साहित्य र कला

यस कारण डुब्छन् नेपाली फिल्म प्रोडुसर

यस कारण डुब्छन्  नेपाली फिल्म प्रोडुसर

काठमाडौं । राम्रो फिल्म भनेको कुन हो र  यो कस्तो हुन्छ ? यसलाई अंग्रेजहरू ‘मिलयिन डलर क्वेस्चन’ अर्थात यसको उत्तर पाउन साह्रै मुश्किल छ भन्छन् । यो प्रश्नको भेउ सायद नेपाली चलचित्रकर्मीले पनि आजसम्म पाउन सकेका छैनन्, त्यसैले चलचित्र राम्रा बनेनन् अर्थात दर्शकले रुचाएनन् । एकाध चलचित्रलाई आँखा चिम्लिदिने हो भने नेपालमा राम्रा चलचित्र बनिरहेका छैनन् भनेर भन्न हिचकिचाउनु पर्दैन । 

राम्रो र रमाइलोमा फरक छ । सबै राम्रा चलचित्र रमाइला नहुन सक्छन् र सबै रमाइला चलचित्र राम्रा नहुन पनि सक्छन् । अर्थात बक्स अफिसमा हिट सबै चलचित्र राम्रा नहुन पनि सक्छन् र बक्स अफिसमा फल्प सबै चलचित्र नराम्रा नहुन पनि सक्छन् । 

अभिनेता सौगात मल्ल आजसम्म आफूले सोचेजस्तो राम्रो चलचित्र गर्न नपाएको गुनासो गर्छन् । उनले मनले खोजे जस्तो चलचित्रको स्क्रिप्ट आजसम्म सौगातको हातमा परेको छैन । उनी खुलेरै बाह्रखरीसँग भन्छन्, “म आफ्नै चलचित्र पनि हेर्न सक्तिन ।” आफूसँग आइपुगेका ९० प्रतिशतभन्दा धेरै चलचित्र अस्वीकार गर्ने सौगातले आफूले खेलेका चलचित्र पनि हेर्न सक्तैनन् भन्नुले नेपाली चलचित्र कस्ता बनिरहेका छन् आफैँ स्पष्ट हुन्छ । 

त्यसो भए सौगातलाई मन पर्ने नेपाली चलचित्र नै छैनन् ? छ । ‘कथा’ सौगातले आजसम्म काम गरेका मध्ये सबैभन्दा राम्रो चलचित्र हो । 

प्रसंग राम्रा र रमाइला चलचित्रको । चलचित्र ‘कोहिनुर’ले १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेर नेपाली चलचित्रमा सबैभन्दा धेरै व्यापारिक सफलता पाउने चलचित्र बन्यो । तर, त्यसलाई ब्रेक गर्दै चलचित्र ‘छक्का पञ्जा’ले १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेर सर्वाधिक ग्रस कलेक्सनको नयाँ रेकर्ड बनायो । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा–३’ ले आफ्नो पहिलो सिरिजको रेकर्ड तोडेको निर्माण पक्षले बताइरहको छ । 

बक्स अफिसको ग्राफ सबैभन्दा माथि रहेको चलचित्र ‘छक्का पञ्जा’को चलचित्रको समीक्षा भने औषत आउने गरेको छ । तुलनात्मक रुपमा तेस्रो सिरिजले राम्रो समीक्षा बटुल्यो । 
‘छक्का पञ्जा’का तीनवटै सिरिजका लेखक तथा मुख्य अभिनेता दीपकराज गिरीलाई तपाईंका चलचित्र राम्रा कि रमाइला भन्ने प्रश्नमा उनी आफैँ भन्छन्,–‘रमाइला’ । “पहिला रमाइला चलचित्र बनाएर विस्तारै राम्रा चलचित्र बनाउने हो । पहिलो खुट्टो टेकेपछि मात्रै हिँड्न र दौडिन सकिन्छ । रमाइलोबाट हामी राम्रो चलचित्र निर्माणतर्फ हामी ढल्किरहेका छौं । छक्का पञ्जा–३ सम्म आइपुग्दा हामी रमाइलोबाट राम्रोमा आउने प्रयास गरिरहेका छौं ।” 

सयवटा चलचित्र रिलिज हुँदा मुस्किलले ५ प्रतिशत चलचित्रले लगानी उठाउँछन् । बाकिँ सबै चलचिध घाटामा जान्छन् । बुझ्दै नबुझी लगानी गर्नु मुख्य कारण रहेको निर्देशक, निर्माता तथा कलाकार अशोक शर्मा बताउँछन् । 

२०७५ साल शुरु भए यता, दर्जनौं चलचित्र रिलिज भए । तर नोटिसमा भने कमै मात्रै आए । ठूलै तामझामका साथ आउने चलचित्रले पनि खुट्टो टेक्न सकेनन् । करोड क्लबमा प्रवेश गरेको भन्दै केक काटे पनि त्यसको उदेश्य भने दर्शकलाई चलचित्र राम्रो रहेकोभन्ने भ्रममा पारेर हलसम्म डोर्याउनु हुने गरेको चलचित्रकर्मीहरु नै बताउँछन् । “हजार रुपैयाँको केक काटेर ८/१० जना खल्तीका पत्रकार बोलाएर प्रचार गर्दा दर्शकलाई ठग्न सकिन्छ भने त्यो बाटो किन नअपनाउने भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ,” नाम नबताउने शर्तमा एक निर्देशक भन्छन्, “यो गलत प्रवृत्तिका कारण राम्रो काम गर्ने कलाकर्मी र राम्रो चलचित्रलाई पनि असर गरेको छ । जबसम्म यो खराव प्रवृत्तिबाट नेपाली चलचित्र उद्योग बाहिर निष्किँदैन त्यो बेलासम्म निर्धक्क भएर चलचित्रकर्मीले भनेकै आधारमा चलचित्र राम्रो छ भनेर दर्शकले विश्वास गर्ने वातावरण रहँदैन ।”

यो वर्षको पहिलो ६ महिनामा ‘इन्टु मिन्टु लण्डनमा’, ‘छक्का पञ्जा–३’, ‘जय भोले’, ‘कोहलपुर एक्सप्रेस,’ लगायतका केही चलचित्रबाहेक अधिकांश चलचित्रले लगानी डुबाए । 

किन डुब्छन् प्रोडुसर ?

अक्टोबर–१७ मा चलचित्र निर्माता तथा कलाकार निर्मल शर्माले आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गरे,“विदेश बाट भर्खरै एउटा ‘एनआरएन’ साथीको फोन आयो, -निर्मलजी फिल्म बनाउन शुरुमा के गर्नुपर्छ ? 

मैलै भने,–सबभन्दा पहिले रिलिज डेट घोषणा गर्नुपर्छ । त्यसपछी आफूले चाहे अनुसारको हरपल समाचार बनाई वाह ! वाह !! गर्ने अनलाइनसँग मित लगाउनु पर्छ । बयान मात्रै गरिरहने केही कर्मचारीहरु भर्ना गर्नुपर्छ । राम्रो राम्रो भन्नेसँग सेल्फी खिचेर फेसबुकमा हाल्नुपर्छ । यथार्थ बोल्नेहरुलाई साइड लगाउन जान्नुपर्छ । त्यसपछि फिल्म जाबो त १ करोड ५० लाख फाल्नुस्, तयार भइहाल्छ । अकमक्क पर्नुभयो । भोली फोन गर्छु रे !”

निर्मल शर्माको यो पोष्टले चलचित्रको कखरा पनि नबुझेका व्यक्तिले लगानी गरिरहेका कारण प्रोडुसरको पैसा डुबिरहेको प्रष्ट हुन्छ । 

उनको यो पोष्टलाई प्रष्ट पार्छ अशोक शर्माको यो भनाइले, “चलचित्र निर्माणबारे प्रोडुसरलाई ज्ञान छैन । निर्देशक त परिकल्पनाकार मात्रै हो । म कस्तो चलचित्रमा लगानी गरिरहेको छु, यसमा यती लगानी गरेपछि त्यसको रिटन्र्स कति आउँछ भन्ने कुराको सामान्य जानकारी पनि प्रोडुसरलाई ज्ञान छैन ।”

तपाईंको मत