Skip Advt.

विचार

सुर हैन, ‘झूर’को ख्याति 

कुसुम भट्टराई

सुर हैन, ‘झूर’को ख्याति 

काठमाडौं । टेकुबाट लगनटोलतर्फ जाने उकालो चढेपछि नजिकै ‘रामबहादुर दाइ’को प्रेस थियो, जहाँ कुनैबेला साताभरका साप्ताहिक पत्रिका छापिन्थे र रातभर प्रेस चलिरहन्थ्यो । 

एक रात पत्रिकाकै कामले यो पंक्तिकार रामबहादुर दाइको प्रेसमा जाँदा एउटा अनौठो दृश्य देख्यो । 

पहिलो तलामा पत्रिका छाप्ने मेसिन बडो कर्कश आवाजका साथ लगातार चलिरहेको थियो, घड्याक्क..घुडुक्क..घान्द्राङ घुन्द्रुङ..कडयाक्क ढयाक्क..। 

दोश्रो तलामा रामबहादुर दाइका परिवार बस्थे र त्यो रात उनी आफ्नो कोठामा मजाले सुतिरहेका थिए । 

एकाएक पत्रिका छापिरहेको मेसिन चल्न बन्द भयो । अचानक मौनता छायो । 

‘हैन के भयो हँ ? मेसिन किन बन्द ?’, रामबहादुर दाइ कराउँदै तल झरे । 

‘मेसिनले कागज खायो’ मेसिन म्यान कराए । 

पत्रिकाको कागज रोलरभित्र छिरेकाले त्यो झिक्नलाई मेसिन बन्द गरिएको रहेछ । 

सोही क्रममा पंक्तिकारले रामबहादुर दाइलाई सोध्यो, ‘रातभर मेसिनको यत्रो कर्कश आवाज आइरहन्छ, तपाईं यही घरमा कसरी निदाउनुहुन्छ दाइ ?’

‘रातभरि मेसिन चल्नु भनेको मेरो लागि नारायणगोपालको गीत बजेसरह हो पासा, मेसिन चलिरह्यो भने पैसा आम्दानी भइरहेको छ, काम भइरहेको छ भन्ने मिठो कल्पनाले निदाउँछु, मेसिन चल्न छाड्यो भने पो मेरो निद्रा खुल्छ,’ रामबहादुर दाइले भने । 
हो त, कसैलाई त्यही आवाज कर्कश लाग्छ, कसैलाई त्यही मिठो धुन । 

के सुर के बेसुर । 

भारतमा एउटी बेसुरा गायिका छिन्, ढिन्चक पूजा । सन् २०१७ को मेमा ढिन्चकले ‘सेल्फी मैने लेली आज’ बोलको एउटा विलकुल वेसुरा म्युजिक भिडियो युट्युबमा अपलोड गरिन् । 

श्रेया घोषालदेखि नेहा कक्करसम्मको सुरिलो सुर सुनिरहेका श्रोतामाझ ढिन्चकको बेसुरा गायन चौरासी व्यन्जनको एउटा कुनामा राखिएको टिमुर हालेको गोलभेंडाको पिरो अचारजस्तो भैगयो । नभन्दै त्यो गीत रातारात भाइरल भयो र त्यसले भ्युअर्सहरुको ‘करोड क्लब’ पार ग¥यो । अहिले यो भिडियोका भ्युअरको संख्या साढे तीन करोड नाघिसकेको छ । 

ढिन्चकले त्यसयता ‘स्वागवाली टोपी’, ‘बापु दे दे थोडा क्यास’, ‘दारु दारु दारु’लगायतका थुप्रै बेसुरा गीत गाइन् र उनका हरेक गीत उत्तिकै हिट छन् । कतिपयले ढिन्चकलाई ‘लता मंगेशकरको देशकी कलंक’समेत भने, तर उनले त्यसो भन्नेहरुलाई जवाफ दिँदै जी न्यूजको एक कार्यक्रममा भनिन्, ‘लताजीको गाउने आफ्नै शैली छ, मेरो आफ्नै शैली छ । शैली फरक हुँदैमा कुनै पनि कलाकार राम्रो या नराम्रो भन्न मिल्दैन ।’

‘झूर’को ख्याति 
 

नेपाल आइडलको अडिसन राउण्डमा सेमी क्लासिकल विटका दुईवटा गीतलाई विलकुल बेसुरा पारामा गाएर यतिबेला बझाङका नरेश पातली ‘भाइरल’ भएका छन् । गत वर्ष सुदूरपश्चिमकै झक्कड थापा यस्तै बेसुरा गाएर चर्चामा आएका थिए र उनलाई आइडलको दोश्रो सिजनमा पनि ल्याइँदैछ । 

युट्युब खोल्ने हो भने नेपाल आइडल बुद्ध लामा या निशान भट्टराईकै हाराहारीमा झक्कड र नरेशको ‘क्रेज’ स्पष्ट देख्न सकिन्छ । अचेल कुनै पनि कलाकार के कति मात्रामा हिट या फ्लप छ भनेर जाँच्ने आधार नै सामाजिक संजाल, अनलाइन पोर्टल र यूट्यूब नै भएका छन् । अशोक दर्जी त्यही भाइरल संस्कृतिकै उपज हुन् । 

सुरमा नगाइकन पनि भाइरल हुन सकिने युग आएछ । यस्ता पात्रको लोकप्रियताले के स्पष्ट गरेको छ भने आजको युगमा प्रतिभा, कला, साधना र मनोरञ्जनको परिभाषा बदलिँदैछ । संगीतको सुरबेसुरको महत्ता मिसमास अर्थात् खिचडी हुँदैछ । 

कुनै स्वर्णीम युग थियो, जतिबेला साधनाबाट खारिएका, सक्षम र ‘लाखौंमा एक’ प्रतिभाले मात्र दर्शक श्रोतालाई मनोरञ्जन दिलाउँथे । बेजोड प्रतिभामात्रै लोकप्रिय हुन्थे, चिनिन्थे । औसत या कमसलको कुनै गुञ्जायसै थिएन । त्यो युगमा नारायण गोपालले भनेझैं, ‘गीत गाउन त गीतै गाउनु’पथ्र्यो । बेसुरा गायक गायिका र गीतको कुनै स्थान थिएन । हो, कहिलेकाही हास्य प्रहसनमा अभिनेता अभिनेतृ जानीजानी बेसुरा गाएर दर्शकलाई हसाउँथे, तर संगीत विधाभित्र सुर अपरिहार्य थियो, अटो ट्युनिङको प्रविधि पनि थिएन । 

‘रेडियो नेपालमा भ्वाइस टेष्ट पास हुनेहरु हौसिन्थे र संगीत साधना र गायनमा भिड्थे, फेल हुनेहरु संगीत यात्रालाई त्यही विश्राम दिएर अर्कै क्षेत्रमा लाग्थे, उनीहरु कनीकनी संगीतमा लाग्दैनथे । यही कारण त्यो युगमा संगीतले राम्रा प्रतिभा पायो,’ संगीतकार आलोकश्री भन्छन्, ‘अचेल जो पनि कलाकार । अटो ट्युनिङ गरेपछि जस्तै बेसुरा पनि गायक हुनसक्छन्, अनि यूट्यूबमा भाइरल भएपछि ऊ रातारात सेलीब्रेटी ।’

नारायण गोपालको निर्माणमा जरादेखि हाँगा र पातसम्मको लामो सांगीतिक संस्कार, अभ्यास र साधनाको सिलसिला छ । तारादेवी, अरुणा लामा या प्रेमध्वज प्रधानको निर्माणमा साधना, लगाव र समर्पणको दरिलो आधार छ । आजको पुस्ताका प्रमोद खरेल, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, अन्जु पन्त, राज सिग्देल, निशा देशार, मेलिना राई, मनोजराज, कालीप्रसाद बास्कोटादेखि राजनराज शिवाकोटीसम्म शास्त्रीय संगीतको प्रशिक्षण र अभ्यासबाटै आएका हुन्, यिनीहरु यूट्यूबमा भाइरल भएर उदाएका हैनन् । रामकृष्ण ढकालमा सानैदेखि अद्भूत प्रतिभा थियो, तर नरराज ढकालसँग संगीत सिकेपछि नै उनको प्रतिभा चम्किलो भयो । पूर्वीय शास्त्रीय र पाश्चात्य संगीत दुवैको प्रशिक्षणपछि नै नविन के भट्टराई आजको उचाइ चुम्न सफल भएका हुन् । 
संगीतले सुर खोज्छ, सुरले साधना खोज्छ, साधनापछि बल्ल सफलता प्राप्त हुन्छ । 

चार वर्षअघि बनारसबाट आएका खयाल गायक रामवृक्ष सिंहले बागबजारस्थित गुरुदेव कामतको संगीत प्रशिक्षण केन्द्रमा राग शुद्ध सारङ्ग गाएपछि चेलाहरुलाई भनेका थिए, ‘संगीतमा सफल हुन तीन तत्व चाहिन्छ– पहिलो साधना, दोश्रो साहित्य र तेश्रो शौभाग्य ।’
नेपालका ध्रुवपद गायक भवनाथ गुरु भन्ने गर्थे, ‘ध्वनीमा सुर पनि हुन्छ, बेसुर पनि हुन्छ । सत्व, तम र रज भनेझैं प्रकृतिमा सबै चिज छ । प्रकृतिमा जल पनि हुन्छ, अग्नी पनि हुन्छ, यदि तपाईंलाई जलको प्यास लागेको छ भने जल नै पिउनुपर्छ, त्यसैगरी संगीतको प्यास लागेको बेलामा सुरले नै प्यास बुझाउनुपर्छ ।’

भारतका प्रख्यात शास्त्रीय गायक राशीद खान काठमाडौं आएका थिए । प्रज्ञा प्रतिष्ठानमा उनको एकल गायन प्रस्तुति हेर्ने शौभाग्य यो पंक्तिकारलाई पनि जुरेको थियो । त्यसबेला साक्षात्कार हुँदा उनले भनेका थिए, ‘अटो ट्यूनीङ प्रविधिले संगीतको मर्ममै प्रहार गरिरहेको छ । यसले साधनाकै उपहास गरिरहेको छ । म आफ्ना चेला चेलीहरुसँग भन्नेगर्छु कि गाउने हो भने सुरमै गाऊ, सुर बेसुर छ भने गाउँदै नगाऊ ।’

अचेल सुर हैन, झूरकै ख्याति चुलिँदैछ ।

‘सुरको उपहास’ 
 

हुन त अचेल आफूलाई गायकगायिका हौं भन्नेहरु धेरै बेसुरा नै भएको पाइन्छ । नेपाली शब्दसमेत राम्ररी उच्चारण नगर्ने, नेपाली लवजलाई अंग्रेजीमै ढाल्ने र चिच्याएर कर्कश आवाजमा गाउनेहरुसमेत सेलिब्रेटी हुने युग हो यो । स्टुडियोमा अटो ट्यूनीङ गरेर मिक्सीङ मास्टरीङ गर्नेहरुले नै तिनको इज्जत धानिदिएका छन् । 

‘संगीतमा सुर नै चाहिन्छ, भिन्न देखिने नाममा बेसुरा गाउनु भनेको संगीतकै अपमान हो,’ चर्चित चलचित्र पाश्र्व गायक युवराज चौलागाईं भन्छन्, ‘गायनको जुनसुकै विधा किन नहोस्, संसारका जुनसुकै कुनाको संगीत किन नहोस्, त्यसले सुर खोज्छ । सुरबिनाको गीत रसबिनाको कागती हो ।’

आजसम्म दर्जनौं एल्बम प्रकाशित गरिसकेका गीतकार सुरेन्द्र महर्जन ‘अमर’ पनि बेसुरा गाएर चर्चामा आउने प्रवृत्ति देखेर निराश छन् । 

‘रियालीटी शोहरुले दर्शकमाझ पस्कनुअघि नै यस्ता बेसुरा कलाकारलाई फिल्टर गनर््ुपर्छ । कार्यक्रममा कमेडी हुल्ने नाममा बेसुरलाई मौका दिएर संगीतको तेजोबध गर्न पाइन्न,’ गीतकार सुरेन्द्र भन्छन् । 

रंग पत्रकार शिव मुखियाका शब्दमा यस्तो प्रवृत्तिले संगीतका असली साधकलाई निरुत्साहित गर्छ । ‘यो त नौटंकी नै भयो । संगीत प्रतिभा खोज्ने कार्यक्रममा प्रतिभालाई नै डबलीमा उतार्नुपर्छ । आजको युगमा जुनसुकै हाउभावबाट दर्शकको ध्यान तान्ने मानिस भाइरल हुनसक्छ । त्यसले असल, साधना गर्ने र सच्चा कलाकारलाई छायाँमा पारिरहेको छ,’ पत्रकार मुखिया भन्छन् । 

टिआरपी फण्डा
 

सन् २०१६ को ‘एक्स फ्याक्टर’ कार्यक्रममा एकजना प्रतियोगी राजेन्द्रप्रसाद आउँछन् र ‘तडप तडप के इस दिल मे’ गीत बिलकुल बेसुरा पारामा गाउँछन् । सोनु निगम र सञ्जय लिला भन्सालीले उनलाई अगाडिको यात्राबाट विश्राम लगाएपछि उनी भन्छन्, ‘आज म संकल्प गर्छु कि एकदिन म यो धरतीमा लता मंगेशकर र तानसेनभन्दा पनि महान संगीतज्ञ बन्नेछु ।’

राजेन्द्रप्रसाद सायद साधना गर्दै होलान् या के गर्दैछन् आज अत्तोपत्तो छैन । यस्ता अनौठा पात्रलाई ल्याएर रियालीटी शोहरुले कार्यक्रममा हास्यरस घोल्ने गरेका छन् । यस्ता कार्यक्रमका निर्देशकलाई राम्ररी हेक्का छ, दर्शक संगीतको सुरमा मात्र बाँधिन सक्दैनन् । जसरी कुनै पनि चलचित्र या टेलिसिरियलमा हास्य, घृणा, क्रोध, विभत्स, भय, करुणा, प्रेम आदि नौ वटै रस हेर्न पाइन्छ, ठिक त्यसैगरी सांगीतिक रियालीटी शोमा पनि कहिले हँसाउने पात्र त कहिले रुवाउने पात्रहरुलाई ल्याउने गरिन्छ । 

अर्थात् संगीतका प्रतिभा खोज्ने यस्ता कार्यक्रममा सकेजति अनेक मरमसाला घोलेर मनोरञ्जक बनाउने कोसिस गरिएको देख्न पाइन्छ । किनकी, च्यानल धेरै छन्, कार्यक्रम धेरै छन् । एउटै कार्यक्रममा सबै मरमसाला हाल्नुको एउटै ध्येय हो, दर्शक श्रोताले रिमोट अन्यत्र नमोडून् । धेरै दर्शकले कार्यक्रम हेरुन् र विज्ञापन बढोस् । 

नेपाल आइडलमा गर्भवतीदेखि बाबुआमाको हालै निधन भएका कलाकारसमेत आइरहेका छन् । गर्भवतीलाई गाउन अप्ठयारो भएकोदेखि शोकमा परेका कलाकारका आँसुसमेत हेर्न पाइन्छ । कलाकारभित्रका अनेक कथा सुन्न पाइन्छ । यस्ता अनेक प्रसंगहरुवीच प्रतिभा खोज्ने मेलो पनि चलिरहेको छ, तर बढी मरमसाला हाल्नतिर ध्यान दिँदा संगीतको मुख्य पक्ष ओझेलमा पर्दैछ । सोही कारण यसपटक नेपाल आइडलमा निशान भट्टराई या बुद्ध लामाजस्ता माझिएका र सुरमा पकड भएका कलाकार अझै प्रकट भइसकेका छैनन् । 
बरु, बाहिर नरेश पातली र झक्कड थापाहरुकै बेसुरको चर्चा छ । सुर कता उड्यो थाहा छैन, तर बेसुरकै बोलबाला छ । 

बेसुर अर्थात् ‘नयाँ सुर’ 

आखिर झक्कड र नरेश किन यूट्यूबमा भाइरल भए ? किन उनीहरु चर्चामा आए ? 

एउटा पक्ष चाहिँ भुल्नुहुन्न । झक्कड थापा र नरेश पातली बेसुरा गायक त हुन्, तर उनीहरुको बेसुरापन आफैंमा अद्वितिय भैदियो । उनीहरुको बेसुर नै एउटा रमाइलो सुर बन्न पुग्यो । मानौं, त्यो कुनै नयाँ सुर हो । उनीहरुको अनौठो प्रस्तुतिले नै दर्शकको ध्यान तानेको हो । 

उनीहरुको प्रस्तुतिको निर्दोषपन र सादगी नै पुँजी हो । 

कतिपय गायकगायिका गाउन त बेसुरा गाइरहेका हुन्छन्, तर उनीहरु आफूलाई ठूलै कलाकार भएको अहंकारयुक्त भाव मुद्रामा प्रदर्शन गरिरहेका हुन्छन् र जजहरुले रिजेक्ट गर्दा उनीहरुलाई ठूलै कुरा गुमाएजस्तो लाग्छ । 

यसमा शंका छैन, झक्कड र नरेश संगीत अनुरागी हुन, संगीतमा रमाउने मानिसहरु हुन् । हो, गलाले उनीहरु गायक नहोलान्, कलाले उनीहरु गायक नहोलान्, सुरले उनीहरु सक्षम नहोलान् । तर आत्माले उनीहरु संगीतप्रेमी हुन् । आत्मैदेखि इमानदार भएर आफ्नै सुरमा गाउँदा उनीहरुलाई आफूहरु बेसुरा भएको हिनताबोधसमेत पटक्कै भएन । 

नरेश पातलीको एउटा अद्भूत पक्षतर्फ कमैको ध्यान गएको हुनुपर्छ । नेपाल आइडलको अडिशनमा उनले दुईवटा गीत गाएका थिए । एउटा राज सिग्देलको ‘ऊ जितेर गई या हारेर गई’ र अर्को ‘संगीतले मन शान्त हुँदैन ।’

‘ऊ जितेर गई’ बोलको गुरु चण्डीराज काफ्लेले कम्पोज गरेको गीत राग धनीमा आधारित छ । यो रागमा पाँच सुर हुन्छन्, ‘सा’, ‘ग’, ‘म’, ‘प’ र ‘नि’ । यसमा ‘ग’ र ‘नि’ कोमल हुन्छन् भने ‘ध’ सुर बर्जित छ । 

नरेश पातलीको मुखारविन्दबाट एउटा अनौठो संयोग अन्जानमै घटित हुन पुग्यो । उनले गाउन खोजेको अर्को गीत ‘संगीतले मन शान्त तुल्याउँछ’ राग मालकोसमा आधारित छ । यो रागमा पनि ‘ग’ र ‘नि’ कोमल नै हुन्छ । राग धनी र राग मालकोसबीच एउटै भिन्नता के छ भने राग मालकोसमा ‘प’ बर्जित र कोमल ‘ध’ लाग्छ, राग धनीमा ‘ध’ बर्जित र त्यसको ठाउँमा ‘प’ सुर लाग्छ । 

नेपाल आइडलको अडिसनको क्रममा कोमल सुरहरु भएका समान खालका रागमा आधारित दुईवटा सेमिक्लासीकल गीत छनौट गरेको देख्दा नरेश पातलीको संगीत चेतनालाई कम आँक्न मिल्दैन । उनको अभ्यन्तरमा संगीतप्रति अगाध अनुराग, लगाव र प्रेम छ । गाउन नसक्नु बेग्लै कुरा, तर कुन मानिस कस्तो गीत सुनेर झुम्छ र त्यही गीत गुनगुनाउँछ भन्ने पक्षले उसको संगीत चेतना झल्काउँछ । 

यो पंक्तिकारलाई यहीनेर अन्ताक्षरी कार्यक्रमका सञ्चालक अन्नु कपुरले भनेको एउटा भनाइ स्मरण हुन्छ । काठमाडौंमा लाइभ अन्ताक्षरी कार्यक्रम सञ्चालन गर्न आउँदा उनले भनेका थिए, ‘म गायक बन्न भनेर मुम्बईमा संघर्ष गरिरहेको थिएँ । एक दिन मलाई बोध भयो कि म त गायक हैन, राम्रो श्रोता पो रहेछु । मिठो संगीत सुनेर झुम्ने, गुनगुनाउने र संगीतमा झुमेरै पागल हुने विश्वको एकमात्र मानिस सायद मै हुँ ।’ 

नरेश पातली पनि संगीतका असल श्रोता हुन्, जो राग धनी र राग मालकोस सुनेर यसरी झुम्छ कि हात दायाँ बायाँ हल्लाई हल्लाई त्यही गीत गाउने चेष्टा गर्छ । झक्कड थापा पनि यस्तै संगीत अनुरागी हुन् । 
संगीत अनुरागी हुन गाउनै जान्नुपर्छ भन्ने छैन, सुन्न र झुम्न जाने पुग्छ । 
 

तपाईंको मत