Skip Advt.

घटना क्रम

काठमाडौंमा आउने भयो मोनोरेल, ३ वर्षभित्र सञ्चालनमा आउने मेयर शाक्यको दाबी 

काठमाडौं । काठमाडौंको चक्रपथ क्षेत्रमा मोनोरेल चलाउन चीनको सीआरसीसी कम्पनीसँग काठमाडौं र ललितपुर महानगरपालिकाबीच सम्झौता हुने भएको छ ।  उक्त कम्पनीले यी दुई महानगरपालिकासँग जेठ ११ गते ६ महिनाभित्रमा प्रारम्भिक अध्ययन तयार गरिसक्ने सहमति गरेको थियो ।
उक्त सहमतिअनुसार कम्पनीले ३ महिनामै प्रारम्भिक अध्ययन तयार पारिसकेको कम्पनीका नेपाल आयोजनाका निर्देशक इन्जिनियर नवीन पोखरेलले बताए । 
प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि दुवै महानगरपालिकाका इन्जिनियर, नेपाल सरकारका पदाधिकारी र मोनोरेल विज्ञहरुसँग थप छलफल गरी अबको एक महिनामै उक्त कम्पनीलाई आवश्यक पूर्वाधारसहित मोनोरेल सञ्चालनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन स्वीकृति दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
“स्वीकृति पाएको ३ देखि ६ महिनाभित्रमा डिपिआर तयार हुनेछ,” बिहीबार काठमाडौंमा कम्पनीले तयार गरेको प्रतिवेदन दुई नगरपालिकालाई बुझाउने क्रममा इन्जिनियर पोखरेलले भने, “मोनोरेल सञ्चालनको प्रारम्भिक अध्ययनले भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिक रुपमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न सकिने देखिएको छ । कम्पनीको प्रस्तावलाई दुवै महानगरपालिका प्रमुखबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।” 
प्रारम्भिक अध्ययन प्रतिवेदनले मोनोरेल सञ्चालनका लागि १ सय १६ बिलियन लागत देखाएको छ ।
इपिसिएफ मोडलबाट सञ्चालन हुने मोनोरेल २ वा ५ वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सिआरसिसिले सञ्चालन गर्नेछ ।
चक्रपथको सडकमाथिको कुल २७.५ किमि भागमा २१ स्थानमा यात्रु चढाउने, ओराल्ने स्टेशन रहने गरी मोनोरेल सञ्चालन हुने छ ।  
जसलाई कोटेश्वर–कलङ्की, कलङ्की–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा निर्माण गरिने छ ।
“जसमा हाल ८ लेनको चक्रपथ विस्तारको क्रममा गौशाला–चावहिल सडक खण्डमा सडक विस्तार गर्न केही समस्या रहेको देखिएकाले विवाद नभएका स्थानमा मोनोरेलको पूर्वाधार निर्माण अगाडि बढाउन सकिने देखिन्छ,” इन्जिनियर पोखरेलले भने ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अबको ३ वर्षभित्रै चक्रपथमा मोनोरेल सञ्चालन हुने ठोकुवा गरे । 


 
    

तपाईंको मत