त समयदेखि लोकल एरिया नेटवर्कमा हुने कारोबारको आदेश वाइड एसिया नेटवर्कमा रुपान्तरण हुन पुग्यो । र, २०७२ सालदेखि कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित (डिम्याटमा आधारित) कारोबार, राफसाफ र फछ्र्यौट आरम्भ गरियो ।

नेपालमा धितोपत्रको कारोबार प्राथमिक निष्काशन र दोस्रो बजारबाट मात्र हुँदै आएको छ । यसबीचमा नेप्सेमा सहायक कम्पनी सीडीएससीले सी–आस्वा कार्यान्वयनमा ल्याएसँगै प्राथमिक सेयरमा नयाँ युग सुरु हुन पुग्यो । नेप्से अनलाइनमा गएसँगै धितोपत्रको दोस्रो बजार पनि लगानीकर्तामैत्री हुने नेप्सेको विश्वास छ ।

हाल नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा प्रदान गर्न लागेको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताए । उनका अुनसार धितोपत्र सूचीकरण तथा कारोबार गर्दै आएको नेप्सेले विभिन्न चुनौतीको सामना गर्दै आजको दिनमा आएको हो । ‘अनलाइनको कुरा उठेपछि जनमानसमा शंकाको वातावरण सिर्जना भएको थियो । तर हामी त्यो शंका चिर्न सक्षम बनेका छौं । यो सफलतालाई नेपाली सेयर बजारको कोशेढुंगा मान्न सकिन्छ ।’
नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नोट्स)मा कम्पनी सूचीकरण, दलाल दर्ता, कारोबार सञ्चालनलगायत २० वटा मोड्युल रहेका छन् । नयाँ प्रणालीले भविष्यमा बढ्न जाने भारलाई सजिलै व्यवस्थापन गरी कारोबार सञ्चालन गर्न सक्छ । साथै क्लियरिङ बैंक, सीडीएस आदि तेस्रो पक्षलाई प्रणालीसँग एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसको माध्यमबाट आवद्ध गर्न सक्ने व्यवस्था पनि यसमा छ ।

ब्रोकर र लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरिद–बिक्री आदेश प्रविष्ट गराउने प्रणाली हो– कारोबार व्यवस्थापन प्रणाली अर्थात् ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) । टीएमएसको माध्यमबाट ब्रोकरहरुले लगानीकर्ताको खाता खोल्न, कारोबार जोखिम व्यवस्थापन गर्न, कर्मचारीको व्यवस्थापन गर्न तथा पोर्टफोलियो व्यवस्थापन गर्न सक्छन्, लगानीकर्ताले भने आदेश दिन, कारोबार समयको चार्ट हेर्न, रकम ट्रान्सफर गर्न सक्छन् ।

नेप्सेका अनुसार नोट्समा नेप्सेको म्याचिङ इन्जिनलगायत अन्य आन्तरिक व्यवस्थापन प्रणालीहरु नेप्सेको डाटा सेन्टरमा होस्टिङ गरी सञ्चालन गरिन्छ भने टीएमएसमा ब्रोकरहरुको डाटा सेन्टरमा होस्टिङ भई ब्रोकर र लगानीकर्ताको कारोबार व्यवस्थापन हुन्छ । यसको अर्थ, नोट्स नेप्से डाटा सेन्टरमा रहेको छ भने टीएमएस हरेक ब्रोकरको डाटा सेन्टरमा रहेको छ । नोट्स र टीएमएसबीच भीपीएनबाट कनेक्सन गरिएको छ ।

नेप्सेका अनुसार टीएमएसबाट प्रविष्ट गरेको प्रणालीका सम्पूर्ण आदेश नोट्समा पुगेर मात्र म्याचिङ हुन्छन् । नेप्सेका सीईओ साउदका अनुसार युजर एसेप्टेन्स टेस्टले पनि यो नयाँ प्रणालीलाई विश्वस्तरको रहेको प्रमाणित गरिसकेको छ । यसमा ५० माइक्रोसेकेन्ड प्रतिकारोबारको तीव्र गतिको म्याचिङ सिस्टम प्रयोग गरिएको छ भने मल्टिपल अर्डर दिन सक्ने व्यवस्था पनि यसमा छ ।

यता धितोपत्र कारोबारको नियामक निकायको अनुभव छुट्टै छ । बोर्डका अध्यक्ष रेवतबहादर कार्की ओपन आउट क्राई प्राणालीमा दैनिक ५० लाखको करोबार हुने गरेको बताउँछन् । उनका अनुसार ६४ सालदेखि सो कारोबार २० गुणाले बढेर दैनिक १० करोडसम्म पुगेको थियो भने ७२ सालदेखि दैनिक डेढ अर्बको कारोबार भएको उनको अनुभव छ । हाल सेयर कारोबारमा मात्र अनलाइन लागू भए पनि विस्तारै सबै धितोपत्र कारोबार अनलाइन बनाउने योउने योजना रहेको उनले बताए यसले बजारको टर्नओभर ठूलो परिमाणमा बढ्ने विश्वास गरिएको छ ।

नेप्सेलाई स्वायत्त बनाउने तयारी : अर्थमन्त्री
नेपालको सेयर बजारलाई थप विस्तारित बनाउन पुँजीगत र संस्थागत सुधारको आवश्कता रहेको अर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन् । ‘सरकार अहिले बजारका पूर्वाधार सुधार गरी विविधकरणमा जोड दिने पक्षमा छ,’ उनले भने ।

लगानीकर्तालाई सुरुका दिनमा डिम्याट बुझ्न गाह्रो भएझैं सुरुका दिन अनलाइन ट्रेडिङ झमेला बन्न सक्ने शंका अर्थमन्त्री डा. खतिवडाको रहेको छ । लगानीकर्ताको आशमा मुलुक चलेको उनी बताउँछन् । उनी भन्छन्, ‘सरकारले कहिले लगानीकर्ताको विपक्षमा बोलेको छैन । बजेटले पुँजीगत लाभकर गणनाको विषयमा स्पष्ट पारिसकेको छ । र, पुराना पुँजीगत लाभकर गणनामा बाँकी रहेको केही समस्या समाधान गर्न सरकारको तर्फबाट आवश्यक निर्णय भइसकेको र यो लगानीकर्ताकै हितमा छ ।’

लगानीकर्ताको टाउको दुखाइको विषय बनेको बैंक ब्याजदर पनि सिजनल भएको र यो केही दिनमै समाप्त हुने पनि डा. खतिवडाले जिकिर गरे । अनलाइन कारोबार उद्घाटन गर्ने क्रममा उनले नेपाल आर्थिक वृद्धितर्फ अग्रसर भएकाले सेयर बजार पनि त्यससँगै माथि उक्लने विश्वास दिलाए । उनले भने, ‘औद्योगिक उत्पादनमा वृद्धि आएको छ, बैंक तथा वित्तीय संस्था प्रगतितर्फ उन्मुख छन् । यस्तो अवस्थामा सेयर बजार खस्किने सम्भावना रहन्न । बजारको समस्या र स्वास्थ्यप्रति सरकार सजग छ । यस्ता विषयमा अर्थ मन्त्रालय कान ठाडो पारेर बसेको छ ।’

तपाईंको मत