Skip Advt.

ब्लग

निर्मलाको श्राप लाग्नेछ

कुसुम भट्टराई 

निर्मलाको श्राप लाग्नेछ

महाभारत युद्ध हुनुअघि न्यायहीनता, दण्डहीनता र अत्याचारको लामै पृष्ठभूमि छ । राजा, राजकुमार, मन्त्री, सेनापति, राजगुरु र सारा भारदार खचाखच भएको सभामा जब दुःशासनले द्रौपदीको चीरहरणको कोसिस गर्छ, त्यस घडीमा धृतराष्ट्रदेखि द्रोणसम्म, भीष्मदेखि विदुरसम्म सबै निरीह भएर रमिता हेर्छन् । न्याय र सुरक्षाको अस्तित्व नै देखिँदैन । 

ठीक त्यसैगरी अहिले निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा यो देशका धृतराष्ट्रदेखि द्रोणसम्म, भीष्मदेखि विदुरसम्म लाचार र निरीह देखिएका छन् । निर्मलाका मातापिता न्याय खोज्दै काठमाडौं आउनुपरेको छ । अन्याय र अत्याचारका कारण हस्तिनापुर राज्यको तेजोबध भएझैँ पीडितले आफ्नै प्रदेशमा न्याय नपाएर केन्द्रमा धाउन बाध्य हुनुले संघीय शासनकै उपहास भइरहेको छ । 

दुशासनले सभामा द्रौपदीलाई घिसार्दै ल्याएका बेला द्रौपदी उसको हातबाट आफूलाई मुक्त गर्दै भीष्भ पितामह सामु जान्छिन् र अश्रुमिश्रित आक्रोशमा भन्छिन् – ‘‘आँखा चिम्लनु यो समस्याको समाधान हैन पितामह, म तपाईँकी कुलकी बुहारी द्रौपदी एउटा पातलो वस्त्रमा गुटमुटिएर ऋतु स्नान नगरी यो सभामा तपाईँलाई प्रणाम गर्छु र जान्न चाहन्छु, आज तपाईँ मलाई के आशीर्वाद दिनुहुन्छ ? तपाईँ त ज्येष्ठ गुरु, महावीर र श्रेष्ठ विद्वान हुनुहून्छ । भन्नुस् के तपाइले कुरु सिंहासनको रक्षा गर्नेमात्र प्रतिज्ञा गर्नुभएको थियो ? के कुरु मर्यादाको कुनै महत्त्व छैन ? तपाईँजस्तो महापुरुष र सुरवीरलाई प्रश्नहरूबाट भाग्न शोभा दिँदैन । पितामह ! मतिर हेर्नुस्, किन मुन्टो झुकाउनुहुन्छ ? म कुरु मर्यादामाथि लागेको एउटा प्रश्न चिन्ह हुँ ।’’

आज निर्मलाको आत्माले पनि द्रौपदीले झैं यो देशका महान् क्रान्तिकारी वीर, चौध वर्ष जेल बसेका महान् ‘राष्ट्रवादी’ अनि बहुदलीय जनवादी ‘भीष्म’हरूलाई सोधिरहेको छ – ‘‘के तिमीहरूले आफ्नो सत्ता र सुख सुविधाको मात्र रक्षा गर्ने कसम खाएका हौ ? के यो देशका चेलीहरूको मर्यादाको कुनै महत्त्व छैन ? हे महान् बलीदानी क्रान्तिका नायक हो तिमीहरू समस्याबाट भाग्न पाउन्नौ, किन मुन्टो लुकाउँछौ ?’’

अन्ततः द्रौपदीमाथिको त्यही अपमानले हस्तिनापुरमा प्रलय ल्यायो । त्यत्रो महाभारत युद्ध मच्चायो । एउटी नारीको क्रन्दन र चित्कारले त्यो युगलाई नै रक्तरंजित बनाइदियो । यो पंक्तिकार निर्मला पन्तको चित्कार एउटा प्रलयको रूपमा प्रकट हुने सम्भावनालाई अस्वीकार गर्न सक्तैन । कारण मलाई यस्ता सम्भावनामा विश्वास छ । 

महादेवले श्री गणेशको शिरोच्छेदन गरेपछि पार्वतीको आक्रोशले तिनै लोक डगमगाएझैं अब एउटी कलिली बालिकाको चिचिलो चिच्याहटले यो देशको भाग्य डगमगाउनेछ । कसैले नदेखे पनि, देखिने कुरा लुकाउन खोजिए पनि यो विराट ब्रम्हाण्डको त्यो तटस्थ चेतनाले पक्कै निर्मला पन्तको बलात्कार र हत्याको क्रूर दृश्य देखेको छ । 

निर्मलाको त्यो छटपटी, त्यो पीडा, त्यो दर्द, त्यो चिच्याहट र रोदन व्रह्माण्ड भर फैलिएको छ । अब त्यो भयानक विपत्तिका रुपमा यो देशमा फर्केर आउनसक्छ । 

यो पंक्तिकारको कुनै आग्रह या आवेग हैन । अस्तित्वको स्वभाव र नियम नै यही हो । पापको घडा भरिएर संसारमा अन्याय, अत्याचारले सीमा नाघेपछि दण्डहीनता, न्यायहीनता चरम उत्कर्षमा पुग्दा प्रलय प्रारम्भ हुन्छ ।  जताततै बलात्कारका घटना भइरहेका छन् । सुरक्षाको कतै अनुभूति छैन । न्याय र सुरक्षा दिने निकायमाथि नै कसैको विश्वास छैन । कुनै पनि देश या मानव सभ्यता विनाशतिर लम्केपछि यस्तै यस्तै लक्षणहरू देखा पर्छन् । 

यो देश यतिबेला बलात्कारपछि हत्या गरिएकी ती अबोध नानी निर्मलाबाट श्रापित छ । निर्मलाको आत्माले यस देशको प्रहरी प्रशासन, शासक, बलात्कारी हत्यारा र तिनलाई बचाउन उद्यत सबै तत्त्वलाई श्राप दिइसकेको छ । अब यो देशको बेथितिलाई लिएर हरेक नेपालीले उच्छ्वास प्रकट गर्दा ‘‘यो सतीले सरापेको देश’’ भन्ने छैनन् । बरु भन्नेछन् – ‘‘यो निर्मला पन्तले सरापेको देश हो ।’’   

आजसम्म यो देशलाई सतीको श्राप लागिरहेको थियो । सतीको श्रापको असर कम हुन थालेपछि यो देशलाई भीमसेन थापाको श्राप लाग्न थाल्यो । भीमसेन थापाको श्रापको प्रभाव कम हुन थालेपछि यो देशलाई भीमदत्त पन्त र चिनियाकाजी श्रेष्ठको श्राप लाग्न थाल्यो । नमितासुनीताको बलात्कारपछि गरिएको हत्याकै श्राप लागेर हुनसक्छ शाह परिवारका सदस्यहरु भोज गरिरहेकै बेला गोली खाएर मर्नुपर्‍यो । उनीहरुको यो प्रारब्ध फललाई अन्तिम परिणतिमा पु¥याउन भलै राजनीतिक, वैवाहिक या प्रेमावेगका अन्य अनेक कारण किन नहून् ? नमिता सुनीताको चिचिलो रोदन नै उनीहरु र उनीहरुको सन्तानको जीवनमा प्रलय बनेर फर्केर आएको हुनसक्छ । 

आखिर, झापामा सुतिरहेका ढकाल बन्धुहरुको टाउको छिनाल्ने अभियानको नेतृत्व गर्नेहरूलाई पनि ढकाल बन्धुहरुको श्राप नलागेको हो र ? जतिसुकै उच्च पदमा पुगेर राज्यसत्ताको सुखभोग गरेको देखिए पनि तिनलाई हरघडी मृत्युको भयले अहिले पनि सताइरहेकै हुनुपर्छ । 

बाँदरमुढेमा मारिएका ती अबोध र निर्दोष आत्माहरुको श्राप पक्कै पनि त्यो क्रूर हत्याकाण्डका नाइकेहरुलाई लाग्नेछ र एक दिन तिनको पनि ‘सत्यानाश’ भएको देख्नुपर्नेछ । यो पृथ्वी गोलो छ र यहाँ आफ्नो कर्मको प्रभाव एकदिन आफैतिर फर्केर आउँछ । बन्दुकको गोली आफैँतिर फर्किएझैं । अब हाम्रो देशलाई निर्मला पन्तको श्राप लाग्नेछ । जबसम्म निर्मला पन्तका बलात्कारी, हत्यारा र तिनका मतियार पक्राउ पर्दैनन् तबसम्म यो देशलाई साढे सातको दशाले सताइरहनेछ । यो देशलाई राहु, केतु, बृहस्पति वक्र, शनीको नकारात्मक असरले गाँजिरहनेछ । 

(पंक्तिकार पहिले भौतिकवादमा विश्वास राख्थ्यो र उसलाई जन्म, पुनर्जन्म, प्रारब्ध आदिमा विश्वास थिएन । अध्ययन र अनुभवबाट खारिँदै गएपछि अचेल लाग्छ – यो प्रारब्ध भन्ने कुरा हुँदोरहेछ । मानिसले आफ्नो कर्मको फल सके यही लोकमा, नभए मरेपछि परलोकमा भए पनि भोग्नुपर्छ ।) 

पंक्तिकारलाई लाग्छ – जसले निर्मला पन्तको बलात्कारपछि हत्या ग¥यो, कुनै उच्चपदस्थ बलात्कारी कपुतलाई निको नहुने र शरीरभरी फैलदै जाने नयाँ खालको कुष्ठ रोग लाग्नेछ । त्यसकै औडाहाले छटपटाएर त्यसको सास जानेछ । 

पँक्तिकारको अभ्यन्तरले भनिरहेको छ – जसले अपराधी लुकाउन अनेक तानाबाना बुन्यो र बुन्दैछ, उनीहरुलाई पनि निर्मलाको श्राप लाग्नेछ । ती या त क्यान्सर भएर छटपटाई छटपटाई मर्नेछन् या तिनको मगज खुस्किएर सडकमा नग्न भएर हिँड्नेछन् । बलात्कारीका प्रमाण नष्ट गर्ने, निर्दोष चेलीहरुलाई पक्राउ गर्ने र अनेक धाक धम्की दिएर थामथुम पार्न खोज्ने, अम्बाको रुख काट्ने, मानसिक सन्तुलन नभएका दिलीपसिंह बिस्टजस्ता निर्दोषलाई अपराधी बनाउन खोज्ने हर्कत जजसले गरे उनीहरुलाई अल्जाइमर्स र पार्किन्सन्स एकै पटक हुनेछ र तिनले आपूm सुतेको ठाउँमै दिसा पिसाब गरेर विभत्स जीवन बाँच्नुपर्नेछ । 

न्याय पाउनु नागरिकको अधिकार हो । निर्मला पन्तको परिवारलाई न्याय दिन नसक्नेहरु माथि अस्तित्वले न्याय गर्नेछ । तिनको घरमा भीषण आगलागी हुनेछ र तिनका सारा सम्पत्ति नष्ट भई हरिकंगाल हुनेछन् ।  निर्मला पन्तको अधिकारका पक्षमा आवाज उठाउनेहरुमाथि लाठी, गोली र अश्रुग्यास वर्षाएर निर्दोष प्रदर्शनकारीको  हत्या गर्नेहरूले संवेदनशील अंगमा संक्रमण भएर छटपटाएर बाँच्नुपर्नेछ । 

घटना ४८ दिन भइसक्दा पनि अनुसन्धान शून्यमै छ । राज्यको संरचना, अनुसन्धान संयन्त्र र सुरक्षा निकायलाई वास्तविक अपराधी को हो भन्ने पक्कै थाहा छ । अपराधी लुकाउन र निर्दोषलाई फसाउन । प्रहरी नै लागिरहेको देखिएपछि वास्तविक अपराधीबारे हाम्रो शासन प्रशासन अनभिज्ञ छ भन्ने विश्वास गर्न सकिन्न । यस हिसाबले अपराधी लुकाउन राज्य संयन्त्र नै प्रयोग गरिएको स्पष्ट हुन्छ । यसो हो भने निर्मलाको श्राप यो राज्यसत्तालाई पनि लाग्नेछ र यो देशलाई पनि लाग्नेछ । 

निर्मला पन्तका हत्यारा र बलात्कारी पक्राउ परेनन् भने यो देशको समृद्धिको सपना पनि पूरा हुनेछैन । निर्मलाको आत्माको श्राप लागेर यो देशमा महामारी फैलनसक्छ । नभए २०७२ वैशाख १२ को भन्दा ठूलो (दस रेक्टरकै) भुइँचालो आउनसक्छ र नव धनाढ्य शासक वर्गका आलिसान महल गल्र्याम्म ढल्नसक्छन् । अपराधी र तिनलाई जोगाउन लागि पर्नेहरूमाथि निर्मलाको श्राप लागेर सबै एकाएक दृष्टिविहीन हुनसक्छन् या उनीहरुलाई एकाएक पक्षघात पनि हुनसक्छ । 

अवोध चेलीको श्राप पक्कै लग्नेछ र यो आवेग हैन, पारलौकिक अस्तित्वको नियम हो । 

निर्मलाका अपराधी उम्किएका खण्डमा नेपाली जाति आगामि सयौं वर्षसम्म गरिबी र अभावकै दुश्चक्रमा फसिरहनेछन् र त्यतिबेला उनीहरु भन्नेछन्, ‘‘यो नेपाल निर्मला पन्तले सरापेको देश हो ।’’

तपाईंको मत