Skip Advt.

साहित्य र कला

मेराजस्ता दुईटा बच्चा हुनेलाई थाहा हुन्छ, कलाकार किन अमेरिका जान्छन्

मेराजस्ता दुईटा बच्चा हुनेलाई थाहा हुन्छ, कलाकार किन अमेरिका जान्छन्

निमा रुम्बा नेपाली पप संगीतमा स्थापित नाम हो । तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका दर्जनौं गीत लोकप्रिय छन् । अघिल्लो पुस्ताले खनेको नेपाली पप जानरालाई स्थापित गर्दै संगीतलाई आफ्नो करिअर बनाएका निमाको अर्को पहिचान पनि छ । उनी गीत संगीतका अलावा चलचित्रसँग पनि जोडिएका छन् । नेपालको पहिलो डिजिटल चलचित्र ‘कागवेनी’ का अभिनेता हुन् उनी । ‘कागवेनी’ यता केही चलचित्रमा उनले अभिनय त गरे तर गेष्ट रोलमा । एक दशकपछि निमा फेरि चलचित्रको मुख्य भूमिकामा फर्किएका छन् । यश कुमार निर्देशित चलचित्र ‘छिरिङ’ मा उनी मुख्य भूमिकामा छन् । असोज १२ गतेबाट रिलिज हुने चलचित्रमा उनको भूमिकासहित गीतसंगीतमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुरकानीः
० ० ०

अमेरिकाबाट कहिले फर्किनु भयो ?

म त यहीँ छु त । भर्खरै पनि मेरो कार्यक्रम थियो । बरु अब अमेरिकाचाहिँ कहिले जानुहुन्छ भन्ने प्रश्न सोध्नुस् न । 

तपाईंका गीतमात्रै नेपालमा छन् नि ! मान्छे त अमेरिकामा नै बस्नुहुन्छ नि हैन ? 

हैन । म नेपालमा छु । कार्यक्रमका सिलसिलामा आउने जाने त भइरहन्छ । 

‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने उखान छ । त्यस्तै भयो नि तपाईंलाई चलचित्रमा हेर्न पनि एक दशकभन्दा लामो समय कुर्नुपर्यो है ?

यो बीचको समयमा मेरा केही चलचित्र आए । ‘कागवेनी’ पछि ‘भिजागर्ल’ मा मेरो रोल थियो । गुरुङ चलचित्र ‘म’ मा पनि सानो भूमिका थियो । अफिसियल्लीचाहिँ यो मेरो चौथो मुभी हो । 

‘कागवेनी’ मा मुख्य भूमिकामा अभिनय गरिसक्नु भएको तपार्ईंले पछिल्ला दुई चलचित्रमा त गेष्ट रोलमा सीमित हुनु भयो नि ! 

योचाहिँ सत्य हो । 

मुख्य रोलका लागि अफर आएन कि हरर लागेन अथवा परिस्थितिले साथ दिएन ?

सत्य भन्नु पर्दा यो बीचमा चारवटा चलचित्रबाट अफर आएको थियो । एउटा हलिउड मुभीमा काष्टका लागि अडिसन भएको थियो तर पछि त्यसमा विवाद भयो । अरु चलचित्र जसमा मैले काम गरिन ती चलचित्रको नाम लिँदा राम्रो हुँदैन होला । अहिले पनि मेरो हातमा दुईटा चलचित्रका स्क्रिप्ट छन् । म हेरिरहेको छु ती स्क्रिप्ट । 

केही वर्षयता तपाईंका गीत आएका छैनन्, किन ?

पछिल्ला केही वर्षयता म विदेश भ्रमण र सांगीतिक कार्यक्रममा व्यस्त छु । देशभित्र पनि महोत्सव तथा अन्य कार्यक्रममा सहभागी भइरहेको छु । कहिले कार्यक्रम कहिले महोत्सव र विदेशका कार्यक्रम गरेर बाह्रै महिना कार्यक्रम भइरहन्छ । पछिल्लो समय मैले सिंगल ट्रयाकका रुपमा ‘आऊ न..’ बोलको गीत ल्याएको थिएँ । एल्बम ननिकालेको सन् २०११ बाट हो । 

किन यति लामो ग्याप ? 

गीतसंगीतमा लागेको पनि ३० वर्ष भइसकेछ । तीन दशक बिताइसकेको श्रष्टालाई शुरुमा आउँदाको समयमा जस्तो हस्याङ फस्याङ गरेर काम गर्नुपर्छ भन्ने मनस्थिति पनि हुँदैन । समय लिएर काम गर्न मन लाग्दो रहेछ । अहिले म त्यही गरिरहेको छु । 

गायकको संख्यासँगै प्रतिस्पर्धा बढेर पनि अलि गाह्रो भएको हो कि ?
तीन दशक पुगिसक्यो म अहिले पनि कार्यक्रममा त्यतिकै व्यस्त छु । चलचित्रमा पनि व्यस्त छु । विगतका वर्षहरुमा म ब्राण्डिङमा पनि व्यस्त थिएँ । प्रतिस्पर्धाको कुरा गर्दा म कम्पिटिसनमा कहिले पनि थिइनँ र अहिले पनि छैन र मैले अनुभव पनि गरेको छैन । 

त्यसो भए अहिलेको तपार्ईंको प्राथमिकता गीतभन्दा चलचित्र हो ?

होइन । चलचित्रलाई मैले प्राथमिकतामा राखेको होइन । तर पक्कै पनि गीतसंगीतपछि मेरो चाखको मुख्य विषय चलचित्र नै हो । 

‘कागवेनी’ मौलिक कथा बोकेर भित्रिएको चलचित्र थियो, ‘छिरिङ’ कस्तो चलचित्र हो ? 

भनौं कि नभनौं ! भनौं भने गोपनियता खोलेको जस्तो होला (हा..हा..हा...) तर पनि मिलाएर भन्दा ‘कागवेनी’ नेपाली चलचित्रका लागि भविष्यको ढोका खोलिदिने माइलस्टोन चलचित्र थियो । विषयवस्तु, मेकिङ र जानरा पृथक थियो । आम दर्शकका लागि बनाएको चलचित्र थियो ‘कागवेनी’ भन्न रुचाउँदिन म । त्यसको तुलनामा ‘छिरिङ’ हिमाल, पहाड, तराई सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीेले बुझ्ने र मन पराउने चलचित्र बनेको छ ।


तपाईंले ‘छिरिङ’ बारे खुलेर कुरा गर्नु भएन । यसमा आर्य र मंगोलबीचको केही द्वन्द्व, केही असन्तुष्टि र त्यसको परिणामको कथा समेटिएको छ, हैन ?

म यसबारे केही भन्दिन । तपाईंले धेरै कुरा भन्नुभयो । म त दर्शकले यो चलचित्रबारे हेरेर नै थाहा पाउनुपर्छ भन्छु । यसलाई गोप्य नै राखौं । 

फेरि गीतसंगीतमै फर्कौं, तपाईंहरुले गाउँदाको पप गीत र आजसम्म आइपुग्दाको पप गीतमा के फरक पाउनु हुन्छ ? 

सन् १९९० मा म र मेरो ब्याण्डले पप गीत गाउँदा यस्तो पनि गीत हुन्छ र भन्ने समय थियो । पप गीतलाई नेपाल भित्र्याउने हामीभन्दा अघिल्ला पुस्ताभन्दा केही समय पछाडि हामी आएका हौं । कच्चा अवस्थामा रहेको पप गीतलाई संस्थागत विकास गर्ने जिम्मेवारी हामीमा थियो । अहिलेसम्म आइपुग्दा त्यति धेरै परिवर्तनचाहिँ छैन दर्शक र स्रोताका लागि । अहिले सबै कुरा हातहातमा छ मोबाइल र इन्टरनेटका कारण । टेक्नोलोजीको विकासका कारण केही परिवर्तन पक्कै पनि आएको छ । तर यो हुनु नै थियो एक दिन, भयो । 

जुन संघर्ष पप गीतलाई स्थापित गर्ने काम तपाईं र त्यसअघिको पुस्ताले गर्यो, त्यसका आधारमा अहिले अपेक्षित विकास भएको पाउनुहुन्छ ? 

अहिले जति पनि साथीभाइ तथा बहिनीहरु हुनुहुन्छ, कतिले त हाम्रो गीत सुनेर हुर्किनुभयो । हाम्रो गीतलाई आदर्श मानेर अगाडि बढिरहनु भएको मैले देखिरहेको छु । पक्कै पनि त्यो प्रयास भइरहेको छ । 

तपाईंको पुस्ताका कतिपय कलाकार नेपालबाट पलायन हुनुभयो । नेपालमा जीविकोपार्जन गर्न कठिन भएर हो कि महत्वाकांक्षा बढी भएको हो ?

म कलाकार बाहेक जिम्मेवार अभिभावक पनि हुँ । मेरो पनि जिम्मेवारीहरु छन् । तपाईंका पनि मेरोजस्तै दुईटा हुर्किसकेको नानीहरु भए मेरो कुरा बुझ्न सक्नुहुन्छ । 

कलाकारितामा मैले ३० वर्ष बिताउँदा मेरो जिम्मेवारी पनि बढ्दै गएको छ । म पहिला पनि विदेशमा थिएँ । मेरा लागि विदेशको बसाइ नौलो अनुभव होइन । सेकेण्ड एल्बमपछि पनि केही वर्ष विदेशमै थिएँ । पछि पनि आउँदै जाँदै गरिरहेको हुन्छु । 

जुन खालको इज्जतको जिन्दगी कलाकारले नेपालमा बाँचिरहेको हुन्छ, त्यो जिन्दगी उसले अमेरिका, अष्ट्रेलिया वा अन्य कुनै देशमा पाउँछ ? 

मेरो श्रीमती युकेको सिटिजन हो । मेरो सन्तान र मैले  त्यहाँ बस्न चाहेको खण्डमा बस्न सक्छौं । मेरो ठूलोबुबा हङकङमा जन्मिनु भएको हो । त्यसैले हामी त्यहाँ पनि बसेका छौं । यी सबै देशसँगै मैले घुमेको देशको अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा यी देशमा जाँदा मैले के अनुभव गरेँ भने जब मानव अधिकार, समान अवसरका कुरा गर्दा अमेरिकामा बढी भएको पाएँ । संसारभरका कलाकार, खेलाडी तथा कुनै पनि क्षेत्रको दक्ष व्यक्तिलाई सम्मान स्वरुप मान्यता दिने अमेरिका मात्रै हो । यी सबै कारणले गर्दा संसारभरबाट अमेरिका बस्न गरेको मेरो अनुभव छ । 

संगीतको कुनै भाषा, भूगोल, जाति, रङ्ग हुँदैन भने किन खैरो कपाल र निलो आँखा भएको व्यक्तिले नेपाली गीत सुन्दैन ?

हामीले ३० वर्ष अगाडिदेखि सोच्दै आएको कुरा हो यो । कसरी नेपाली संगीतलाई विश्व बजारमा पुर्याउने भनेर हामी सोच्दै आइरहेको तीन दशकदेखि नै हो । तर पनि हामीले सोचे जस्तो भएन । हाम्रो गीत मेरो गीत एमटिभीमा आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर त्यो उपलब्धी हासिल गर्न सजिलो पनि थिएन । आज नेपालमा विश्वकै चर्चित सिङगिङ रियालिटी शो आइडल र द भ्वाइस आइसकेका छन् । अब भने पक्कै पनि नेपाली गीतसंगीत पनि अन्तर्राष्ट्रिय बजारमा जाला । यो ठूलो उपलब्धी हो । अब यसको शुरुआत भएको छ । मैले विताएको ३० वर्ष यो प्रोसेसमै बितेजस्तो लाग्छ ।   
 

   

 


 

तपाईंको मत