देश

‘अनुभवी पाइलटले उड्डयन नियम उल्लंघन गर्दा हेलिकोप्टर दुर्घटना’

‘अनुभवी पाइलटले उड्डयन नियम उल्लंघन गर्दा हेलिकोप्टर दुर्घटना’

काठमाडौं । उड्डयन नियमको गम्भीर उल्लंघन गरेका कारण शनिबार बिहान अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष यस क्षेत्रका विज्ञहरूले निकालेका छन् ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हेलिकोप्टरलाई ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) बाट मात्र उडान अनुमति दिने गरिन्छ । पाइलटले अगाडि हेरेर गरिने (दृष्टि गोचर) उडान क्रममा हेलिकोप्टर बादलमुनि छ भने ककपिटबाट लगातार जमिन देखिनुपर्छ भने हेलिकोप्टर बादलमाथि छ भने आकाश देखिनुपर्छ । 

‘बादलभित्र नछिरिकन हेलिकोप्टर उडाउनुपर्छ र यो अनिवार्य एवं बाध्यकारी उड्ययन नियम हो,’ प्राधिकरणका एक उच्च अधिकारीले बाह्रखरीसँगभने, ‘हाम्रोमा डाँडाकाँडा, खोँच, हिमालमा उडान गर्नुपर्छ र यो जोखिमपूर्ण हुने गर्छ, त्यही भएर हेलिकोप्टर जथाभावी अन्धाधुन्द उडाउन पाइँदैन । तर, शनिबार बिहान अल्टिच्युड एयरका क्याप्टेन निश्चल केसीले यही नियम उल्लंघन गरेका कारण उनले उडाएको हेलिकोप्टर दुर्घटनामा पर्न गयो ।’

पाइलटले मौसम खराब भएका बेला हेलिकोप्टर उडान प्रयास गर्ने, उडाए पनि बादलभित्र घुसाउनेजस्ता नियमविपरीत काम गरेमा त्यस्ता पाइलटको लाइसेन्स खारेज गर्ने नियम प्राधिकरणको छ । 

तर, ७ हजार घन्टाभन्दा बढी अवधि हेलिकोप्टर उडान अनुभव हासिल गरेका क्याप्टेन निश्चल केसीले शनिबार गोरखाको सामागाउँबाट उडाएको अल्टिच्युड एयरको कलसाइन ‘९एन–एएलएस’ भएको ६ सिटे ‘एएस३५०बि३ई’ सिरिजको हेलिकोप्टर धादिङ जिल्ला कटेर नुवाकोट छिरेको मात्र थियो, दुर्घटनाग्रस्त हुन पुग्यो ।

क्याप्टेन केसी सन् २०१७ सेप्टेम्बरदेखि अल्टिच्युडका चिफ पाइलट थिए । ४६ वर्षीय केसी अल्टिच्युड आउनुअघि २०१७ फेब्रुअरीदेखि अगस्टसम्म हेली एभरेस्टमा चिफ पाइलट थिए । त्यसअघि २०१३ मार्चदेखि २०१६ जनवरीसम्म मनाङ एयर हेलिकोप्टर्समा थिए । त्यसअघि २००९ अक्टोबरबाट २०१४ मार्चसम्म एयर डाइनेस्टी हेली सर्भिसमा हेलिकोप्टर उडाएका उनले त्यहाँभन्दा अघि सिम्रिक एयरमा ठूलो आकारको ‘एमआई–१७’ हेलिकोप्टर उडाएका थिए ।

‘यस्तै लामो अनुभव भएका दक्ष पाइलटले भिएफआर उडानमा नियम उल्लंघन गरेर हेलिकोप्टर उडाउनु भनेको ठाडै आत्महत्या गरेसरह हो,’ केसीजस्तै लामो अवधि हेलिकोप्टर उडाएका एक वरिष्ठ क्याप्टेनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘त्यसमाथि केसीको हेलिकोप्टरमा विदेशी नागरिक पनि थिए । विदेशीले भिएफआर उडानमा नियम उल्लंघन गर्नुलाई अपराध नै मान्छन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शनिबार बिहान गोरखा सामागाउँबाट अल्टिच्युडका दुई हेलिकोप्टर एकै समयमा काठमाडौंका लागि उडेका थिए । पहिला उडेको हेलिकोप्टर क्याप्टेन केसीले उडाएका थिए र त्यसमा एक जापानी र पाँच नेपाली थिए । त्यस्तै चिनियाँ नागरिक बोकेर केसीको पछाडि आइरहेको अल्टिच्युडकै ‘९एन–एएलएम’ कलसाइनको अर्को हेलिकोप्टर विदेशी क्याप्टेन ग्याब्रियल काल्र्सबर्गले उडाएका थिए । काठमाडौंबाट गोरखा जाँदा पनि उनीहरू सँगै गएका थिए ।

‘धादिङको बीचसम्म सँगसँगै आएका केसीले एक्कासि छोटो बाटो समाउन हेलिकोप्टर अर्कैतिर मोडेर लगे, पछाडि आइरहेको हेलिकोप्टरका क्याप्टेनले केसी कता लागे भन्ने नै देखेनन्,’ ती अधिकारीले भने, ‘त्यसपछि विदेशी क्याप्टेन खोला माथिमाथि रुट पछ्याउँदै काठमाडौंतिर आए तर बीच बाटोमै केसीको हेलिकोप्टर सम्पर्कबिहीन भएको खबर पाए ।’

उनका अनुसार प्राधिकरणले २०७३ चैतदेखि प्रत्येक हेलिकोप्टरमा ‘भिटु ट्र्याकर’ जडान गर्न लगाएको छ । यो उपकरणले उडान सुरक्षा अभिवृद्धि गर्छ भने हेलिकोप्टर उडिरहँदाको वास्तविक अवस्थाबारे एयर ट्राफिक कन्ट्रोल (एटिसी) टावर र हेलिकोप्टर कम्पनीमा जानकारी प्राप्त भइरहन्छ । यही उपकरणकै सहयोगमा ती विदेशी क्याप्टेन केसीको हेलिकोप्टर खोज्न पुनः त्यही बाटो उतै फर्किएका थिए । 

तर, छोटो बाटो समातेर चाँडै काठमाडौं आउन लागेका क्याप्टेन केसीको हेलिकोप्टर नुवाकोटको ५ हजार ५ सय फिट उचाइको मेघाङ जंगलको डाँडामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक महिलाको जीवितै उद्धार गरियो भने क्याप्टेन केसी र अन्य पाँच यात्रुको घटनास्थलमै मृत्यु भयो । 

पाइलट निश्चल केसी । उनले ७ हजार घन्टाभन्दा बढी अवधि हेलिकोप्टर उडान अनुभव हासिल गरेका थिए । 


उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले पछिल्लो पटक हेलिकोप्टर व्यवसायमा मनग्य आम्दानी हुने देखेपछि पाइलटहरू नै लगानी गर्दै हेलिकोप्टर कम्पनीमा प्रवेश गर्ने क्रम बढेको छ । यसले गर्दा बढी आम्दानी गर्ने लोभमा नियम उल्लंघन गर्दै उडाउने बढेका छन् । 

हाल १० वटा हेलिकोप्टर सेवा प्रदायक कम्पनी सञ्चालनमा छन् । उनीहरूसँग ४० भन्दा बढी हेलिकोप्टर सञ्चालनमा छन् । ११औं हेलिकोप्टर कम्पनीका रूपमा मुस्ताङ हेलीले अनुमति पाइसकेको छ भने चाँडै उडान सुरु गर्नेछ । अधिकांश हेलिकोप्टर कम्पनीले उच्च भेगमा उद्धार उडान गर्ने कामलाई बढी महत्व दिने गरेका छन् । 

नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन नियमावली २०५८ अनुसार प्राधिकरणले हेलिकोप्टर उडान गर्दा उड्डयन सुरक्षा मापदण्ड उल्लंघन गरे पाइलटदेखि हेलिकोप्टर कम्पनीसम्मको लाइसेन्स खारेज गर्ने निर्णय २०७३ चैत अन्तिम साता गरेको थियो ।  

हेलिकोप्टर उडान गर्दा उड्डयन  सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने र नगरेको पाइए पाइलटको मात्र नभई हेलिकोप्टर सञ्चालक कम्पनीको पनि लाइसेन्स रद्द वा खारेज नगरेसम्म दुर्घटना दर कम नहुने र उड्डयन क्षेत्र सुरक्षित पनि नहुने भन्दै प्राधिकरणले उक्त निर्णय गरेको थियो । 

२०७३ साउन २४ गते निजी कम्पनी फिसटेल एयरको कलसाइन ‘९एन–एकेए’ हेलिकोप्टर गोरखाबाट काठमाडौं फर्कने क्रममा नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा क्याप्टेन रञ्जन लिम्बूसहित सातजनाको मृत्यु भएको थियो । घटनाको भोलिपल्ट  प्राधिकरणले उक्त निर्णय गरेको थियो । पाइलटले भिएफआर उडानका बेला खराब मौसम हुँदा बादलभित्र हेलिकोप्टर घुसाउँदा दुर्घटना भएको ठहर त्यसबेला प्राधिकरणले गरेको थियो । 

प्राधिकरणको नियमअनुसार हेलिकोप्टर कमान्ड गर्ने पाइलट (क्याप्टेन) ले गन्तव्य र बीच बाटोको मौसमबारे पूर्णरूपमा जानकारी लिनुपर्छ । खराब मौसमका कारण भिएफआर उडान गर्न सम्भव भएन भने क्याप्टेनले उडानलाई निरन्तरता दिनु हँदैन । त्यसपछि उपयुक्त ठाउँमा अवतरण गरी मौसम सुधार भएपछिमात्र उडान गर्नुपर्छ । 

त्यसैगरी क्याप्टेनले उडान क्रममा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को प्रयोगका प्रावधान कडा रूपमा पालना गर्नुपर्छ । पहाडी क्षेत्रको मौसमी अवस्थाबारे क्याप्टेन सधैं सचेत हुनुपर्ने र ‘टर्बुलेन्स’ बाट हेलिकोप्टर तल–माथि हुने भएका कारण उपयुक्त उचाइमा उडान गर्नुपर्छ ।

त्यस्तै हेलिकोप्टरमा पर्याप्त इन्धन हुनुपर्ने छ भने कुनै पनि किसिमको दबाबमा परेर उडान गर्नुहुँदैन । उडान सञ्चालन अधिकृतले वर्षायाममा हेलिकोप्टरका प्रत्येक उडान र चालकदलको व्यवहारबारे पूर्णजानकारी राख्नुपर्ने छ । 

उडानको जिम्मेवार व्यक्तिले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको छ/छैन भन्ने सुपरीवेक्षण उडान सञ्चालन निर्देशकले गर्नुपर्छ । हेलिकोप्टर उडानमा संलग्न हुने सबै व्यक्तिका लागि सञ्चालन निर्देशकले विशेष पूर्वसावधानी मापदण्ड विकास गर्नुपर्छ । अपरेसन म्यानुअलमा तोकिएका मापदण्डअनुसार उडान सञ्चालन निर्देशकले कडा रूपमा उडान सञ्चालन गर्नुपर्छ । 

प्राधिकरणको नियमअनुसार ‘फ्लाइट डिस्प्याचर’ ले प्रत्येक उडान योजना बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्छ । उडानसम्बद्ध सबै सूचना संकलन गरी प्रस्तावित उडानबारे पनि क्याप्टेनलाई बताउनुपर्छ । प्रस्तावित उडान खराब अवस्थाका कारण सुरक्षित नहुने देखिए फ्लाइट डिस्प्याचरले त्यसबारे पनि जानकारी गराउनुपर्छ भने यसबारे उडान सञ्चालन निर्देशकलाई पनि तुरुन्त बताउनुपर्छ । 


 

तपाईंको मत